६ वैशाख २०८१ बिहीबार
खेल

अन्तर्राष्ट्रिय क्रिकेटबाट अफ्रिदीको संन्यास

सारजहाँ- पाकिस्तानका महान् अलराउन्डर शाहिद अफ्रिदीले आफ्नो २१ वर्षे क्रिकेट करियरको अन्त्य गर्दै आइतबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। सन् २०१० मा टेस्ट क्रिकेटबाट संन्यास लिएका ३६ वर्षे अफ्रिदीले सन् २०१५ को एकदिवसीय विश्वकपपछि एकदिवसीय टोली छोडेका थिए।

उनले सन् २०१६ मा भारतमा भएको ट्वान्टी–२० विश्वकपमा भने पाकिस्तानको कप्तानी गरेका थिए। प्रतियोगिताबाट बाहिरिएपछि कप्तानी छोडे पनि उनले छोटो संरचनाको क्रिकेटमा भने अझै केही वर्ष खेलाडीका रूपमा रहने विश्वास गरिएको थियो।

‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदाइ लिएको छु,’ पाकिस्तानी सुपर लिगमा पेसावर जाल्मीबाट २४ बलमा ५४ रन प्रहार गरेपछि अफ्रिदीले भने, ‘म मेरा समर्थकका लागि भने खेलिरहनेछु र पिएसएललाई भने अकर्ोे दुई वर्ष निरन्तरता दिनेछु।’

सन् १९९६ मा करियरको दोस्रो एकदिवसीय खेल खेल्ने क्रममा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएपछि उनी समर्थकमाझ ‘बुमबुम अफ्रिदी’ को उपनामले चर्चित छन्। सन् २०१४ मा न्युजिल्यान्डका कोरी एन्डरसनले ३६ बलमा शतक पूरा गर्दै १८ वर्ष कायम रहेको सो कीर्तिमान तोडेका थिए। तर सन् २०१५ मा दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले जोहानेसबर्गमा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक प्रहार गर्दै सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए।

युनाइटेड अरब इमिरेट्समा सेम्टेम्बरमा सम्पन्न वेस्ट इन्डिजविरुद्धको ट्वान्टी–२० खेलेपछि उनी बिदाइ लिन चाहन्थे तर त्यस खेलमा छनोटकर्ताको नजरमा पर्न सकेनन्।

अफ्रिदीले २७ टेस्टमा १ हजार १ सय ७६ रन प्रहार गरेका छन् भने ४८ विकेटसमेत लिएका छन्।

उनले ३ सय ९८ एकदिवसीय खेलमा ८ हजार ६४ रन जोडेका थिए भने ३ सय ९५ विकेट लिएका थिए।

ट्वान्टी–२० मा भने उनले ९८ खेलमा १ हजार ४ सय ५ रन जोड्नुका साथै ९७ विकेट आफ्नो नाम लेखाएका थिए।

प्रकाशित: १० फाल्गुन २०७३ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App