coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

ग्रिन विराटनगरको सपना

विराटनगरलाई केही वर्षअगाडिसम्म 'ग्रिन सिटी' भनिन्थ्यो। सहरभित्र आँप लिचीका बगैँचा थिए। घरघरमा नरिवल, सुपारीका अग्ला रुख देखिन्थे। प्रायः घर नजोडीकन खुला जग्गामा बनेका थिए। चोकहरूको नाम नै वरगाछी, पीपलगाछी, आँपगाछी, तितरीगाछी आदि थिए। ती सबै ठूला साना रुख र बगैंचाले विराटनगरको 'क्राउन' लाई हरियो र सुन्दर पारेको थियो। हरियाली विराटनगरको 'ताज' थियो। आकाशबाट हेर्दा वा जमिनमा घुम्दा विराटनगरको हरियालीले नलोभिने मानिस विरलै थिए तिनताका।

एक साताअगाडि म विराटनगर गएँ। आफ्नै घर कम्पाउन्डमा बीसौँ वर्षदेखि ठडिएका पाँचवटा रुख सडक विस्तारका क्रममा दुई वर्षअगाडि काट्नुपरेको सम्झनाले विरक्तिएँ। दुई वर्षदेखि घरअगाडिको बाटोमा खाल्डो खनेर महिनौँ छाडेको छ। कहिले माटोले पुरेको छ अनि कहिले फेरि खनेर घर पुरै धुलाम्मे भएको छ। उदेकलाग्दो वातावरणले विकासप्रति नै वितृष्णा जाग्यो। थाहा छैन, युरोप/अमेरिकामा बाटो, ढल र नाला बनाउँदा कसरी  वातावरण सफा र स्वच्छ राख्छन् भन्ने।

आज बिपी कोइराला र मनमोहन अधिकारी आफ्नो सहर खोज्दै स्वर्गबाट विराटनगर झरे भने विराटनगर भेट्ने छैनन्, एउटा धुलाम्मे र जताततै इतिहास मेटिएको सहर भेट्नेछन।

विराटनगरले अहिले आफ्नो रंग/रूप फेर्दैछ। पुरानो पहिचान मेटाएर नयाँ र आधुनिक बनाउने जमर्को गर्दैछ। सय वर्षको इतिहासमा विराटनगरले पुरानो पहिचान मेटाएर नयाँ बनाउन खोजेको घटना यो पहिलो हो। एक दशकअगाडिको 'इमेज' स्मरणमा राखेर कुनै पनि विराटनगरबासी अहिले यो सहरमा आउँछ भने ऊ सहरसँग अपरिचित हुनेछ। पुराना सबै इमेज ध्वस्त भएको देख्नेछ। आफूले केटाकेटीदेखि युवावस्थासम्म सञ्चय गरेर राखेका सम्पूर्ण इतिहास मेटिएको भेट्नेछ। यस्तो इतिहास मेटिने काम कुनै युद्ध वा क्रान्तिबाट नभएर विकासको नाममा हुँदैछ विराटनगरमा। विराटनगरको पुरानो सभ्यता र संस्कारमात्र समाप्त भएको होइन, त्यसका बिम्बहरू नै हराएका छन्, त्यसमाथि डोजर चलेका छन् अहिले।

विराटनगरको पुरानो इमेज एकदिनमा बनेको थिएन, झण्डै सय वर्षभन्दा बढी लागको थियो। वीरशमशेरको दरवारमा सुब्बा कालिदास कोइरालामात्र विराटनगरको परिकल्पनाकार थिएनन्, उनीसंगै सुब्बा गुञ्जमान मल्ल पनि थिए। मुखिया हनुमानदास श्रेष्ठ पनि थिए विराटनगरको परिकल्पनाकार। सरदार कालिदासले त आफ्नो परिवारलाई सर्वप्रथम खडा भएको 'मोरङ बन्दोबस्त अड्डा' को हाकिम नै बनाए। त्यही कारण विराटनगरमा यो परिवारको वर्चश्व पनि हुन गयो। कोइराला परिवारको बिँडो विराटनगरमा यिनै सरदार कालिदासदेखि अद्यावधि थामिएको छँदैछ।

विराटनगर जूट मिलका संस्थापक सिंघानियाको पनि कम मेहनत थिएन पुरानो विराटनगर बनाउन। सरकारी स्तरबाट केशरशमशेर र तत्कालीन बडाहाकिम जीतबहादुर खत्रीले पनि विराटनगरका लागि सदाशयता देखाए।  अनि त्यसैमा पिताजी कृष्णप्रसाद कोइरालाले इँटा थपे। उनैका कारण बृटिसहरूले 'नेपालगन्ज' एक्सटेन्सन भनी रेललाई जोगबनीसम्म ल्याएको कुरा भारतीय रेल विस्तारको कागजपत्रमा अद्यावधि सुरक्षित छ। अर्थात विराटनगर पहिले नेपालगन्ज थियो। यसरी दशकौँ लगाएर बनेको विराटनगरको इतिहासमाथि त्यसपछिका पुस्ताले शानदार विराटनगर निर्माण गरेका थिए।

केही व्यक्तिको लगन, परिश्रम र इच्छाशक्तिका कारण नै राजनीतिज्ञ, साहित्यकार, अर्थविद्, कलाकार सबैले विराटनगरमा आफ्नो प्रतिभा प्रष्फुटन गरे र राष्ट्रिय पहिचान बनाए विगतको समयमा। कुनै समय मिथिला, बज्झी संघ अनि बंगालका नवावहरूको अधिनमा रहेको विराटनगर केही परिकल्पनाकारको प्रयास, बिपी र मनमोहन जस्ता शालीन र विद्वत् व्यक्तित्वका कारण नेपालको औद्योगिक र राजनीतिक राजधानी बन्न सफल भयो निरंकुश राणातन्त्र र राजतन्त्रकालमा पनि।

आज बिपी कोइराला र मनमोहन अधिकारी आफ्नो सहर खोज्दै स्वर्गबाट विराटनगर झरे भने विराटनगर भेट्ने छैनन्, एउटा धुलाम्मे र जताततै इतिहास मेटिएको सहर भेट्नेछन। भनिन्छ, मार्को पोलोले तेह्रो शताव्दीमा झण्डै अढाई दशक चीनमा बिताएर आफ्नो सहर भेनिस पुग्दा जस्ताको त्यस्तै पाएर नाचेका थिए रे। आज पनि मार्को पोलो आकाशबाट भेनिस घुम्न आउँदा आफ्नो सहर चिन्न गाह्रो हुँदैन भन्ने कथन छ, रोममा ग्लाडिएटरहरू आएर आफू युद्ध लडेको ठाउँ देख्दा रमाउन सक्छन् रे अहिले पनि। तर विराटनगर अब त्यस्तो रहेन। 

राजधानीमा यतिखेर भौतिक पूर्वाधार विकासको सम्मेलन हुँदैछ। पूर्वाधार विकासमा जनस्वास्थ्य र वातावरणीय विषय परेका छन् कि छैनन् थाहा छैन। सहरलाई आधुनिकीकरण गर्ने जिम्मा लिएका नगरपालिकाको कार्यकारिणी प्रमुखहरूको प्रतिनिधिपात्रको सहभागिता पनि यो सम्मेलनमा भएको थाहा भएन। सरकार, दाता, नीति निर्माता, ठेकेदार अनि हेभी डोजरका बिक्रेताहरूको साँठगाँठबाट सम्पन्न यो पूर्वाधार विकास सम्मेलनमा वातावरणविद् पनि छैनन्। र, अहिले धुलो र धुवाँ खेपिरहेकाको प्रतिनिधिको उपस्थिति यो सम्मेलनमा छ कि छैन, त्यो पनि थाहा भएन।

पूर्वाधार विकास सम्मेलनले गर्ने निर्णयमा अब वातावरणविद् र सामान्य नागरिकको सहभागितालाई अनिवार्य गर्नुपर्ने भने देखिन्छ। पुरानो विराटनगरले आफ्नो मौलिकता र सभ्यता नगुमाई आधुनिक हुनुपर्छ भन्ने कुरामा कसैको विवाद छैन। तर 'ग्रिन सिटी' को मौलिकता नै गुमाउने गरी गरिने विराटनगर विकासले मानिसलाई सभ्य होइन, असभ्य बनाउँछ भन्छन् विकासविद्। आधुनिक विराटनगरको नेतृत्व गरेका राजनीतिज्ञ, विकासविद् र योजनाकारहरूसँग नयाँ र पुरानो दुवै पुस्ताको ठूलो गुनासो र असन्तुष्टि रहेछ विराटनगरवासीको। वर्तमान पुस्ताले पुरानो पुस्ताको धरोहर पनि संरक्षण गर्न सकेनन् अनि आधुनिक विराटनगर निर्माणमा इँटा थप्ने काम पनि गरेनन् भन्ने जनगुनासो छ यतिखेर।    

विराटनगर विगतमा देशको औद्योगिक र राजनीतिक राजधानी भएर पनि अहिले महानगरपालिका किन बन्न सकेन भनी यहाँ सर्वत्र चिन्ता र चासो छ। त्यसका लागि को अक्षम भयो भन्ने टिकाटिप्पणी गर्दा राजनीतिक नेतृत्व विवादमा आएका छन्। अनि काठमाडांैबाट झण्डै चार घण्टाको दूरीमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने काम अगाडि बढ्दा पनि विराटनगर विमानस्थलको स्तर उन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको विमानस्थल किन हुन सकेन? र, त्यसका लागि वर्तमान राजनीतिक पुस्ताको अक्षमता किन जिम्मेवार नठान्ने भन्ने गहिरो आक्रोश छ। कुरा यतिमा मात्र सीमित छैन, दुई दशक नाघेको विराटनगरको रिङरोडमा बर्सेनि एउटा कल्भर्ट थपेर मात्र रिङरोड पूरा कसरी होला? कहिले सहरी विकास विभाग त कहिले सडक विभागमा अल्भि्कएको विराटनगरको रिङरोड यही गतिमा काम भए अझै दुई सय वर्षमा पनि पूरा नहुने प्रष्टै छ।

पूर्वाधार विकासको नमुना सबैभन्दा उदेकलाग्दो त विराटनगरमा 'मझौला सहरको एकीकृत सहरी वातावरणीय सुधार परियोजना' हेर्दा देखिन्छ। यसको नाम र काम हेर्दा हाँस्यरसका कविहरूले मात्र यसको राम्रो वर्णन गर्न सक्छन् होला। वातावरणीय सुधारका नाममा यो परियोजनाले विराटनगरको वातावरण चौपट र सामान्य मानिसका लागि बस्न अनुपयुक्त बनाएको छ। फेरि यो परियोजनाको परिकल्पना कसको हो? कहाँसम्म कसरी कहिले बन्ने हो? केही पनि प्रष्ट छैन।

एसियाली विकास बैंकका उपाध्यक्षले पूर्वाधार विकास सम्मेलनमा नेपालको विकास प्रगतिप्रति चिन्ता प्रकट गरेको सुन्न पाइयो। सबैभन्दा ठूलो चिन्ता गर्नुपर्नेचाहिँ एसियाली विकास बैंकले नेपालमा गरेका विकास प्रयासप्रति छ। किन एडिबीका कुनै पनि परियोजना सफल छैनन् नेपालमा? किन एडिबीले गरेको सहयोग र ऋण राशिको प्रतिफल आमनागरिकको पहुँचबाहिर छ? उपाध्यक्ष महोदय चिन्ता होइन, चिन्तन गर।   

विराटनगरको दश बीस प्रतिशत जनसंख्या समेट्ने परियोजना एडिबीको सहयोगमा हो। यसले सम्पूर्ण विराटनगरवासीलाई कहिले समेट्ने हो थाहा छैन। जता मन लाग्यो त्यता सनकका भरमा ढल, नाला र पिच थप्ने र काट्ने काम कर्मचारी वर्गले स्रोत हेरी दिनहुँ गर्दा हुन् भनी केही अनुमानमात्र लगाउन सकिन्छ हामी जस्ताले। यो परियोजनाको ठेकेदार १ चाइनिज, २ कालिका कन्स्ट्रक्सन, ३ स्थानीय ख वर्गको, र ४ ग वर्गको पेटी कन्ट्रायक्ट अनि वास्तविक काम गर्ने र फिल्डमा भेटिने भनेका विचरा विराटनगरतिर सानासाना घर बनाउने विन्देश्वर कामत जस्ता मानिस।

वातावरणीय सुधार परियोजनामा मेरो घरअगाडि कति फुटको फुटपाथ हुन्छ भनी म दुई वर्षदेखि जान्ने प्रयासमा छु तर आजसम्म थाहा हुन सकेको छैन। मेरो घरअगाडिबाट नाला जान्छ कि जाँदैन भनी बुझ्न खोजेँ, कहिले स्रोतको कुरा त कहिले पछि थाहा हुन्छ भन्ने जस्ता कुराले मलाई चित्त बुझाउने कोसिस गरियो। यो परियोजनामा कुन तहमा कसले के काम गरिरहेको छ अत्तोपत्तो छैन। कालिका कन्स्ट्रक्सनका ठेकेदार अहिले मन्त्री छन्। नेपालको बाटो र सिँचाइको सरकारी ठेक्का आधाभन्दा बढी यिनैको जिम्मामा छ जुन अरबौँको काम हो। तर ती सबै या अलपत्र छन् अथवा पेटी कन्ट्रायक्टमा अरु कसैको जिम्मामा लगाएका कारण। अब त चाइनिजदेखि नेपाली ठेकेदार र राजनीतिज्ञदेखि कर्मचारी सबै ठेक्का लिएर र दिएर कमिसन खानमात्र पल्केको देखिन्छ नेपालमा। कमिसनको यो चक्रब्यूहमा रचिएको 'राम कहानी' को कुरा पूर्वाधार विकास सम्मेलनमा छलफल होला? सन्देह छ। 

नेपालको भौतिक पूर्वाधार विकास नहुनुमा के राजनीतिक नेतामात्र जिम्मेवार छन्? निसन्देह होइन। नेपालका दाता, नीति निर्माता, कर्मचारीतन्त्र र ठेकेदार पनि कम जिम्मेवार छैनन्। फेरि प्रश्न उठ्छ– के विकास भनेको ढुंगा, गिट्टी, बालुवा, रड र यस्तै कुराको अधिरचनामात्र हो? अहिले काठमाडौँ सहरले आफ्नो विशिष्ठ मौलिक पहिचान जुन मध्यकालमा निर्माण भएको थियो गुमाउँदैछ। हाम्रा पूर्वजले जुन धरोहर छाडेर गएका छन् सहर पहिचानको त्यो विलुप हुने अवस्था आयो अहिले। इतिहाससँग नजोडिएको सहर र सभ्यताको भविष्य कस्तो होला? आज हाम्रा कर्मचारी, राजनीतिज्ञ व्यापारी अनि सर्वसाधारणसमेत युरोप र विश्वका विभिन्न भाग घुम्न जाँदा त्यो देशको इतिहास र धरोहर त हेर्छन् नि। भारत वा चीन जाँदा हजारौँ वर्ष पुरानो मन्दिर, पर्खाल र भग्नावशेषबाट हामी पूर्वजबारे बुझ्ने र जान्ने मौका पाउँछौँ। विगतको इतिहासबाट सिक्ने र गौरव गर्ने अनि वर्तमान पुस्ताले त्यसमा फेरि आधुनिक इँटा थप्ने कर्म गर्छन्।  यही त सभ्यता र संस्कृति हो कुनै पनि देशको , अनि मानव सभ्यताको।

विराटनगरले आफ्नो पहिचान र साख एक सय वर्ष लगाएर बनाएको थियो, त्यसमाथि अहिले डोजर चल्दैछ। नेपालका अन्य सहरको अवस्था पनि खासै फरक नहोला। एकपटक टक्क अडिएर सोचौँ। विकासको यो मोडलले हाम्रो इतिहास र सभ्यतामाथि प्रहार त भइरहेको छैन भनी। अनि विकासका नाममा एउटा पुस्ताको स्वास्थ्य बिग्रियो। बिग्रेको स्वास्थ्यबाट जन्मेका बच्चा पनि निरोगी हुन सक्तैन। के इतिहास र भावी पुस्ताको स्वास्थ्यमाथि समेत असर पर्ने गरी गरिने विकास ढाँचाको विकल्प छैन? पक्कै छ।  त्यसमा बहस थालौँ। विकास र जनस्वास्थ्यलाई सँगै लग्ने बाटोबारे बहस गरौँ। इतिहास पनि जोगाउने र भावी सन्ततिलाई पनि सुन्दर, शान्त र समृद्ध नेपाल हस्तान्तरण गर्ने जिम्मेवारी वर्तमान पुस्ताको हो। विराटनगरको ग्रिन सिटीको इतिहास सकिँदैछ भन्ने चिन्ता होइन, नेपालको इतिहास सकिँदैछ भन्ने चिन्ताचाहिँ बढी हो।       

प्रकाशित: १० फाल्गुन २०७३ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App