८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय निर्वाचन तयारी : पहिलो चरणमा पहाडी जिल्ला

काठमाडौं- सरकारले स्थानीय तहको चुनाव दुई चरणमा गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालनिकट स्रोतका अनुसार पहिलो चरणमा पहाडी जिल्ल्ाा र दोस्रो चरणमा तराई–मधेसमा चुनाव गर्ने गृहकार्य सरकारले अघि बढाएको हो।

निर्वाचन आयोगले जेठ १ र २१ गते दुई चरणमा स्थानीय तह चुनाव गर्न प्रस्ताव गरिसकेको छ। प्रमुख  निर्वाचन आयुक्त अयोधीप्रयासद यादवले बुधबार प्रधानमन्त्रीलाई भेटी दुई चरणमा चुनाव गर्न उक्त मिति प्रस्ताव गरेका थिए। प्रधानमन्त्री दाहालले आयोगको प्रस्तावलाई सरकारले स्वीकार गर्ने जनाएका थिए।

निर्वाचन आयोगले जेठ १ र २१ गते दुई चरणमा स्थानीय तह चुनाव गर्न सरकारसँग प्रस्ताव गरिसकेको छ।

पहाडी जिल्लामा चुनाव भए तराई–मधेसका जिल्लामा पनि वातावरण बन्ने र मधेसी मोर्चालाई पनि दबाब सिर्जना हुने सरकारको बुझाइ छ। स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा मधेसका जिल्लामै बढी विवाद देखिएको छ। पहाडी जिल्लामध्ये नुवाकोटलगायत थोरैमा मात्रै विवाद देखिएको छ। विवाद नभएका जिल्लामा पहिलो चरणमा चुनाव गर्ने सरकारको तयारी छ।

कानुनमन्त्री अजयशंकर नायकले निर्वाचन आयोगसँग सल्लाह गरी सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने तयारी गरेको बताए। 'निर्वाचन आयोगसँग सल्लाह गरी दुई चरणमा स्थानीय तहको चुनाव गर्ने तयारी सरकारले अघि बढाएको छ', मन्त्री नायकले भने।

निर्वाचन आयोगले पहिलो र दोस्रो चरणमा चुनाव गराउँदा २० दिन फरक हुनुपर्ने भनेको छ। २० दिनको फरक पार्नकै लागि जेठ  १ र २१ मा चुनाव मिति प्रस्ताव गरिएको आयोग स्रोतले बतायो। प्रधानमन्त्री निवास बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री दाहालसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले  जेठमा स्थानीय चुनाव गर्न आयोग पूरै सक्षम रहेको जानकारी गराएका थिए।

वाणिज्यमन्त्री रोमी गौचनले जेठमा स्थानीय चुनाव हुने निश्चित भएको बताए। 'जेठ महिनामा स्थानीय चुनाव हुने निश्चित भएको छ। अब एकदुई दिनभित्रै चुनाव मिति घोषणा हुन्छ', गौचनले भने।

स्रोतका अनुसार पहिलो चरणमा पहाडी जिल्लामा चुनाव गरी दोस्रो चरणमा तराई–मधेसमा गर्दा सुरक्षाका कारणले पनि सहज हुने निष्कर्षमा प्रधानमन्त्री पुगेका छन्। यसका लागि उनले बिहीबार आन्तरिक छलफलसमेत गरेका छन्। सरकारले खासगरी तराई–मधेसमा पर्ने दुई नम्बर प्रदेशमा दोस्रो चरणमा चुनाव गर्ने तयारी अघि बढाएको छ। ५ नम्बर प्रदेशमा पहिलो चरणमै चुनाव गर्दा पनि खासै समस्या नआउने सरकारको बुझाइ छ।

स्रोतका अनुसार प्रधानमन्त्री फागुन १० अघि नै स्थानीय तहको चुनाव मिति घोषणा गर्ने तयारीमा जुटेका छन्। मधेसी मोर्चासँग छलफल गर्न र स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा देखिएको विवाद मिलाउन फागुन ९ सम्म चुनाव मिति घोषणा गर्ने तयारी भएको स्रोतको भनाइ छ।

प्रधानमन्त्रीका उपस्वकीय सचिव मनहरि तिमिल्सनाले सरकारले सबै पक्षसँग सल्लाह गरी चुनाव मिति घोषणा गर्ने तयारी गरको बताए। 'सबै पक्षसँग सरसल्लाह गरी सरकारले स्थानीय तहको चुनाव मिति घोषणा गर्ने तयारी गरेको छ', तिमिल्सनाले भने। तत्काल चुनाव मिति घोषणा गर्न प्रमुख दलले पनि प्रधानमन्त्रीलाई दबाब दिँदै आएका छन्।

प्रकाशित: ६ फाल्गुन २०७३ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App