७ वैशाख २०८१ शुक्रबार
कला

तीन पुस्ता जोड्ने कला प्रदर्शनी

काठमाडौं- नेपालका पुराना कलाकार जीवरत्न शाक्यका चित्र प्रायः कमैले देख्न पाउँछन्। उनको निधनपछि त उनका कला हेर्न चाहनेले पनि पाएका छैनन्। त्यस्तै उमेरले ८४ काट्दै गरेका कलाकार गेहेन्द्रमान अमात्यका कला नयाँ–पुराना पुस्ता सबैले मन पराउँछन्।

युवा उमेरका कलाकार राजकृष्ण महर्जनका कला होस् वा कुन्ती थापाका, तुलनात्मक रुपमा अध्ययन गर्ने अवसर कमैलाई जुट्छ।

नर्सरीमा पढ्ने ओजस्वी अधिकारीले बनाएको कलात्मक चित्र होस् वा क्याम्पस स्तरको प्रतियोगितामा पहिलो भएको लिजा गैरेको चित्र नै, एकअर्कालाई प्रेरणा दिने खालका छन्।

यसरी तीन पुस्तालाई एकै ठाउँ जोड्ने कला प्रदर्शनी सोमबारबाट नेपाल कला परिषद्मा चलिरहेको छ। तीनपुस्ते कला प्रदर्शनी नाममा अल्फ्रेन्सो मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले तीन पुस्तालाई जोडेको छ।

पुस्तान्तरको दूरी मेट्ने, नयाँ पुस्तालाई कला क्षेत्रमा आकर्षित गर्ने, सिर्जनात्मकता वृद्धि गर्ने र तुलनात्मक अध्ययन गर्न सघाउने उद्देश्यसहित  प्रदर्शनी गरिएको उनले बताए। युवा पुस्ताका कलाकार किशोरकुमार जोशी कलात्मक अनुभव साटासाट गर्नेसँगै नयाँ पुराना पुस्तासँगको परिचय नै प्रदर्शनीको लक्ष्य रहेको बताउँछन्।

'पहिलेपहिले नपढेकाहरूले चित्र कोर्ने हो भनिन्थ्यो,' जोशी थप्छन्, 'तर अब पढेका कलाकारको जमात बढ्दै गएकाले कलाको भविष्य सुन्दर छ।'

कला प्रदर्शनीकै क्रममा क्याम्पस तथा स्कुलस्तरका विद्यार्थीबीच कलात्मक प्रतिस्पर्धा समेत गरिएको छ। क्याम्पसस्तरको प्रतिस्पर्धामा प्रथम भएकी लिजा गैरे कलाकारितामा भविष्य खोज्दै छन्। उनले फूलहरुका माझ रमणीय युवतीको चित्र कोरेकी छिन्। 'यहाँ मैले मेरो कलाका कमजोरी र सबल पक्ष दुवै खोज्ने अवसर पाएकी छु,’ उनले सुनाइन्, 'कलामा रंग मात्र हैन, त्यसले दिने अर्थ खोज्न मन पर्छ।’ उनका अनुसार कलाबाट नाम, दाम मात्र कमाउने हैन विदेशमा देशको पहिचान राख्ने अवसर समेत रहेको छ। उनी आफैँ पनि चित्र बिक्री गरेर कमाउने भएकाले नयाँ पुस्ताको आत्मनिर्भरताका लागि कला क्षेत्र सहयोगी रहेको अनुभव सुनाउँछिन्। क्याम्पस स्तरको प्रतियोगितामा सञ्जय श्रेष्ठ दोस्रो, दिपेश सिञ्जाली मगर तेस्रो र झन्कार सापकोटा, रुद्रप्रताप अधिकारी र श्रीतिका सिंहले सान्त्वना स्थान हासिल गरे। त्यस्तै, मावि तहतर्फ अक्षरा सिंह प्रथम, श्रीजा शाक्य दोस्रो, सुप्रिया राई तेस्रो र रविन शाक्य, रुपेश महर्जन, केशव मल्लले सान्त्वना स्थान हासिल गरे।

निमावितर्फ खुसी सर्राफ प्रथम, सुभम रन्जित दोस्रो, सोनी लामा तेस्रो र सचिन श्रेष्ठ, दिवस अधिकारी, सपना दासले सान्त्वना स्थान जिते। त्यस्तै, प्राथमिक तहतर्फ आर्या लामा पहिलो, निशान लामा दोस्रो, आर्यन सर्राफ तेस्रो र रेनुका मगर, रन्जित बानिया, समिर राई सान्त्वना पाए।

प्रतिस्पर्धामा रंग संयोजनसँगै मौलिक सिर्जनात्मकतालाई निर्णायकले प्राथमिकता दिएका थिए। कलाकार चन्दा श्रेष्ठ, गेहेन्द्रमान अमात्य र सुरेन्द्रमान सिंह निर्णायक थिए। प्रतिस्पर्धामा सामेल बाहेकका चित्र पनि प्रदर्शनीमा रहेका छन्। जसमा एसओएस बालग्रामका बालबालिकाले बनाएका चित्र पनि छन्। कला प्रदर्शनीमा अग्रज, युवा र नयाँ पुस्ताका गरी तीन सय बढी चित्र छन्। सोमबार सुरु भएको प्रदर्शनी एक साता चल्नेछ।

प्रकाशित: ४ फाल्गुन २०७३ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App