७ वैशाख २०८१ शुक्रबार
कला

वर्षा-संजोगको प्रेम : मनमा समझदारी, व्यापारमा साझेदारी

मण्डला थिएटरमा एउटा फिल्मको अडिसनका क्रममा वर्षा राउत र संजोग कोइरालाको भेट भयो । अडिसनबाट दुवै छानिए तर अन्त्यमा दुवैले पालैपालो फिल्म छाडे । फिल्म त छोडे तर यही फिल्मले उनीहरूलाई जोड्यो । साढे पाँच वर्ष भयो, यसरी दुवैको भेट भएको । वर्षा र संजोग आज उद्योगमा सबैभन्दा टिकाउ जोडी मानिन्छन् । क्षणमा टुट्ने र क्षणमा जोडिने माहोलमा पाँच वर्षभन्दा बढी सँगै रहनु चानचुने उपलब्धि होइन । तर, वर्षा र संजोगलाई आफ्नो सम्बन्ध पाँच होइन, ५० वर्षभन्दा बढी समय जान्छ भन्ने विश्वास छ ।
 

पहिलो भेट, विशेष हेराइ
संजोग कोइराला भारतमा सीए सकेर नेपाली फिल्ममा डेब्यू गर्न खोजिरहेका थिए । यही समयमा निर्देशक ऋषि लामिछाने पनि नयाँ कलाकारलाई लिएर नयाँ पुस्ता लक्षित फिल्म बनाउन खोजिरहेका थिए । संजोग र ऋषिको भेट भयो । तर, औपचारिकताका लागि मण्डला थिएटरमा अडिसन बोलाइएको थियो । संजोगसँग भेटेझैँ ऋषिले वर्षासँग पनि भेटेका थिए । वर्षाको पनि संजोगको झैँ सम्भावना बढी थियो । अन्ततः अडिसनको दिन भेट भयो । वर्षाले संजोगलाई नियालेर हेरिन् । संजोगले पनि वर्षालाई हेरे ।
शुक्रवारसँगको कुराकानीमा दुवैले यो विशेष हेराइको कारण खुलाए । ‘ऋषि दाइले मसँग संजोगको खूब तारिफ गर्नुभएको थियो । सीए पढेको ट्यालेन्ट छ । एक्टिङ पनि दामी छ..ब्ला ब्ला..। त्यही भएर उसलाई विशेष हेरेकी थिएँं,’ वर्षाले कारण खुलाइन् । तर, संजोगले हेरेको कारण भने अर्कै रहेछ । उनले चाहिँ अडिसन आउन दिएमध्ये वर्षा नै राम्री भएकाले अडिसनमा उनैले राम्रो गर्दिए जोडी राम्रो हुन्थ्यो भन्ने हिसाबले हेरेका रहेछन् । ‘आएका मध्ये राम्री उही थिई । उही छानिए हुन्थ्यो भन्ने लागेको थियो,’ संजोगले भने । नभन्दै अडिसनबाट दुवै छानिए ।
 

पहिलो अनुभूति
संजोग फिल्ममा आउनुअघि सबै हिसाबले तयार हुन चाहन्थे । उनले वीरेन्द्र हमालसँग अभिनयको कक्षा भर्खरै सकेका थिए भने नृत्यका लागि ट्रेनिङ लिने सोचमा थिए । फिल्ममा छानिएपछि निर्देशकले नै फेसबुकमा ‘साथी बन घुलमिल गर’ भनेपछि वर्षाले संजोगलाई रिक्वेस्ट पठाएकी थिइन् । तर, धेरै दिनसम्म संजोगले वर्षाको रिक्वेस्ट एसेप्ट नै गरेनन् ।  संजोगलाई पनि निर्देशकले सोही कुरा बताएपछि एक दिन रिक्वेस्ट पठाउनुप¥यो भनेर हेर्दा वर्षाको रिक्वेस्ट आइसकेको रहेछ । संजोगले एसेप्ट गरे र दुवैबीच हाइहेल्लो सुरु भयो । सोही क्रममा संजोगले मैतीदेवीमा नृत्य सिक्न जान थालेको बताएपछि वर्षाले ‘म पनि जान्छु नि’ भन्दै नृत्य सिक्न जाने इच्छा व्यक्त गरिन् । संजोग शान्तिनगरमा बस्थे भने वर्षा कोटेश्वरमा । एक अर्कासँग घुलमिल हुने राम्रो मौका यही थियो । संजोग हरेक दिन वर्षालाई लिन र पु¥याउन कोटेश्वर पुग्न थाले । दुवै गम्भीर विष्टसँग नृत्यको कक्षा लिन्थे । यसरी सिक्न थालेको लगभग तेस्रो हप्ता भएको थियो । यो बीचमा दुवै एकअर्कालाई राम्ररी नै चिन्ने भइसकेका थिए । तर, त्यो चिनजान साथीको मर्यादाभन्दा टाढा गएको थिएन । समय भने आइसकेको थियो ।  डान्स इस्टिच्युटबाटै एक दिन दुवै जना एउटा पार्टीमा गएका थिए । पार्टीमा नाचगान, खानपिन रमाइलो हुने नै भयो । दुवै अपवाद भएनन् । वर्षाले पनि हल्का ड्रिंक्स गरेकी थिइन् । तर, वर्षालाई राम्रै लागेको थियो । वर्षालाई राम्ररी नै लागेको देखेपछि संजोगले वर्षालाई घर छाडिदिन्छु भन्ने प्रस्ताव राखे । तर, वर्षाले संजोगको बेवास्ता गर्दे ‘तिमी जाऊ म पछि आउँछु’ भनेर संजोगको प्रस्ताव लत्याइदिइन् । उनलाई  झोक चल्यो । उनी निस्किए ।
संजोगलाई बेलुकी आफैँसँग रिस उठ्यो, बिनासित्तिमा चासो राख्न गएकोमा । कुल भएर सोच्दा संजोगलाई फिल भयो ...वर्षाप्रति ‘पोजेसिभ’ भएको कारण । थुप्रै नेपाली गीतमा भने जस्तै थाहै नपाई वर्षाले संजोगको मन–मुटु चोरिसकिछन् । भोलिपल्ट बिहान वर्षाले पनि चाल पाइन् । सधैँ उठ्नेबित्तिकै ‘गुड मर्निङ’ भन्दै म्यासेज पठाउने संजोगको म्यासेज आएन । मनमा कुरा खेले । वर्षाले म्यासेज पठाइन् ‘सरी..ह्वाट ह्यापेन इन लास्ट नाइट’ । दुवैबीच सुलह भयो । तर, यही घटनाले दुवैको सम्बन्ध साथीबाट प्रेमी–प्रेमिकामा अनुवाद भयो ।
 

फिल्म छुट्यो, जोडी बन्यो
सुटिङको मुखमा आएर संजोग र फिल्म निर्माण टिमबीच कुरा मिलेन । पारिश्रमिकमा कुरा नमिलेपछि संजोगले फिल्म छाडे । संजोगले फिल्म छाडेपछि वर्षालाई पनि फिल्ममा काम गर्न मन लागिरहेको थिएन । त्यसमाथि वर्षा घरमा बुबालाई थाहै नदिई फिल्म खेल्न लागिरहेकी थिइन् । कहिले न कहिले त भन्नु नै थियो । वर्षाले भनिन् । बुबाले कुनै हालतमा फिल्म नखेल्न आदेश दिए । वर्षाले पनि फिल्म छाडिन् । वर्षाले ती दिन सम्झँदै भनिन्, ‘फिल्म छोडेपछि बल्ल हो हाम्रो भेटघाट बाक्लिन थालेको ।’ त्यसयता दुवैले धीत मरुञ्जेल डेटिङ गरे । बिस्तारै वर्षाले म्युजिक भिडियो खेल्न थालिन् । संजोगले पनि आफैँ फिल्म निर्माणको तयारी गरे । संजोगले आफैँ निर्माण गरेको अनि खेलेको फिल्म‘उत्सव’मा वर्षाले एउटा दृश्यमा अभिनय गरेकी छिन् ।
 

चञ्चल वर्षा, गम्भीर संजोग
फिल्मको अडिसनको बेला प्रशिक्षक राजन खतिवडाले अडिसनमा आएका बेला सबैलाई घुलमिल गराउन एउटा खेल खेलाएका थिए । तर, खेल अवधिभर वर्षाले हाँसेर नै समय कटाइन् । त्यतिबेला संजोगलाई लागेको थियो, ‘कस्तो हावा केटी रैछ ?’ वर्षा छन् पनि त्यस्तै, चञ्चल अनि चुलबुले । तर, यसको ठीक विपरीत संजोग भने गम्भीर र इन्ट्रोभर्ट छन् । सुरु सुरुमा वर्षाको यही बानी संजोगलाई ‘अड’ लाग्थ्यो । तर, बानी पर्दै गएपछि संजोगलाई वर्षाको यही बानी उनको ‘स्ट्रेन्थ’ लाग्छ । धेरै डिमान्ड नगर्ने, सबैसँग मिल्ने र हँसमुख  बानी संजोगलाई वर्षाका मन पर्ने कुरा हुन् । अनि नराम्रो कुरा नि ? संजोगले भने, ‘एकदमै अल्छी छ । एकदम भयंकर रियाक्सन दिन्छ र खाने कुरामा कन्ट्रोल छैन ।’
वर्षालाई भने संजोगको रिस खतरनाक लाग्छ । काम गर्दा खानै बिर्सने र जे कुरामा पनि सिरियस हुने बानी पनि वर्षालाई संजोगको मन पर्दैन । ‘बाँकीमा त संजोग लाखौँमा एक छ,’ वर्षाले भनिन् ।
 

न प्रस्ताव, न स्वीकार
साढे पाँच वर्षको अवधिमा दुवैले एकअर्कालाई अहिलेसम्म मुखले ‘आई लभ यू’ भनेका छैनन् । संजोगलाई मुखले बोलिने यस्ता कुरामा विश्वास पनि छैन । अहिले त वर्षालाई पनि भनिरहनपर्छ जस्तो लाग्दैन । तर, पहिला–पहिला भने उनले संजोगको मुखबाट यी शब्दका खूबै अपेक्षा गरेकी थिइन् । ‘साथीहरूले ब्वाइफ्रेन्डले यसो भन्यो, उसो भन्यो भनेर सुनाउँथे । त्यो बेलामा मलाई चैँ किन नभनेको होला जस्तो लाग्थ्यो । तर, पछि आश मारेँ,’ वर्षाले भनिन् । संजोगले वर्षालाई बीचैमा रोक्दै भने, ‘आश नमार..भन्न पनि सक्छु । तर, जुन दिन भन्छु ‘ग्रान्ड’ तरिकाले भन्छु ।’ वर्षाको आँखामा केही बेर मुस्कान नाचिरह्यो ।
 

मनमा समझदारी, व्यापारमा साझेदारी
आफूहरूको सम्बन्ध टिक्नुमा दुवैलाई समझदारी नै मुख्य कारण हो जस्तो लाग्छ । उनीहरूलाई सम्बन्धमा संकट उत्पन्न हुने मुख्य कारण नै झुट हो भन्ने लाग्छ । त्यसैले न त संजोग वर्षासँग केही कुरा लुकाउँछन्, न त वर्षा नै संजोगसँग । संजोग बरु फारु बोल्छन् तर वर्षालाई केही भयो कि संजोगलाई नसुनाइहुन्न । कुनै–कुनै बेला त त वर्षा संजोगलाई एउटै कुरा चार पटकसम्म सुनाइराख्छिन् । पहिले नै थाहा भएको कुरा संजोग पनि सुन्दै नसुनेको जस्तो गरिदिन्छन् । वर्षाले सकेपछि मात्र भन्छन् ,‘यो कुरा तिमीले अस्ति भनिसक्या हैन ?’ यसरी एकअर्काका कुरा भन्ने गरेका कारणले दुवैको सम्बन्ध दिनानुदिन गाढा हुँदै गएको छ । अहिले संजोग फिल्मभन्दा व्यापारमा ज्यादा ध्यान केन्द्रित गरिरहेका छन् । संजोगले आफूले पढेको सीएको सीप त प्रयोग गर्छन् नै, उनले इन्टेरियर डिजाइनको अफिस पनि सञ्चालन गरिरहेका छन् । ललितपुरमा रहेको लाबिम मल संजोगकै ‘हाइम्याक्स’ले डिजाइन गरेको हो । त्यो सँगै संजोगले क्याफेको पनि व्यापार सुरु गरेका छन्, जसका दुई ‘आउटलेट’मा वर्षा पनि साझेदार छिन् । ‘केटीएम क्याफे’ नाममा दुवैले सञ्चालन गरिरहेको क्याफेको एउटा शाखा ठमेलमा छ भने अर्को न्युरोडमा । संजोगलाई भने वर्षाले फिल्ममा थप राम्रो गर्दै गइन् भने उनको ब्रान्डिङमा ‘वर्षाज कलेक्सन’ जस्तो ‘क्लोदिङ कलेक्सन’ खोल्न मन छ । त्यसैले आजभोलि वर्षाले पनि फिल्मको होस् वा म्युजिक भिडियोको, निश्चित कमाइ संजोगलाई बुझाउने गरेकी छिन् ।
 

विवाहको योजना
प्रेम गर्नेको अन्तिम गन्तव्य विवाह नै हुन्छ भन्ने छैन । उसो त हुँदैन भन्ने पनि छैन । यो जोडी पनि विवाह गर्ने सोचमा छ तर डेढ÷दुई वर्षपछि । संजोगको बल्ल व्यापार सेटल हुँदैछ भने वर्षाले फिल्ममा बल्ल एक वर्ष पूरा गरेकी छिन् । त्यसैले दुवैले कम्तीमा पनि विवाहका बारेमा दुई वर्ष नसोच्ने निर्णय गरेका छन् । दुवैको परिवारले पनि विवाहको निर्णय गर्ने जिम्मा उनीहरूलाई नै छाडिदिएको छ ।

शुक्रवारबाट

प्रकाशित: ३ फाल्गुन २०७३ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App