६ वैशाख २०८१ बिहीबार
कला

हमाललाई रोचक लाग्यो 'निभ्न लागेको दियो'

काठमाडौं- जीवनभर व्यावसायिक फिल्म खेलेका अभिनेता राजेश हमालले अर्ग्यानिक स्वादको फिल्म 'निभ्न लागेको दियो' को प्रशंसा गरेका छन्। आफ्ना सहयोगीका साथ बिहीबार फिल्म हेर्न लाबिम मल पुगेका हमालले फिल्मले नेपाली संस्कार र संस्कृति मिहीन रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए।

'मिनिमालिज्म थिममा बनेको रहेछ। सानो क्यानभासमा पनि निर्देशकले रोचक  फिल्म बनाउनुभएको रहेछ। मलाई  त मन पर्‍यो,' हमालले भने।

हमालसँगै गायिका आस्था राउत पनि फिल्म हेर्न पुगेकी थिइन्। सामाजिक सञ्जालमा फिल्मको प्रशंसा सुनेर फिल्म हेर्न पुगेकी आस्थाले फिल्मले पहाडी जनजीवन दुरुस्त उतारेको बताइन्। उनले पनि 'कालो पोथी' पछि 'निभ्न लागेको दियो' आफूलाई मन परेको प्रतिक्रिया दिइन्।

रसुवाको गत्लाङलाई पृष्ठभूमि बनाई खिचिएको फिल्मले हिमाली जनजीवनसँगै दिदीभाइको कथालाई मुख्य विषय बनाएको छ। एक दिन एक रातको कथा पस्किएको फिल्मको छायांकन र कलाकारको अभिनय प्रशंसनीय मानिएको छ। व्यावसायिक मसला नभएका फिल्म हलमा केही दिनमै उत्रने परम्पराविपरीत फिल्म राजधानीसँग काठमाडौंका केही हलमा दोस्रो साततामा प्रवेश गरेको निर्माण टिमले जनाएको छ। निर्देशक नरेश कुमार केसीले 'अकुपेन्सी' आइतबार /सोमबारको तुलनामा बढिरहेको बताए। उनले फिल्मबाट भने मिश्रित प्रतिक्रिया पाएका छन्। 'केहीले एकदमै मनपराउनुभएको छ भने केहीले ठिकैको फिल्म भन्ने प्रतिक्रिया दिनु भएको छ।  दुवैखाले प्रतिक्रियाको सम्मान गर्छु म,' नरेशले भने।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, सिर्जना सुब्बा, विद्या कार्की र लाक्पा सिडी तामाङको अभिनय छ।

प्रकाशित: ६ फाल्गुन २०७३ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App