लोकतन्त्रको स्वर्णिम तिथि

शुक्रबार, ०६ फागुन २०७३, १० : ३२ बद्रीप्रसाद दाहाल

नेपाली राजनीतिक रङ्गशालामा  अभिमञ्चित आन्दोलन, क्रान्ति र संघर्षमध्ये हरकोणबाट २००७ साल नेपालको लोकतान्त्रिक आन्दोलनको स्वर्णिम बिहानीको उदय गराउने  दिन हो। नेपाली जनता रैतीको दर्जाबाट नागरिकमा रूपान्तरित भएको यो महाचेतना दिवस मध्ययुगीन जर्जर सामन्ती चिन्तनमाथिको विद्रोह बोल्न सिकाउने एक सच्चा शिक्षक नै हो। जसले आधुनिक राजनीति चिन्तन गर्ने र लोकतान्त्रिक अभियानको राजमार्गमा हिँड्ने प्रशिक्षण पनि दिएको छ। यो दिन ल्याउन धेरै नेपाल आमाका सन्ततिले सामाजिक, आध्यात्मिक, राजनीतिक, बौद्धिक र सांस्कृतिक क्रान्तिका बिगुल फुक्दै आफूलाई वलिवेदीमा होमेका थिए। जब्बर एकाधिकारवादी  श्री ३ जङ्गबहादुरदेखि मोहनशमशेरसम्म्ाका नौ शक्तिशाली राणा प्रधानमन्त्रीका जर्जर, बर्बर र धर्मर यातनासित पौँठीजोरी खेल्नुपरेको थियो नेपाल माताका सपुतले। त्यसैले त नेपालको समग्र क्रान्तिमा यो एक कोशेढुङ्गा सावित भई जनतान्त्रिक  मूल्य/मान्यताको दैलो उघार्न सफल तिथि बनेर युगौँ युगसम्म रहिरहने निश्चित छ।

यतिखेर हामी जो शासनको बागडोर सम्हाल्नेहरु, स्वच्छन्दवादी राणा र विलासप्रिय महाराजाकै गलत बाटोमा रिङ्दा नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन ६६ वर्ष बित्दा पनि।

महाचतुर एवं  महत्वाकांक्षी जङ्गबहादुरले वि.सं. १९०३ मा कोतपर्वको घटना गराएपछि जब राज्यशक्ति हत्याउँदै गए, त्यतिबेलादेखि चलेको पारिवारिक निरंकुश राजले एक सय चार वर्ष पार गर्दा त्यो त्रासदी सत्ता बल्ल इति हुन पुग्यो २००७ वि.सं.मा आएर। अति महत्वाकांक्षी, चरम स्वच्छन्द र 'म नै कानुन हुँ, म नै राज्य  हुँ' भन्ने लुइ चौधौँकै अर्का नेपाली संस्करण थिए यिनी।  जङ्गबहादुरका पुराना अङ्गरक्षक खड्गसिंह गुरुङको कथनअनुसार 'जङ्गबहादुरको विशेष सोख हात्तीमा, जुवामा, पहलमानको तमासा हेर्नेमा, मैथुनमा र लागु पदार्थमा बढी केन्द्रित  थियो।' इतिहासकारका इतिवृतान्त हेर्दा यिनका ४० भन्दा बढी घोषित रानी थिए भने अरु अवैध श्रीमती त गनिनसक्नु नै थिए। कहाँसम्म भन्नु, छ महिना युरोप भ्रमण गरेर काशी आउँदा त्यहीँ एउटी केटीसित बिहे गर्ने इच्छा उनमा जाग्यो र लगत्तै त्यहीँका एक रजौटाकी छोरीसित लगन गाँठो बाँधे। यिनी अत्यन्त कामुक  भएकाले कन्या, सधवा, विधवा केही पनि नहेरी मौका पर्नासाथ बस/उठ गरिहाल्थे। बालनरसिंहकी दोश्री पत्नी  गणेशकुमारी माथवरसिंहकी बहिनी थिइन्। यिनैबाट वीरनरसिंह (पछि जङ्गबहादुर राणा बनेका ) समेत सातजना छोरा जन्मेका थिए।

सानैदेखि जङ्गबहादुर चरम दुस्साहसी भएकैले यिनको जीवनी अद्भूत र लोमहर्षक बन्न गएको इतिहासको अध्ययनले देखाउँछ। राज्यका  शक्तिशाली  पात्रहरुसित कुन बेला विश्वासिलो बन्ने र कतिखेर कत्लेआम गर्न पनि तयार हुने भन्ने कुरामा यिनी कौटिल्य, कणिक र मैकियाभेलीका कूटनयिक सूत्रलाई पनि उछिनेर प्रस्तुत हुने खुबी र दुस्साहस राख्थे। बडाहाकिम पिताका पुत्र जङ्गबहादुर सुरुमा १६ वर्षको हुँदा सेनाको सुवेदार पदमा नियुक्त भए। जब भीमसेन थापा १८९४ वि.सं.मा खोसुवामा परे त्यसपछि यिनी पनि थापा खलकका ज्वाइँ/भानिजमा परेकाले सर्वस्व हरण भयो र जागिरबाट हट्न पनि बाध्य भए। केही समय भारत बसी पुनः नेपाल फर्किएर श्री ५ राजेन्द्र, श्री ५ सुरेन्द्र, राजगुरु विजयराजलगायतलाई हातमा नचाए। आफू राजपरिवारसित वैवाहिक सम्बन्धमा जोडिएर कुँवर राणाजीहरुलाई ठकुरीसरह गराएपछि कास्की र लमजुङका समेत महाराजा बने। राजा सुरेन्द्रलाई खुसी बनाएर यिनले नेपालको राज्यसत्तामा आफ्नो दबदबा गजबले मच्चाए। यसरी जङ्गबहादुरको निरंकुशता हावी हुन थालेपछि गोरखाका वीर लखन थापा मगर लोकतन्त्र स्थापनार्थ विद्रोहको मसाल बाल्न कस्सिए।

थापा पुरानो गोरख पल्टनमा भर्ना भई कम्पनी बहादुरको सरहदमा भएको विद्रोह दमन गर्न वि.सं. १९१४मा नेपाली फौज भारत जाँदा लडाका भई गएका थिए। यो दमन साम्य बनाउन अर्को कालीबहादुर पल्टन पनि साथमा गएको थियो। जसमा जयसिंह राना, सुपति गुरुङजस्ता हक्की योध्दा पनि थिए। लखन थापाले यिनीहरुसितको भेटमा राम्रो मित्रता कायम गरेकाले जागिरबाट अवकाश पाएपछि आफ्नो घर गोर्खा आई वि.सं. १९३२ मा जयसिंह राना, चुमी राना, सुपति गुरुङलगायत मिलाइ जङ्गबहादुरको पारिवारिक विभेदकारी शासनविरुध्द क्रान्तिकारी गोप्य संगठन खडा गरेको देखिन्छ। नेपालको इतिहासमा निरंकुश शासन व्यवस्था र रुढीग्रस्त समाजविरुध्द यही क्रान्ति नै प्रथम लोकतान्त्रिक संघर्ष थियो। मूलतः लखन थापाले ईश्वर र देवीको परम्परामा ग्रस्त नेपाली समाजमा जनचेतना जगाउन गाउँगाउँ घुमेर भने कि 'मलाई देवीले वरदान दिएर पठाएकी छन्, भाइ  हो  आओ, हामी सबै मिलेर जङ्गबहादुरलाई हटाएर नेपालमा सत्य युग फिराउँ्क।' त्यति बेला  हत्या, हिंसा र षड्यन्त्रले आक्रान्त नेपाली राजनीतिका पात्रहरु पापी, स्वार्थी र दुराचारी भएको कुरा उनको नेतृत्वले गाउँगाउँ प्रचार गरेपछि २००० भन्दा माथिको संख्यामा लडाका दस्ता पनि तयार भयो। तिनीहरुलाई सैनिक तालिम पनि दिइयो।

लखन थापाको यो अभियान जङ्गबहादुरले थाहा पाउनेबित्तिकै देवीदत्त पल्टनलाई गोर्खामा गएर विद्रोहीमाथि सैनिक कार्बाही गर्नू भन्ने हुकुम भयो। गोर्खाको बुङकोट पुगी सरकारी सेनाले गाउँ घेरेपछि भिडन्त सुरु भयो। थापा पक्षका थुप्रै लडाकाले वीरगति प्राप्त गरे। अन्त्यमा लखनसहित करिब ५० जना पक्राउ परे। अभियुक्तलाई नेल हतकडी लगाएर बाँसको चोयाबाट निर्मित पिँजडामा बन्दी बनाई चरम यातना दिइयो। यसरी राजनीतिक र सामाजिक सुधारका प्रवक्ता लखन थापाले नेपालमा प्रजातान्त्रिक राज्यव्यवस्था र सामाजिक परिष्कारगर्न चालेको यो ऐतिहासिक प्रथम पाइला थियो। अन्त्यमा लखन थापा, जयसिंह रानालगायत ५ जनालाई गोर्खाकै बुङकोटमा पुर्‍याई सबैको अगाडि कसैलाई खिर्राको बोटमा, कसैलाई खरीको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिइयो। लखन थापाको राणातन्त्र विरोधी यो ललकारभित्र लोकसरकार वा जनशासनको माग प्रस्फुटित भएको पाइन्छ। यसरी जङ्गबहादुरको दबदबाविरुद्ध नेपालको पूर्वी क्षेत्रमा जनजागरण गर्न सन्त ज्ञानदिल दास जो जोसमनी सम्प्रदायका थिए उनले भरमग्दुर प्रयास गरे। सद्वाणीका लय दिएर एकतारे बजाइ अनाचारी, दयाहीन र क्रूर जङ्गे शासन प्रतिरोध गर्न गाउँगाउँ गएर प्रवचन दिएकामा उनलाई ६ महिनासम्म गेहेन्द्रशमशेरको हातहतियार बनाउने कोठामा यातनासहित बन्दी बनाइयो। नेपालको पश्चिमी भेगमा सन्त शशिधर (जो योगशास्त्रका निष्णात पण्डित थिएं) र स्वर्गद्वारी महाराजहरुले एकतन्त्रीय अधिनायकवादविरुद्ध जनता जगाए।

नेपाली कलमे क्रान्तिका अगुवाले १९७६ वि.सं.मा 'मकैको खेती' भन्ने प्रविधि ज्ञान दिने किसानीमूलक कविता १००० प्रति छापे। उनलाई गाथगद्दी ताकेको आरोप लगाई ९९९ किताब जफत गरियो। यो गलत पुस्तक लेखेको भनी ६ वर्षको कारावासको सजाय सुनाइयो। १ प्रति किताब नभेटिएकामा थप ३ वर्ष गरी जम्मा नौ साल जेल ठोसियो। १९९७ वि.सं. मा उनको देहान्त भयो। जेलमा राख्दा उनलाई मकैबाहेक अरु चीज खान पनि दिइएन। मूलतः मकैपर्व भन्ने किताबमा भूमि सुधारको ध्वनि, विदेशी प्रभावको गन्ध र सामन्ती शासक राणालाई व्यङ्ग्य गरिएको थियो। जङ्गबहादुरपछि क्रमशः रणोद्दीप, वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर, जुध्दशमशेर, पद्मशमशेर हुँदै मोहनशमशेरकहाँ आइपुग्दा नेपालबाट पारिवारिक जहानिया क्रूर शासन अन्त्य भयो।

एक शताब्दीभन्दा लामो शासन फालेर नेपालमा लोकतन्त्रको झुल्के घाम लगाउन धेरै क्षेत्रका अगुवाले जोखिम मोलेका थिए। नेपाल आर्य समाजका संस्थापक माधवराज जोशी आफ्ना गुरु दयानन्द स्ारस्वतीबाट प्रभावित भई तत्कालीन नेपालको विभेदकारी जर्जर सामाजिक संरचनामा सुधार गर्न कस्सिए। राणाले कुटपिट गरी नेल र गलफन्दी लगाएर दुइ वर्ष जेल ठोसी पुनः देश निकाला गरिदिए। उनले जातपात, उचनीच र कर्मकाण्डको जालो तोडेर नेपाली समाजलाई परिष्कार गर्न भगीरथ यत्न गरे। पुन्ाः १९७० पछि नेपाल आई सक्रिय भए। त्यसैगरी सैनिक सेवाबाट निवृत्त खड्गमानसिंह बस्नेतले रङ्गनाथ शर्मा, उमेशविक्रम शाह, लक्ष्मण राजा, मैनाबहादुर जस्ता योध्दा सम्मिलित प्रचण्ड गोर्खा नामक संस्था १९८८ मा स्थापना गरे। जसको उद्देश्य नेपालमा  संसदीय प्रणाली, संसदीय राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने थियो। जनचेतनाका तगारा चन्द्रशमशेर, जुध्दशमशेर र तिनका भरौटेहरुलाई ठेगान लगाउन १९९४ वि.सं. मा नेपाली नागरिक अधिकार समिति स्थापना गरी सहिद शुक्रराज, राजलाल कलवार, केदारमान व्यथित, पण्डित मुरलीधर आदिले जनचेतनाको विगुल फुके। महावीर स्कुल स्थापनाले राणाहरु अत्तालिएर बन्दै गरे। यसैगरी राजनीतिज्ञ टङ्कप्रसादको नेतृत्वमा नेपाल प्रजापरिषद्, नेपाली राष्ट्रिय काँग्रेस, नेपाल प्रजातान्त्रिक काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी जस्ता राजनीतिक शक्तिगृहले धेरै सहिद र योध्दा जन्माएर नेपालको निरंकूश राज्यव्यवस्थालाई घुँडा टेकाएका हुन्।

यसरी हाम्रा स्वतन्त्रताप्रेमी वीर पुर्खाहरुले रगत, पसिना, बौध्दिक चिन्तन र बलिदान दिएर ल्याएको लोकतान्त्रिक संस्कारलाई ६६ वर्ष बितिसक्दा पनि व्यवस्थित गर्न सकेका छैनौँ, यतिखेर हामी जो शासनको बागडोर संहाल्नेहरु स्वच्छन्दवादी राणा र विलासप्रिय महाराजकै गलत बाटोमा रिङ्दा नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन। संविधान अत्यधिक बहुमतले निर्माण गरेर पनि त्यसको सही कार्यान्वयनको अनुपालन स्वयं सत्तासीन र प्रतिपक्षीहरुबाट नहुनु राष्ट्रकै लागि अभिशाप र इतिहासको गर्व भुल्ने कुकाम भएको छ। जनतान्त्रिक र जनवादका शब्दहरुको खोलभित्र जङ्गबहादुररूपी फोहोर डुङडुङ गनाइरहेको छ। राष्ट्रियता नै जोखिममा भएको यो सङ्गीन घडी नेपालीका लागि पेचिलो अध्याय हो। अतः नेपालमा लोकतन्त्रको स्वर्णिम युग ल्याउने यो तिथिमा सबै नायक र बुज्रुक जमातले छातीमा हात राखेर देश जोगाउन आत्मनिरीक्षण, आत्मपरीक्षण र आत्मशोधनको त्रिवेणीमा स्नान गर्न जरुरी छ। भनिएको पनि छ– बडाले जो गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत।









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लम्फू अब सुटिङमा

लम्फू अब सुटिङमा

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको...

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा...

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते...

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर...