coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्मचारी, व्यवसायी आन्दोलनमा, सेवाग्राही मर्कामा

रौतहट- जिल्लाको विभिन्न निकायका कर्मचारी तथा यातायात व्यवसायीहरुको आन्दोलनका कारण स्थानीयले सास्ती खेप्नु परेको छ।

जिल्ला विकास समिति, नगरपालिका तथा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कर्मचारीहरु आन्दोलनमा रहेकै समयमा यातायात व्यवसायीहरुले समेत आन्दोलन थालेपछि रौतहटवासी मारमा परेका छन्।

सरकारले स्थानीय निकायको संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा हालका स्थानीय निकायहरु जिल्ला विकास समिति, नगरपालिका र गाँउ विकास समितिका कर्मचारीहरुलाई नै पहिलो प्राथमिकता दिनु पर्ने र सो स्थानमा समायोजन पश्चात कर्मचारी अपुग भए पछिमात्र नीजामति सेवाबाट खटाउनु पर्ने माग राख्दै जिविस तथा रौतहट जिल्लाका गौर, गरुडा र चन्द्रपुर नगरपालिकाका कर्मचारीले एकै साथ कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएपछि स्थानीय मारमा परेका हुन्।

कर्मचारीहरुको आन्दोलनको कारण जिविस, नगरपालिका र गाविसवाट पाउनुपर्ने सेवासुविधा नागरिकले पाउन सकेका छैनन्। जिल्लाभरीका स्थानीय निकाय एकैपटक ठप्प भएको कारण जन्मदर्ता, नागरिकता, मृत्युदर्ता, जग्गा पास गराउन सिफारिश तथा वैदेशिक रोजगारीका लागि सिफारिश लगायतका दैनिक कामकाज पूर्ण रुपमा बन्द भएका छन्। कर्मचारीहरु स्थानीय निकायको सम्पुर्ण कामकाज ठप्प पारेको कारण रौतहटका संग्रामपुर गाविसका कृष्णनन्दन यादवले आफ्नो छोराको नागरिकताको लागि सिफारिस समेत गराउन नसकेको बताए। कर्मचारीको आन्दोदन खुलेपछि मात्र गाविसको सिफारिस दिने कर्मचारीहरुले बताएको यादवले बताए।

स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिले सोमवारदेखि नै विकास निर्माणको पिक आवरमा आन्दोलनमा उत्रिएको कारण आगामी बर्षको लागि गर्नुपर्ने जिल्ला परिषद समेत प्रभावित भइरहेको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए। कर्मचारीहरुले नगरपालिका र जिविसको मुल गेटमै ताल्चा लगाएर धर्ना दिँदै प्रमुखलाई समेत कार्यालय भित्र प्रवेश गर्नमा रोक लगाएका छन्। नयाँ संरचनाहरुमा स्थानीय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई उचित व्यवस्थापनको माग सहित  सरकारले आफूहरुको माग सम्बोधन नगरे अनिश्चितकालसम्म आन्दोलन जारी रहने उनीहरु बताउँछन्।

यसै गरी जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा हेल्थ असिस्टेन्टहरुको पनि आन्दोलन आज ३९ औं दिन जारी रहेको छ। शैक्षिक योग्यताको कदर गर्दै हेल्थ असिस्टेन्टहरुलाई नै स्वास्थ्य चौकी को प्रमुख बनाउनु पर्ने माग सहित उनीहरु आन्दोलित भएका हुन। अहेवहरु पदोनन्ती भई छैठौं तहमा कार्यरत रहँदा पाँचौ तहलाई इन्चार्ज स्वीकार्य नगर्दा उक्त आन्दोलन भईरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।

बस व्यवसायी पनि आन्दोलनमा

यता गौर नगरपालिकाले संचालनमा ल्याएको मध्य तराईकै अति राम्रो नयाँ बस पार्कमा भन्दा अगाडी नगरक्षेत्र भित्र लामो तथा साना दुरीका यात्रुवाहक बसहरुलाई प्रवेशमा रोक लगाए पछि रात्रि बस व्यवसायी समेत मंगलवार देखी आन्दोलित भएका छन। यस अघि गौर नगरक्षेत्र भित्रबाट संचालनमा रहेका रात्री तथा दिवा सेवाका बसहरुलाई गौर नगरपालिकाको कार्यालयले सोमवारबाट नगरक्षेत्रमा प्रवेश नदिएपछि लामो दुरीका यात्रुहरुलाई सास्ती भएको भन्दै रात्री बस संचालन गर्ने व्यवसायीहरुले राजधानी काठमाडौं सहित लामा दुरीका सबै यातायातका साधन बन्द गराएका छन्।

भारतीय टेम्पु चालकको पनि आन्दोलन

यस्तै भारतीय नम्वरको टेम्पु निर्वाध रुपमा गौरको नयाँ बसपार्क सम्म चल्न दिन माग राख्दै करिव दुई सय टेम्पु व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले यदी भारतीय नम्वरको टेम्पु चल्न नदिए भारतीय क्षेत्रमा पनि नेपाली नम्वरको जुनसुकै सवारी साधन गुड्न नदिने अडान राखेर ३ दिन देखि आन्दोलन गरिरहेका छन्। बिहान यात्रुहरुलाई नगरक्षेत्र भित्र पुर्‍याउन र रात्री बस चलाउन पनि नगरमा प्रवेश दिनु पर्ने माग यातायात व्यवसायीको रहेको छ।

प्रकाशित: ४ फाल्गुन २०७३ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App