७ वैशाख २०८१ शुक्रबार
समाज

‘मध्यपहाडी लोकमार्गले सुकुम्बासी बनायो’

भगिश्वर लिम्बू

तेह्रथुम– मध्यपहाडी लोकमार्गअन्र्तगत म्याङलुङ आठराई सडकखण्डले आफूहरुलाई सुकुम्बासी बनाएको पीडित स्थानीयले गुनासो गरेका छन्। देशकै गौरवको रुपमा निर्माण हुँदै गरेको लोकमार्गको मापदण्ड निश्चत नभई सडकले छोएका जग्गाहरु किनबेच ठप्प हुँदा आफूहरु सुकुम्बासी भएको उनिहरुले बताएका छन्।

आफ्नो जायजेथाले भ्याए जतिको लगानीमा यसअघि सडक छेउमा निर्माण गरेको घर म्याङलुङ नगर पालिकाले घरनक्सा पास नगरिदिने र बैंक तथा वित्तीय क्षेत्रले लगानी नगर्ने भएकोले सुकुमबासी भएको सरद दाहालले बताए। उनले सरकारको निति अभावले लाखौं खर्चमा निर्माण गरेको घर ओढार जस्तोमात्र भएको बताएका छन्।

सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने र सुकुम्वासी हुनुपर्ने अवस्था सृजना हुने भन्दै म्याङलुङका करिब दुईसय घरधुरीले लोकमार्ग पीडित सरोकार समिति नै गठन गरेर कम क्षति हुनेगरी ट्रयाक परिवर्तन गर्न समेत माग गरेका छन्। सरोकार समितिले प्रेस विज्ञप्ति जारी गर्दै ५ बुँदे  विकल्प समेत दिएको छ।

सरोकार समितिले जारी गरेको प्रेस विज्ञप्तिमा बसपार्क देखि १ किमिभित्र साबिक साब्ला  जाने बाटोको उभोपटी ढुंगा र माटो निकालिएको क्षेत्रबाट उभो वन कार्यालयको भवनदेखि १ सय मिटर पर अहिले दमकल घुमाउने स्थानबाट सडक कायम गर्नु पर्ने माग गरेको पीडित सरोकार समितिका संयोजक लालबहादुर खत्रीले बताए। उनले सडकका लागि बैकल्पिक मार्ग नखोजिए म्याङलुङ  बजारका मात्र २ सय घर परिवार सुकुमबासी हुने  निश्चित रहेको दाबी गरे।

विभिन्न समयमा पत्रपत्रिकामा आएका समाचारमा लोकमार्गको चौडाइ आठ मिटर हुने र केन्द्रबाट दायाँबायाँ २५–२५ मिटरको सडक सीमा छोड्नुपर्ने उल्लेख गरिएकाले त्यसो गर्दा आफूहरुको घर, घडेरी र जमिन पूर्णरुपमा क्षति भएर सुकुम्बासी हुने उनीहरुको भनाइ छ। स्थानीयवासीले यो क्षेत्र बजार क्षेत्र भएकाले त्यसो गर्दा ठूलो क्षति हुने भन्दै बरु आफूहरु लोकमार्गका लागि १५ मिटरको बाटो छाड्न तयार रहेको विकल्प समेत दिएका छन् ।

पीडित समितिले आफूहरुले धनकुटा बसपार्क र पाल्पा बसपार्कको जस्तै मुख्य बजारलाई तर्काएर लोकमार्ग निर्माण गर्न माग गरेको छ । लोकमार्गको अस्पष्ट नीतिका कारण पनि स्थानीयवासी हैरान  भएका छन्। सडक आसपासमा घडेरी रहेकाहरुले समेत अहिले गोजीमा पैसा भए पनि नगरपालिकाले नक्सा पास नगरिदिँदा घर निर्माण गर्ने सपना चकनाचुर भएको स्थानीय पिताम्बर सम्बाहाङफेले बताए। उनले घर बनाउनका लागि करिब ६ महिनाअघिदेखि नगरपालिका धाउँदा धाउँदा गरे पनि काम नभएको गुनासो गरेका छन् ।

९ सदस्यीय मध्य पहाडी लोक मार्ग पीडित समितिले उक्त विज्ञप्ती जिल्ला प्रशासन कार्यलय तेह्रथुम र म्याङलुङ नगरपालिकाको कार्यलयमा समेत ज्ञापनपत्र बुझाएको पीडित समितिका संयोजक खत्रीले जानकारी दिए।

 

प्रकाशित: ६ फाल्गुन २०७३ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App