१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनको विकल्प नसोच : एमाले

काठमाडौं- नेकपा एमालेले संविधानले निर्धारण गरेको तीनै तहका निर्वाचनको विकल्पबारे नसोच्न सत्तारुढ दललाई ध्यानाकर्षण गराएको छ। अध्यक्ष केपी शर्मा ओली निवास, बालकोटमा भएको स्थायी कमिटी बैठकले आगामी मंसिरभित्र तीनै तहको निर्वाचन गराउने राजनीतिक र कानुनी वातावरण बनाउन सरकारको ध्यानकर्षणसमेत गराएको छ।

'निर्धारित समयभित्रै चुनाव हुनुपर्छ। त्यसबाहेकको विकल्पबारे सत्तारुढ दलहरुले सोच्न मिल्दैन।  जसरी पनि समयमै चुनाव हुनुपर्छ भन्ने बैठक निष्कर्ष हो', एमाले सचिव योगेश भट्टराईले भने, 'अहिले देखिएको अलगवादीसहितका समस्या पनि समयमै चुनाव गरेर संविधान कार्यान्वयनसँगै समाधान हुन्छ।'

एमालेले २०७४ मंसिरअघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। 'आवश्यक कानुनी र राजनीतिक वातावरण मिलाउन पनि बैठकले ध्यानाकर्षण गराएको छ', बैठकपछि जारी विज्ञप्तिमा छ। २०७४ माघ ७ भित्र तीनै तहको चुनाव गर्न संवैधानिक बाध्यता रहेको छ।

आफू पराजित हुने अवस्थामा कुनै पनि चुनाव हुन नदिने दललाई लागेको एमालेका ठहर छ। स्थायी कमिटीले फागुन १४ गते हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको  क्याम्पसमा हुने स्ववियु निर्वाचन र नेपाल पत्रकार महासंघको आशन्न चुनाव पनि निर्धारित समयमै गर्न माग गरेको छ।

'फागुन १४ गते क्याम्पसहरुमा आयोजना हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवरोध पुर्‍याउन भएका तालाबन्दीप्रति बैठकको गम्भीर ध्यान गएको छ' एमालेले भनेको छ, 'मुलुकमा कुनै पनि खालका निर्वाचन हुन नदिने षडयन्त्रस्वरुप यस्ता क्रियाकलाप भएको ठहर गर्दै पार्टीले ती निर्वाचनहरुका लागि सहज वातावरण बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न समेत ध्यानाकर्षण गराएको छ।'

एमाले सचिव प्रदीप ज्ञवालीले आफू कमजोर देखिएपछि अनेकाँै बहानाबाजी गर्दै चुनाव हुन नदिने शृंखलाअनुसार नै गतिविधि भइरहेको बताए। ज्ञवालीले अहिलेको सरकारको नेतृत्वले बाहिर निर्वाचन भन्दै आए पनि निर्वाचनप्रति दृढता देखाउन नसकेको आरोपसमेत बताए।

'सरकार विभिन्न बहानाबाजी गरेर चुनाव हुन नदिने काममा लागेको छ', ज्ञवालीले भने, 'चुनावको विषयमा सरकारले बहानावाजी गरिरहने हो भने पार्टी चुप लागेर बस्दैन। दबाबका लागि सडक आन्दोलन हुनेछ। यसले ल्याउने परिणाम सरकारका लागि निकै महँगो पर्नेछ।'

एमालेले चुनाव हुने वातावरण निर्माणका लागि सबै राजनीतिक दलसँग छलफल तीव्र पार्ने भएको छ। 'अहिले भइरहेको छलफललाई समेत अझै तीव्र बनाएर चुनावको वातावरण सिर्जना गर्न पार्टीले अगुवाइ गर्नेछ', सचिव भट्टराईले।

यसैबीच, बैठकले बुधबार बस्ने पोलिटब्युरो बैठकको अजेन्डासमेत तय गरेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेन, समसामयिक राजनीतिक परिस्थिति, फागुन तेस्रो साता सुरु गर्ने मेची–महाकाली अभियान, विविध विषय तोकिएको छ।

बैठकले मेची–महाकाली अभियान अनुमोदन गर्दै यसलाई सफल बनाउन सबैसँग अपिल गरेको छ। मधेसलाई लक्षित गर्दै एमालेले अघि सारेको १५ दिने अभियान क्रममा विभिन्न ३३ स्थान साना तथा ठूला आमसभा आयोजना गर्ने जनाएको छ। १५ दिने अभियान क्रममा १५ लाख मानिस परिचालान गर्ने गरी तयारी गरिएको एमालेले जनाएको छ। चैत ५ मा सुर्खेतमा आमसभासँगै एमाले अभियान समाप्त हुनेछ।

प्रकाशित: ४ फाल्गुन २०७३ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App