८ वैशाख २०८१ शनिबार
कला

कविताको भानुप्रेम

काठमाडौं- भारतको दार्जिलिङस्थित चौरास्तामा आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको प्रतिमा छ। चौरास्ताको बाटो हुँदै कलेज जाने डा. कविता लामा भानुभक्तको सालिकछेउ केहीबेर रोकिन्थिन्। दार्जिलिङको खर्साङमा जन्मेकी कविता भानुभक्तको भाषाका विषयमा विद्यावारिधि (पिएचडी) गर्ने सम्भवतः पहिलो व्यक्ति हुन्। उनले 'भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन' शीर्षकमा विद्यावारिधि गरेकी छन्।

'मैले भानुभक्तको घरको माटोलाई ढोगें, घाँसी कुवा घुम्न गएँ। त्यो क्षण मेरा लागि प्राज्ञिक यात्राको ठूलो टर्निङ प्वाइन्ट थियो।'

'कलेज पढ्दा भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समलगायत साहित्यिक व्यक्तिलाई अनिवार्य छनोट गर्नुपर्थ्यो,' ५१ वर्षीया कविताले आइतबार नागरिकसँग भनिन्, 'त्यो बेलादेखि नै मलाई भानुभक्तप्रति विशेष रुचि रह्यो।'

भानुभक्तको समयअघि नेपाली भाषालाई मान्यता थिएन, उनको आगमनसँगै ठेट नेपाली भाषाको प्रयोग बढ्यो जो आफ्ना लागि रुचिकर भएको कविताले सुनाइन्। 'नेपालभन्दा पनि दार्जिलिङमा नेपाली भाषालाई रुचिकर बनाउन भानुभक्तको ठूलो योगदान छ,' उनी भन्छिन्, 'त्यसैको प्रभावले अहिले पनि जोकोहीले कविता लेख्न सक्छन्।'

रामायण र भानुजयन्तीप्रतिको आस्थाले पनि दार्जिलिङमा धेरै कवि जन्मिएको लामाको बुझाइ छ। उनका अनुसार पश्चिम बंगालमा भानु जयन्तीको दिन सार्वजनिक बिदा दिने गरिएको छ।

कविताले सन् १९९२ मा शीर्षक दर्ता गरेर पाँच वर्षपछि विद्यावारिधि सकेकी थिइन्। १९९५ मा भानुभक्तबारे बुझ्न पहिलोपटक नेपाल आएकी उनले काठमाडौं रहँदा त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अभिलेखालय, मदन पुस्तकालय चहारिन्। भानुभक्तबारे पाइएका दस्तावेजलाई संकलन गरेकी उनले त्यो बेला भानुभक्तको जन्मथलो तनहुँ भने पुग्न पाइनन्। 'मलाई गाइड गर्ने सरले अध्ययन गर्ने बेला तनहुँ पुग्नु समय बर्बाद गर्नु हो भन्नुभयो, त्यसपछि त्यता जाने योजनालाई रोक्दै अध्ययन अनुसन्धानमै सक्रिय भएँ। मैले भानुभक्तको भाषाको विषयमा अध्ययन गरेकाले पनि उहाँको परिवारसँग भेट्ने सोच आएन,' उनले भनिन्।

कवितालाई भानुको गाउँ पुग्ने अवसर सन् २०१० मा मात्र जुर्‍यो। भानुभक्त जन्मस्थल विकास समितिको सम्मान थाप्न कविता तनहुँ पुगिन्। 'समितिको विधानअनुसार ६० वर्ष कटेका स्रष्टालाई मात्र सम्मान गरिने चलन रहेछ, त्यो समयमा म ४५ की थिएँ, तर समितिले विधान संशोधन गरेर मलाई सम्मान गर्‍यो,' कविताले भानुको गाउँ सम्भि्कइन्, 'सम्मानपछि भानुभक्तको घर पुग्दा मायालाग्दो स्थिति देखें, उहाँको घर जीर्ण थियो। फिल्म 'भानुभक्त'को सुटिङका बेला घरको मर्मत गरिएको रहेछ। मैले घरको माटोलाई ढोगें, घाँसी कुवा घुम्न गएँ। त्यो क्षण मेरा लागि प्राज्ञिक यात्राको ठूलो टर्निङ प्वाइन्ट थियो।'

भानुभक्तको भाषा विज्ञानका विषयमा पिएचडी गर्दाको समय उनका लागि चुनौतीपूर्ण पनि थियो। १९९२ देखि ०९५ सम्म भानुभक्तबारे अंग्रेजी भाषामा मात्र लेखिएका थिए। उनले त्यसलाई नेपालीमा रूपान्तरण गरिन्। अध्ययन गर्न नेपाल आएपछि मात्र उनले नेपाली भाषामा भानुभक्तबारे बुझ्न पाइन्। नेपालमा उनलाई डा. वासुदेव त्रिपाठी, डा. कुमारबहादुर जोशी, घनश्याम नेपाललगायतले अध्ययनमा सहयोग गरे।

विद्यावारिधिपछि उनले दार्जिलिङको विजनबाजरी डिग्री कलेज, दार्जिलिङकै साउथ फिल कलेज हुँदै हाल सिक्किम विश्वविद्यालयमा नेपाली भाषा विभागको प्रमुखको रुपमा काम गरिरहेकी छन्। नेपाल–भारत लेखक सम्मेलन, नेपाल विश्व महासंघ, विश्व नेपाली नारी सम्मेलनमा सहभागिता जनाउन काठमाडौं आइसकेकी कविता यसपटक 'अस्वीकृत विचार साहित्य सम्मान' थाप्न यता आएकी हुन्। उनले गत शनिबार उक्त सम्मान पाइन्।

कविताका अनुसार सिक्किम र दार्जिलिङको नेपाली भाषामा केही फरक छ। 'दार्जिलिङका नेपालीहरु प्रस्ट नेपाली बोल्छन्, तर सिक्किमा भने केही शब्द बुझ्नै गाह्रो पर्छ,' उनले भनिन्, 'अहिलेको युवा पुस्ताको भाषामा अंग्रेजी हाबी छ, त्यसकारण पनि नेपाली भाषामा चासो कम भइरहेको अवस्थामा हामीले त्यसो नगर्न चेतना जगाइरहेका छौं।' भानुभक्तका विषयमा विद्यावारिधि गरेकै कारण पनि आफ्नो पहिचान विश्वसामु चिनिएको उनको बुझाइ छ। कविता मंगलबार सिक्किम फर्कंदै छन्।

प्रकाशित: ९ फाल्गुन २०७३ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App