८ वैशाख २०८१ शनिबार
खेल

पोखरामाथि आयोजकको जित

धरान- राष्ट्रिय खेलाडीको साथ पाएको आयोजक धरान फुटबल क्लब नीलो आइतबार पोखरा ११ लाई ३–० को नतिजामा हराउँदै १९ औं बूढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा घरेलु टोलीको जितमा रेजिन सुब्बा, प्रकाश बुढाथोकी र बुद्ध चेम्जोङले गोल गरे। धरानले अब फाइनलका लागि भारतको युनाइटेड सिक्किम फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। युनाइटेड सिक्किम र पुलिसले १० गते खेल्नेछन्।

१४औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै धरानलाई अग्रता दिएका थिए। हेमन्त गुरुङको फ्रिकिक पोखराका खेलाडीलाई ठोक्किएर फर्किदा पाएको बललाई रेजिनले पोस्टको दिशा दिएका थिए। २८औं मिनेटमा प्रकाश बुढाथोकीले फ्रिकिकमा दर्शनीय गोल गरे। पोखराका रमेश मगरले रेजिनलाई फाउल गरेपछि पाएको फ्रिककलाई उनले सदुपयोग गरेका हुन्। ७४औं मिनेटमा बुद्ध चेम्जोङले तेस्रो गोल गर्दै आयोजकको जित सुनिश्चित गरेका थिए। प्रकाश बुढाथोकीको क्रसमा बुद्धले हेडमार्फत गोल गरेका हुन्।

आयोजक धरानले राष्ट्रिय जर्सी लगाएका प्रकाश, रेजिन, रञ्जित श्रेष्ठ र हेमन्त गुरुङसँगै अफ्रिकन मूलका पिटर सेगुन र इओ मोउसालाई पनि मैदानमा उतारेको थियो। युवा खेलाडीले भरिएको पोखरालाई खेल अवधिभर धरानले दबाबमा राख्यो। घरेलु मैदानमा थुप्रै अवसर गुमाउँदा गोलअन्तर फराकिलो बनाउन भने सकेन।

चौथो मिनेटमै प्रकाशको कर्नरमा पिटर सेगुनको प्रहार पोस्टमा लागेरर फर्किएको थियो। २४औं मिनेटमा रेजिनको पासमा प्रकाश वान भर्सेस वानमा गोल गर्न चुके। ४९औं मिनेटमा बर्सात गुरुङको पासमा रेजिनले पनि वान भर्सेस वानको अवसर सदुपयोग गर्न सकेनन्। उनको प्रहार पोखराका गोलकिपर आकाश रानाभाटले बचाएका थिए।

पोखराले आक्रामक खेल्ने प्रयास गरे पनि विपक्षी पोस्टमा गतिलो आक्रमण बुन्न सकेन। १९औं मिनेटमा हरि गुरुङको पासमा विश्वजित गुरुङको हेडले पोस्टको दिशा लिन सकेन। ३०औं मिनेटमा ईश्वर बानियाँको प्रहारलाई धरानका गोलकिपर मनोज प्रधानले पन्च गरेर बचाए। ६५औं मिनेटमा ईश्वरको क्रसमा सिंकमान तामाङको एक्रोब्याटिक प्रहार पनि सफल हुन सकेन।

धरानका प्रशिक्षक सुवास केसीले खेलाडीहरू एकै पटक मैदानमा खेलेका कारण तालमेल नभएको बताए। 'अभ्यास नगरी एकै चोटि खेलेकाले तालमेल नभएको हो, मिस पास धेरै भए। अर्को खेलमा सुधार हुन्छ,' उनले भने। पोखराका प्रशिक्षक सुवास गुरुङले टिममा पोखरेली युवा खेलाडीहरु मात्र रहेको र आक्रामक खेल्ने प्रयास गर्दा पनि अनुभवको कमीले सफल नभएको बताए। साथै, धरानको रक्षापंक्तिलाई तोड्न नसकिएको उनको प्रतिक्रिया थियो। सोमबार सशस्त्र प्रहरीको एपिएफ क्लब र सिमरा गोल्डकप विजेता संकटा क्लबबीच क्वार्टरफाइनल खेल हुनेछ।

प्रकाशित: ९ फाल्गुन २०७३ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App