७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाल-भारत सम्बन्ध सुधार्न बहस

जनकपुर- उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले नेपाल र भारतबीचको सम्बन्ध सरकार–सरकार र जनता–जनताबीच एकैनास नरहेको टिप्पणी गरेका छन्। दुई देशबीचको परस्पर सम्बन्धलाई गतिशील बनाउन सरकारीस्तरमा मात्रै केन्द्रित गरेर नहुने उनले बताए।

जनकपुरमा बिहीबार आयोजित नेपाल–भारत सम्बन्ध विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै निधिले दुई देशबीच परम्परागत सम्बन्ध थप सुदृढ गर्न सीमा क्षेत्र विकासमा गति दिनुपर्ने बताए। ‘नेपाल ठूलो राजनीतिक परिवर्तनक्रममा छ’, उनले भने, ‘एकैपटक ठूलो परिवर्तन हुँदा केही स्वाभाविक समस्या देखिएका छन्, सरकारले समाधान गर्दै जाने योजना बनाएर काम गरिरहेको छ।’

भारतीय सांसद एंव भाजपा नेता सञ्जय पासमानले नेपाल र भारतबीचको सम्बन्ध 'मौसेर भाइ' (सानी/ठूली आमाको छोरा) जस्तो रहेको बताए। भारत र पाकिस्तानको सम्बन्ध 'चचेरा भाइ' (काकाको छोरा) जस्तो भएको उल्लेख गर्दै उनले भने, ‘आमा र सानी/ठूली आमाबीच विवाद हुँदैन, विवाद हुन्छ त काकी र आमाबीच।’ उनले नेपालको सार्वभौमिकताप्रति भारतको गर्व रहेको दाबी गर्दै दुई देशबीचको राजनीतिक सम्बन्धमा केही तिक्तता देखिए पनि जनस्तरमा त्यस्तो नभएको बताए।

नेपालका लागि भारतका राजदूत रञ्जित रेले नेपाल–भारत सीमा क्षेत्रमा समान समस्या रहेको बताए। उनले दुवैतर्फको सीमाक्षेत्रमा बाटो निर्माण र पर्यटन तथा व्यवसाय प्रबर्द्धन गर्नुपर्ने बताए।

नेपालका लागि पूर्व भारतीय राजदूत शिवशंकर मुखर्जीले नेपालमा दुई धारको राजनीतिक विकास भएको टिप्पणी गरे। ‘एकथरीले पूरै नयाँ नेपालको परिकल्पना गरेको छ भने अर्कोथरी नयाँ नेपाल तर मधेसलाई पुरानै अवस्थामा हेर्न चाहन्छ’, उनले भने। नेपाली समुदाय विभाजित हुँदा लोकतन्त्र बलियो हुन नसकिरहेको उनको भनाइ थियो। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक भाषणमा जहिले पनि नेपाल र भारतबीचको सम्बन्ध सुमधुर भनिए पनि यथार्थमा कहिल्यै यस्तो नभएको जिकिर गरे। ‘१९५० देखि कहिले नेपाल र भारतबीचको सम्बन्ध राम्रो भएको छ?’, अघिल्ला वक्तातर्फ प्रश्न तेर्स्याउँदै यादवले भने, ‘नेपालमा सबैभन्दा बढी विकासे बजेटको सहयोग भारतबाट प्राप्त भइरहेको छ तर, सबैभन्दा बढी गाली पनि भारतलाई नै दिइन्छ। अनि कसरी बनोस् दुई देशबीचको सम्बन्ध सुमधुर?’

तमलोपा अध्यक्ष महन्थ ठाकुरले काठमाडौंबाट भारतलाई गाली गर्ने संस्कृतिको विरोध गरे। 'महेन्द्रवादी राष्ट्रियता' उचालेर सबै समुदायबीच सम्बन्ध कायम रहन नसक्ने उल्लेख गर्दै उनले मधेस र पहाडबीच सम्बन्ध नसुधि्रएसम्म छिमेकी देशसँगको सम्बन्धबारे चर्चा गर्नुको अर्थ नहुने बताए।

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाल र भारतबीचको सम्बन्ध सुधार्ने नीति निर्माणमा दुई देशका सीमावर्ती जनतालाई सहभागी नगराउँदा समस्या आएको बताए।

कार्यक्रम दुई दिनसम्म चल्ने आयोजक जागृति नेपालले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०७३ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App