१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मन छोयो 'सुन साइँली...' ले

काठमाडौं- सुन साइँली साइँली परदेशबाट म आउँला

सुन साइँली साइँली चालीस कटेसी रमाउँला

अहिले यो गीत हरेक मानिसका मुखमा झुन्डिएको छ। युट्युबमा अपलोड भएको पाँच दिनमै झन्डै २७ लाख दर्शकले हेरिसके। शब्दसहित संगीतको धुन पनि श्रोताले मन पराए। जुन सुन्ने झन्डै २२ लाख छन्। 'मेरो आफ्नै कथाझैं लाग्यो,’ विदेशबाट फर्किएका रविन भट्टले भने, 'उता हुँदा घरपरिवारको यादले खुब सताउँथ्यो।’ जसरी गीतमा गायक हेमन्त रानाले स्वर भरेका छन्, त्यसैगरी नायक गौरव पहाडी र मेनुका प्रधान भिडियोमा आममान्छेकै कथा भनिरहेझंै लाग्छन्। गीतले नयाँ र पुराना दुवै पुस्ताका दर्शकश्रोताको मन छोएको छ। युट्युबमा गीत हेर्दै सुनेपछि लेखिएका प्रतिक्रिया पनि मार्मिक छन्।

एक दिनअघि गीत हेरेका राजेश श्रेष्ठ लेख्छन् 'मन छुने गीत। गौरव र मेनुकाको अभिनयको जति प्रशंसा गरे पनि कम हुन्छ। वाह!  हेमन्त राणा र सम्पूर्ण टिम।’ विदेशमा रहेका विनोद सुमनले विरक्त पोखेका छन्, 'गीतको भिडियो हेरेपछि मन समाल्नै सकिनँ। झन् आफ्नो ज्यानभन्दा प्यारी श्रीमतीको यादले रुवायो।’

गीत सुन्नेको मात्र होइन संगीत संयोजन गरेका कालीप्रसाद बास्कोटाको भनाइ पनि यस्तै छ ‘सबैको मन छोएको छ साइँलीले', बास्कोटा सुनाउँछन्, ‘तर, देशमै रोजगारीको वातावरण बनाउन नसकेकाको पनि मन छोए हुन्थ्यो।’

गीतको कम्पोज हुँदै गर्दा गायक हेमन्त राना भने छेउमै बसेर आफ्नो पालो कुरिरहेका थिए। उनी नयाँ एल्बमका गीत तयार गर्न बास्कोटाकहाँ पुगे। कम्पोज सकिएपछि बास्कोटाले हेमन्तसँग अचानक सोधे, 'कस्तो छ गीत हेमन्त?’ रानाले जबाफ दिए 'राम्रो छ।’ 'तिमी गाऊ न त’, बास्कोटाले अनायासै भनिदिए। एकछिन अलमल परेका रानाले भने, ‘मैले गाउने र?’ 'हो नि तिम्रै लागि बनाएको हो गाऊ गाऊ’, बास्कोटाले हौस्याए। राना अमेरिकामा परदेशी जीवन बिताएर फर्केका हुन्। त्यसैले पनि विदेशमा बसेका नेपालीको पीडा राम्रै बुझ्थे। रानाले सुरतालसँगै विदेशिनेको पीडा खोलेरै गाइदिए।

नयाँ एल्बमका गीत गाउन आएका रानाको त्यो गायन एल्बमको शुभारम्भ बन्यो। पहिले उनको एल्बमको नाम जुरेकै थिएन। ‘नाम अरू नै हुन्थ्यो होला तर यो गीत राम्रो बनेपछि एल्बमको नाम साइँली राखें,’ नयाँ एल्बमको न्वारनको कथा सुनाउँछन् राना। एल्बम आउँदो शनिबार सार्वजनिक गरिँदैछ।

युट्युबमा माघ २९ गते अपलोड भएको थियो गीत। चौबीस घन्टा नपुग्दै पाँच लाख बढीले गीत हेरेपछि बास्कोटा थप हौसिए।

आफ्नै निर्देशनमा रानाले भिडियो बनाए। गीतदेखि म्युजिक भिडियो बन्न साइँलीलाई एक महिना लागेको रानाले सुनाए। बास्कोटाले यसअघि संगीत भरेको 'ठमेल बजार...' युट्युबमा हिट भएको थियो।

प्रकाशित: ६ फाल्गुन २०७३ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App