७ वैशाख २०८१ शुक्रबार
खेल

विदेशमा बलियो हुने लक्ष्य

काठमाडौं- नेपाली क्लब लक्ष्मी हुन्डाइ मनाङ मर्स्याङ्दी क्लबले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप प्रतियोगितामा आइतबार बंगलादेशको मोहमडन स्पोर्टिङ क्लब लिमिटेडसँग खेल्दै छ। खेल चित्तागोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ।

चित्तागोङमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपालले पहिलो खेल महत्वपूर्ण हुनेछ। मनाङ रहेको समूह 'बी' मा चित्तागोङ अबहानी लिमिटेड र सहिन अजमाइ फुटबल क्लब रहेका छन्।

समूहको विजेता र उपविजेताले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनेछन्।

मनाङले घरेलु प्रतियोगितामा पछिल्लो समय उत्कृष्ट नतिजा निकाल्दै आएको छ। नेपालमा पछिल्ला तीन प्रतियोगिताको उपाधि जितेको मनाङ अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि आफूलाई बलियो साबित गर्न खोजिरहेको छ। मनाङका कप्तान अनिल गुरुङले पहिलो चरणमा टोलीले सेमिफाइनल पुग्ने लक्ष्यसहित खेल्ने बताए। त्यसका लागि आइतबारको खेल जित्नुपर्ने अनिलले बताए। राष्ट्रिय टोलीको समेत कप्तान रहेका अनिलले भने,  'हामीलाई विपक्षीबारे राम्रोसँग जानकारी छैन। बंगलादेशी क्लबलाई घरेलु मैदानले फाइदा हुनेछ। तर  हामी उनीहरूबाट तीन अंक लिँदै सेमिफाइनल यात्रालाई सहज बनाउने कोसिस गर्छाैं।'

सबै पोजिसनका खेलाडी उत्कृष्ट भएकाले मनाङ प्रतियोगिताको बलियो टोली भएको अनिलले बताए।

मनाङका फिजियो सञ्जित खड्काले टोलीका सबै खेलाडी पूर्ण रूपमा फिट रहेको बताए। मनाङले मोफसलका पछिल्ला ५ खेलमध्ये तीन खेलमा उपाधि हात पारेको छ। बंगलादेश उड्नुअघि मनाङले खप्तड गोल्डकप, आहा रारा गोल्डकप र झापा गोल्डकप उपाधि जितेको थियो। मनाङ राष्ट्रिय खेलाडीको बाहुल्य भएको टोली हो। अनिलसँगै राष्ट्रिय टोलीको पहिलो रोजाइका रक्षक रोहित चन्द, विराज महर्जन, सुजल श्रेष्ठ, विक्रम लामा, विशाल राईलगायत ८ खेलाडी छन्।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले प्रतियोगिता खेल्न टोली तयार भएको बताए। लोप्साङले घरेलु प्रतियोगिताको सफलताबाट उत्साही भएको टोलीले बंगलादेशमा पनि राम्रो नतिजा निकाल्ने बताए। उनले भने, 'मोफसलका प्रतियोगिता र एक साताको प्रशिक्षण गरेर बंगलादेश आएको हौं। प्रतियोगिताको लागि पूर्ण रूपमा तयार छौं।' प्रशिक्षक लोप्साङले थपे, 'पहिलो खेल खेल्न सहज हुँदैन। तर, हामी आत्मविश्वासका साथ पहिलो खेल जित्ने प्रयास गर्छाैं।'

अवहानी लिमिटेडका प्रशिक्षक काजी जोसीमुद्दिन अहमेदले नेपाली क्लब मनाङसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए। उनले भने, 'मनाङ बलियो टिम हो। तर मनाङविरुद्ध हामी उत्कृष्ट खेल खेल्नेछौं।' अवहानी बंगलादेश प्रिमियर लिगको १०औं स्थानमा रहेको क्लब हो।

प्रकाशित: ८ फाल्गुन २०७३ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App