७ वैशाख २०८१ शुक्रबार
समाज

च्याउले एक्लाएको परिवार

पाँचथर–१७ वर्ष लागेका राम माङ्लाक विषालु च्याउ खाँदा सिकिस्त परेकामध्ये एक हुन । उनको स्वास्थ्यमा सुधार भइरहेको छ । झापाको दमकमा आफन्तको घरमा आराम गरिरहेका उनलाई आफू बिरामी हुँदाको पीडा त छँदैछ । त्योभन्दा चर्को पीडा उनले परिवारका चारजना गुमाएका छन्।

विषालु च्याउकै कारण उनले बुबा, आमा र बहिनीहरू गुमाएका छन् । आङना– १, गैरीगाँउमा ६ जनाको परिवारका थियो । गाँउमा खेतीकिसानी गरेर परिवार चल्थ्यो । आर्थिक अवस्था राम्रो थिएन । तरकारीको रूपमा खाएको च्याउका कारण रामसँगै घरका सबै बिरामी परे । उपचारपछि ६ जनाको परिवारमा राम र उनकी नौ वर्षकी बहिनी मनीषामात्र बाँचे ।

आमा पदम मायाले ल्याएको जंगली च्याउ परिवारका सबै मिलेर केलाएका थिए । बेलुका खाएको च्याउले रातिदेखि परिवारका सबै बिरामी परे । कम असर परेका यी दुईजनाको उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएको छ । यी दाजुबहिनी आफन्तको घरमा औषधि र स्वास्थ्यकर्मीको निगरानीमा छन् । अब के गर्ने ? कसो गर्ने ? सोच्नै नसकेको रामले शनिबार नागरिकसँग टेलिफोनमा बताए । 'बर्सेनि च्याउँ खान्थ्यौं । यसपल्ट के भयो, के भयो ? सबै गुम्यो । सानी बैनी र ममात्र बाच्यौँ । के भन्ने ? के गर्ने ? सोच्न सकेको छैन । नरमाइलोमात्र लाग्छ,' उनले भने, 'सानैदेखि च्याउ खाइन्थ्यो । विषालु भएनभएको च्याउ बुबाआमाले चिन्नुहुन्थ्यो । यसपाला के भयो खै ?' च्याउ तरकारी खाएको केही घन्टापछि पेट पोलेको, बान्ता आएको उनले बताए ।

पदममायाले जंगलको च्याउ ल्याएर पकाएकी थिइन् । च्याउ खाएर बिरामी परेकामध्ये रामकी आमा पदममाया, बुबा वीरेन्द्र, बहिनी बविता र सोनीको मृत्यु भयो । अस्पताल लगेर उपचार गर्दा पनि उनीहरूलाई बचाउन सकिएन । रामको परिवार आर्थिक रूपमा कमजोर परिवार हो । यही कारणले उनको पढाइ सात कक्षाभन्दा उकालो लाग्न पाएन । मनीषा कक्षा ३ मा पढ्दैछिन् । आफूले अहिले जाउलोमात्र खाइरहेको रामले सुनाए ।

'आर्थिक अवस्था कमजोर छ । पारिवारिक कुरामा खासै जानकारी छैन । सानै उमेरका छन् । सानो उमेरका कारण मनीषालाई के के भइरहेको छ भन्ने कममात्र ज्ञान छ,' आफन्त सिर्जना माङलाकले बताइन । 'पीडादायी घटना भए पनि आफूले पनि पढ्ने र बहिनीलाई पनि पढाउने सोच छ । हेरौँ के हुन्छ ?' रामले भने 'यहाँभन्दा ठूलो पीडा त के हुन्छ र ?' बिरामीको उपचार, मृतकको दाहसंस्कारमा खटिएका आफन्त लोकेन्द्र माङलाक भन्छन्, 'परिवारका चारजना एकैपटक गुमाउँदा कस्लाई चोट पर्दैन र ।'

 

प्रकाशित: २३ जेष्ठ २०७३ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App