coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चुनाव मिति घोषणा फागुन १० अघि

काठमाडौं- स्थानीय तहको चुनाव मिति घोषणा गर्न चौतर्फी दबाब झेलिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल संसद्को आगामी बैठक बस्नुअघि नै मिति घोषणाको तयारीमा जुटेका छन्। आगामी  फागुन १० गते संसद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटार निकट स्रोतका अनुसार निर्वाचन आयोगले दिएको समयसीमाभित्र आइतबारसम्म नसके पनि फागुन १० गतेसम्म मिति घोषणा गर्ने गरी प्रधानमन्त्रीले गृहकार्य सुरु गरेका छन्। 'आइतबारसम्म मिति घोषणा गर्न सकेनांै  भने पनि १० गतेसम्म सरकारले स्थानीय तहको चुनाव मिति घोषणा गर्छ', एक मन्त्रीले भने। 

स्थानीय निकाय पुनर्संरचना आयोगले दिएको प्रतिवेदन अध्ययन गर्न स्थानीय विकासमन्त्रीको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएपछि चुनाव मिति घोषणा गर्ने सरकारको तयारी छ। सो समितिको प्रतिवेदन बुझाउने म्याद बिहीबारसम्म छ। समितिले बुधबार मधेसी मोर्चासँग छलफल गरेको थियो।

बालुवाटार स्रोतका अनुसार मंगलबार शीर्ष तहका नेताहरूबीच पटकपटक छलफलपछि प्रधानमन्त्री मधेसी मोर्चाले नमाने पनि चुनाव मिति घोषणा गर्ने निष्कर्षमा पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई चुनाव मिति घोषणा गर्न दबाब दिइरहेका छन्। यसैगरी राष्ट्रपति विद्या भण्डारीले पनि समय सीमाभित्र चुनाव मिति घोषणा गर्न ताकेता गर्दै आएकी छन्।

'छिट्टै स्थानीय तहको मिति घोषणा गर्न  सरकारले तयारी गरको छ', कानुनमन्त्री अजयशंकर नायकले  नागारिकसँग भने, 'मिति घोषणा गर्न सरकारले अहिले विभिन्न पक्षसँग छलफल गरिरहेको छ।'

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री चुनावको मिति घोषणा गरेर पनि मधेसी मार्चासँग निरन्तर संवाद र छलफल गर्दै जाने सोचाइमा छन्। चुनाव मिति घोषणा गर्नुअघि एकपटक अन्तिम छलफल गर्ने, मिति घोषणापछि पनि निरन्तर छलफल गर्दै जाने सरकारको तयारी रहेको स्रोतले बतायो। मधेसी मोर्चाले भने संविधान संशोधनअघि चुनाव हुन नसक्ने भन्दै चुनाव मिति घोषणा भएकै दिन आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ।

यसैगरी बुधबार बिहान भएको तीन दलको बैठकमा स्थानीय तहको चुनाव मिति घोषणाबारे छलफल भएको थियो । तर छलफल आगामी फागुन १४ गतेका लागि तोकिएको स्ववियु चुनाव बारेमा केन्द्रित थियो। छलफलमा प्रधानमन्त्रीले तोकिएको समयमै स्ववियु चुनाव गर्ने प्रतिबद्धता जनाएका थिए।

बैठकमा विभिन्न दलका विद्यार्थी नेतालाई पनि बोलाइएको थियो। 'बैठकमा प्रधानमन्त्रीज्यूले तोकिएको मितिमा चुनाव गर्ने प्रतिबद्धता जनाउनुभएको छ', बैठकमा सहभागी नेविसंघ अध्यक्ष नैनसिहं महरले भने।

प्रकाशित: ५ फाल्गुन २०७३ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App