८ वैशाख २०८१ शनिबार
समाज

भार नथेग्दा चिल्लो सडक दुई वर्षमै छियाछिया

काठमाडौं- हेरिरहूँ लाग्दा नागबेली, चिल्ला सडक। कतै कोसीको तिरैतिर, कहीँ हरियाली पहाड त कतै ग्रामीण परिवेश। भिरालो पहाडमा ठाउँठाउँ सिमेन्टेड पर्खाल। सडककिनारमा रंगीन रेलिङ। चौडा भने कतै दुई त कतै एक लेनभन्दा कम।

जननायक बिपी कोइरालाको नामले चिनाइएको बनेपा–सिन्धुली बर्दिबास सडक (बिपी राजमार्ग) को पहिचान हो यो। आकर्षक यस सडकमा यात्रा गर्नेलाई सास्ती पनि उत्तिकै छ। किनकि, सडकको कालोपत्रे दुई वर्षमै जीर्ण मात्र भएन, छियाछिया भइसकेको छ। खाल्डैखाल्डाले सवारी छल्न मुस्किल छ, घ्याच्च–घ्याच्च बे्रक लगाइरहनुपर्ने बाध्यता छ चालकलाई। कतै गम्लाङ्ग खाल्डोमा परिदिन्छ गाडी त कतै तीन हात माथि उफ्रिन्छ। कालोपत्रे उप्केपछि बनेका खाल्डाले सास्ती दिनुसम्म दिन्छ।

'सुरुमा यति धेरै भार पर्ला भन्ने अनुमानै थिएन, त्यसैले मर्मत मात्र होइन, केही ठाउँमा त रि–डिजाइन नै गर्नुपर्ने देखिन्छ'

बिपी राजमार्गमा अहिले यस्ता खाल्डा मिटर–मिटरमा भेटिन्छन्। खाल्डा कतै साना छन् कतै ठूला। ‘दसैअघिसम्म खाल्डा कतै कतै मात्रै थिए’, बिपी राजमार्ग भएर सवारी चलाउँदै आएका चालक धुव्र न्यौपाने भन्छन्, ‘अहिले त जताततै।’ कतैकतै त लामा र गहिरा खाल्डासमेत रहेको उनले सुनाए।

उनका अनुसार बिपी राजमार्ग सुरु हुने बनेपादेखि नै सडकमा खाल्डा भेटिन्छन्। नेपालथोकसम्म अत्यधिक खाल्डा रहे पनि त्यसउता भने त्यति असहज नरहेको उनले सुनाए।

बिपी राजमार्ग भएर सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, सोलुखुम्बुलगायत तराईका जिल्ला जाने सवारी बढी गुड्छन्। जापान सरकारको सहयोगमा ०५२ सालबाट निर्माण सुरु भएको राजमार्ग ०७१ सालमा सञ्चालनमा आएको थियो। सडक दुई वर्ष पुग्न नपाउँदै जीर्ण बनिसकेको छ।

काभ्रे र सिन्धुलीमा सञ्चालन भइरहेका क्रसर तथा ढुंगाखानीबाट रोडा, ढुंगा लिएर अधिक भारका टिपर गुड्न थालेपछि राजमार्गको धुलिखेल–नेपालथोक खण्डको ५० किलोमिटर सडक सबैभन्दा जीर्ण बनेको छ। बिपी राजमार्गमा ठूला सवारी चलाउँदा सडक छिट्टै जीर्ण बनेको अनुमान विज्ञको छ।

सडकको डिजाइनअनुसार १० टनभन्दा बढी क्षमताका सवारी चलाउन मिल्दैन। ‘१० टन बढी क्षमताका गाडी चलिरहेका छन्’, सडक विभाग वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले भने, ‘क्षमताभन्दा बढीका सवारीसाधनको चापले सडक जीर्ण भएको हो।’

श्रेष्ठका अनुसार १० टन बढी क्षमताका सवारी चले कारबाही गर्ने अधिकार यातायात व्यवस्था विभागलाई भए पनि जनशक्ति अभाव कारण देखाउँदै कारबाही गर्न सकेको छैन। उनका अनुसार बनेपा–नेपालथोक खण्ड सडक निर्माण भई सञ्चालनमा आएको ७/८ वर्ष नै भएकाले मर्मत गर्ने बेलासमेत भएको श्रेष्ठले जनाए। खाल्डाखुल्डी टाल्ने काम चाँडै हुने पनि उनले बताए।

यता, सडक विभागले उक्त सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्न बाँकी रहेको हुँदा विभागलाई सडकबारे जानकारी नभएको जनाएको छ। ‘उक्त सडक बनेपा–सिन्धुली–बर्दिबास सडक आयोजनाले नै हेरिरहेको छ’, सडक विभागका उपमहानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले भने, ‘आयोजनाको कमजोरीका कारण पनि सडक जीर्ण बन्दै गएको छ।’ विभागले अनुगमन गर्दा सडक जीर्ण देखेपछि मर्मतका लागि वैशाखतिरै १० करोड बजेट छुट्ट्याएको बताए।

यता, आयोजनाप्रमुख भरतकाजी ध्वजूसँग भने सम्पर्क हुन सकेन। सडक विभागका वैदेशिक शाखा प्रमुख श्रेष्ठले भने सडक मर्मतका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

‘सडक विभागले दिएको पैसा त टालटुल गर्दै सकिन्छ’, उनले भने, ‘उक्त सडक टालटुल मात्रै नगरेर मर्मतसम्भार तथा पुनर्संरचनासमेत गर्नुपर्ने भएकाले जापान सरकारसँग मर्मतसम्भारका लागि प्रक्रिया भइरहेको छ।’ उनले कतिपय ठाउँमा डिजाइनसमेत परिवर्तन गर्नुपर्ने देखिएको जनाए। ‘पहिलाको डिजाइन गर्दा उक्त सडकमा यति धेरै सवारी चाप होला भनेर सोचिएकै थिएन’, श्रेष्ठले भने, ‘गाडीको चाप बढेपछि कतिपय ठाउँमा डिजाइनसमेत परिवर्तन गर्नुपर्ने देखिएको छ।’

सडक परिपक्व बनाउन जापान सरकारसँग कुरा भएको बताउँदै उनले टालटुल कार्य भने आजभोलितिरै सुरु हुने र सडकको पुनर्स्थापन कार्य पनि चाँडै थालिने बताए।

जापान सरकारको करिब साढे २१ अर्ब रुपैयाँ र नेपाल सरकारबाट मुआब्जा, करफिर्ता, मर्मतसम्भार र प्रशासनिक खर्च गरी १ अर्ब ४८ करोड रुपैयाँ खर्च गरी दक्षिण एसियामै बढी लागतमा सडक निर्माण भएको थियो। बिपी राजमार्ग अरनिको राजमार्ग धुलिखेलबाट सुरु भई पूर्वपश्चिम राजमार्ग बर्दिबासमा गएर जोडिन्छ। सडकको जम्मा दुरी १ सय ६० किलोमिटर छ। बर्दिबास–सिन्धुली खण्ड दुई लेन छ। बाँकी खण्ड एक लेनभन्दा चौडा र दुई लेनभन्दा सानो छ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्प्रसाद कोइरालाले ०१५ मा सडकको परिकल्पना गरेका थिए। जापान सरकारको सहयोगमा चार खण्डमा विभाजन गरी ०५२ मा निर्माण थालिएको योे सडक २०७१ माघदेखि सडक सञ्चालनमा आएको हो।

प्रकाशित: ७ फाल्गुन २०७३ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App