पोखरा- सफल पोखरा म्याराथनमा आर्मीले वर्चस्व बनाएको छ। शनिबार भएको ११औं संस्करणमा आर्मीका धावकहरू प्रथम, द्वितीय र तृतीय स्थान ओगट्न सफल भए। एक सय ६९ जना धावकलाई पछाडि पार्दै आर्मीका नवराज साउदले नगद ६० हजार रुपैयाँसहित उपाधि हात पारे। साउदले २ घण्टा ३४ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।
उनले उपाधि जित्दा निकै खुसी लागेको बताए। 'म दौडनकै लागि काठमाडौंदेखि आएको थिएँ। सबैलाई पछाडि पारेर उपाधि हात पार्न सकेँ,' उनले भने, 'यसले मलाई थप हौसला मिलेको छ।'
प्रतियोगितामा आर्मीकै लालबहादुर थापाले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५७ सेकेन्डमा पूरा गरी दोस्रा भए। २ घण्टा ३६ मिनेट ४ सेकेन्डमा दौड पूरा गरेर आर्मीकै ज्ञानप्रसाद भट्टराई तेस्रा भए। उपविजेताले नगद ४० हजार र तेस्राले २५ हजार रुपैयाँ प्राप्त गरे। सशस्त्र प्रहरीका गणेशसिंह ठकुरीले २ घण्टा ३७ मिनेटमा दौड पार गरी ४ हजार रुपैयाँको सान्त्वना पुरस्कार प्राप्त गरे।
प्रतिस्पर्धामा स्पेनका एक विदेशीसहित १ सय ७० जना सहभागी थिए। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको प्रतियोगितामा छात्रातर्फ ५ किलोमिटर दूरी लक्ष्मी माविकी ललिता लामिछानेलेे २६ मिनेट ५७ सेकेन्डमा पार गरेर उपाधि जितिन्। त्यसै गरी शुक्रराज बलभद्र उच्च माविकी अस्मिता मगरले २७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरी दोस्रो भइन्। सहिद स्मृति आवासीय माविकि सृष्टि चौधरीले २८ मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान लिन सकिन्।
त्यसै गरी छात्रतर्फ ५ किलोमिटर दौडमा जनज्योति माविका महेन्द्रराज भण्डारी प्रथम, छोरेपाटन उच्च माविका गौरव सुवेदी दोस्रा र सूर्य बोर्डिङ स्कुलका प्रज्वल राई तेेस्रा भए। छात्रा–छात्रतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७, ५ र ३ हजार रुपैयाँ नगद पुरस्कार पाए।
ह्विलचियर महिलातर्फ लक्ष्मी सुनार प्रथम र धन मगर दोस्रा भए। त्यस्तै पुरुषतर्फ सुरेश गौली प्रथम, भरत अधिकारी दोस्रा र ध्रुव न्यौपाने तेस्रा भए। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३, २ र १ हजार रुपैयाँ पाए।
विजयी धावकहरुलाई एभरेस्ट एवं अन्नपूर्ण म्याराथनका अध्यक्षसमेत रहेका विक्रम पाण्डे, लक्ष्मी ग्रुपका अध्यक्ष गणेश श्रेष्ठ, पश्चिम पृतनाका पृतनापति जगदीशचन्द्र पोखरेललगतायतले पुरस्कार वितरण गरे।
प्रकाशित: ८ फाल्गुन २०७३ ०४:११ आइतबार