७ वैशाख २०८१ शुक्रबार
राजनीति

अब विकास राजनीति गर्नुपर्छः सभापति अधिकारी

सडक खाना महोत्सवको उद्घाटन गर्दै व्यवस्थापिका संसद विकास समितिका सभापति अधिकारी। तस्बिरः संगम घर्ति मगर

बाग्लुङ– व्यवस्थापिका संसद विसकास समितिका सभापति रविन्द्र अधिकारीले अबको राजनीति विकास केन्द्रीत हुनुपर्ने बताएका छन्। राष्ट्रिय वाणिज्य संघ बाग्लुङले आयोजना गरेको दोस्रो सडक खाना महोत्सवको शुक्रबार बाग्लुङमा उद्घाटन गर्दै अधिकारीले लोकतन्त्र प्राप्ती पछिको लामो समय विवादमै अल्झिएकोले नेपालले विकासमा फड्को मार्न नसकेको बताए।
‘हामीले लोकतन्त्रपछि पनि लामो समयदेखि भाषणको राजनीति गर्दै आएको छौं,’ अधिकारीले भने, ‘अब यसरी हुँदैन। हाम्रो राजनीतिले जनताको विकासको चाहाना पूरा गर्न सकेन भने विगतको जस्तै हिंसाको राजनीति दोहोरिन सक्छ।’
अधिकारीले कोरला नाका सञ्चालनका लागि आवश्यक पहल भैरहेको बताए । ‘यस क्षेत्रको विकासका लागि महत्वपूर्ण कोरला नाका सञ्चालनका लागि पहल भैरहेको छ,’ उनले भने,‘यहाँको मध्येपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको काम पनि तिब्र भएका छन् । डेढ देखि दुई वर्ष भित्र करिडोरले मूर्त रुप लिनेछ ।’

राष्ट्रिय गौरवका आयोजनाहरु अन्यत्रको तुलनामा बाग्लुङमा तीव्र गतिमा काम भइरहेको उनले भनाइ थियो । उत्तरगंगा जलाशययुक्त जलविद्युत परियोजना सञ्चालनका लागि समितिले पहल गरिरहेको उनको भनाई थियो । ‘उत्तरगंगामा विद्युत उत्पादन गर्दा आरक्षलाई असर पर्छ भन्ने संरक्षण विदहरुको भनाई आएको छ । तर हामी त्यस ठाउँको पहिचानलाई अवसर नपु¥याई पर्यटकीय गन्तव्य बन्ने गरी निर्माण गर्न सक्छौं भन्नेमा ढुक्क छौं । तपाई बाग्लुङलेहरुले यो कुरा बुझ्न जरुरी छ,’ अधिकारीले भने ।
फरक प्रसङ्गमा अधिकारीले संविधान कार्यान्वयनका लागि निर्वाचन पहिलो सर्त भएको जिकीर गरे । ‘संविधान कार्यान्वयनका पहिलो शर्त नै निर्वाचन हो,’ अधिकारीले भने,‘अहिले स्थानीय निकायको निर्वाचन गर्न सकिएन भने हामीले बनाएको संविधान असफल हुन्छ ।’ सगै बसेर संविधान जारी गरेका दलहरु कार्यान्वयनका बेला बेग्ला बेग्लै हुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।
अर्को प्रसङ्गमा अधिकारीले बाग्लुङ सभाहल निर्माण गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता दोहो¥याए । ‘अहिले त कार्यक्रम सडकमै थियो तर अरु बेला जहिले आउँदा पनि यहाँको कार्यक्रम सडकमै हुन्छ,’ उनले भने,‘यहाँको सिडीओ, एलडीओ मिलेर जग्गाको व्यवस्थापन गर्नुस् । यहाँका स्थानीयबाट सकभर एक पैसा पनि चन्दा उठाउन नपर्ने गरी सभाहल निर्माणमा आवश्यक सहयोग र पहल गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।
दुई दिनसम्म सञ्चालन हुने सञ्चालन हुने खाना महोत्सवमा विभीन्न स्थानीय परम्परागत तथा आधुनिक खानाका १८ वटा स्टल राखिएको आयोजक संस्थाका अध्यक्ष पुनम शर्माले बताए । यहाँ स्थानीय कोदो, फापर मकैका सेलरोटी, याकको सुकुटी, ट्राउट माछा, केराको मःम लगायतका खानाहरुको व्यवस्था गरिएको शर्माको भनाई छ ।
 

प्रकाशित: ६ फाल्गुन २०७३ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App