७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपामा सर्वसम्मत भएन, थापाविरुद्ध राणा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्वका लागि कमल थापा र प्रदीपविक्रम राणाबीच प्रतिस्पर्धा हुने भएको छ। राजधानीमा जारी 'एकता' महाधिवेशनमा आइतबार कमल थापा र राणाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

यसअघि पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। शीर्ष नेताहरुबीच भएको सहमतिलाई निरन्तरता दिन महाधिवेशन प्रतिनिधिहरुबाट चर्को दबाब आएपछि लोहनी पछि हटेको एक केन्द्रीय नेताले बताएका छन्।

राणा काठमाडौं क्षेत्र नं. ७ का अध्यक्ष हुन्।

केन्द्रीय सदस्यका लागि ३ सय ६५ जनाको उम्मेदवारी परेको छ। मतदानबाट कुल ९८ जना केन्द्रीय सदस्य चुनिनेछन्। जसमा खुलाबाट ४० जना निर्वाचित हुनेछन्।

समावेशीतर्फ मधेसीबाट ७, आदिवासी जनजाति ९, उत्पीडित २, मुस्लिम २, कर्णाली १, थारु १,  प्रवास २ र पिछडिएको क्षेत्रबाट २ (महिला १, पुरुष १) केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

त्यस्तै, महिलातर्फ ५५ जनाको उम्मेदवारी परेको छ। यसबाट ३२ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्। जसमा खुला १६, मधेसी ५, आदिवासी जनजाति ६, उत्पीडित २, मुसलमान १,  कर्णाली १ र थारु १ रहनेछ।

भृकुटीमण्डपमा जारी महाधिवेशनले अध्यक्ष थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन  र विधान मस्यौदा समितिका संयोजक एवं उपाध्यक्ष तामाङले प्रस्तुत गरेको मस्यौदा विधान परिमार्जनसहित पारित गरेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

बन्दसत्रले राजतन्त्रसहितको लोकतन्त्र र सनातन हिन्दु राष्ट्र नेपाल विधानको प्रस्तावनामा समेट्ने निर्णय  पारित गरेको उनले बताए।

राप्रपाको परिमार्जित विधानअनुसार राप्रपाको केन्›ीय कार्यसमिति एक सय ६३ सदस्यीय हुनेछ। कार्यसमितिमा अध्यक्षसहित २७ जना पदाधिकारी रहनेछन्। जसमा पाँच उपाध्यक्ष, चार महामन्त्री, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्यक्ष, एक सहायक कोषाध्यक्ष, दुई प्रवक्ता र दुई सहायक प्रवक्ताको व्यवस्था गरिएको छ। 

केन्द्रीय पदाधिकारी र बाँकी सदस्य अध्यक्षबाट मनोनीत गर्ने विधानमा व्यवस्था छ। २५ सदस्यीय कार्यसम्पादन समितिको नाम भने अध्यक्षले केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गराउनुपर्नेछ।

बन्दसत्रले चुनाव चिह्न विवाद भने टुंग्याउन सकेन। चुनाव चिह्नबारे निर्णय केन्द्रीय कार्यसमितिको बैठकबाट गर्ने प्रवक्ता श्रेष्ठले बताए।

लोहनी पक्षले हलो चिह्न कायम गर्नुपर्ने र थापा पक्षले हिन्दु धर्मको आस्थाको प्रतीक भएकाले गाईलाई चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका थिए। 

बन्दसत्रबाट राप्रपाले मधेसकेन्द्रित दललाई समेत सहमतिमा ल्याएर चुनाव घोषणा गर्न सरकारसँग माग गरेको छ।

प्रवक्ता श्रेष्ठका अनुसार सोमबार बिहान ८ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध र  नाम फिर्ताका लागि समय तोकिएको छ। '९ देखि ११ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र दिउँसोबाट मतदान सुरु हुने सम्भावना छ', प्रवक्ता श्रेष्ठले भने।

राप्रपा र राप्रपा नेपालबीचको एकतापछि आयोजित पहिलो एकता महाधिवेशन शुक्रबार सुरु भएको हो।

प्रकाशित: ९ फाल्गुन २०७३ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App