८ वैशाख २०८१ शनिबार
अर्थ

काठमाडौंमा दैनिक चार घन्टा खानेपानी !

काठमाडौं-आजकाल दैनिक तपाईंको घरमा खानेपानी कति घन्टा आउँछ ? अधिकांश काठमाडौंबासीको एउटै उत्तर हुन्छ– दैनिक त के सातामा एक दिन धाराबाट पानी झ¥यो भने खुसी मान्नु पर्ने हुन्छ।

पटकपटक फेरिने सरकारका मन्त्री तथा उच्चपदस्थ कर्मचारीले उपत्यकाबासीलाई चाहिने जति खानेपानी उपलब्ध गराउने भाषण छाड्ँदै हिँडे पनि सर्वसाधारणले भने वर्षौंदेखि खानेपानीको अभाव भोग्दै आइरहेका छन् । देशको राजधानी वर्षौंदेखि काकाकुल भइरहेको छ ।

काठमाडौंबासीले वर्षौंदेखि भोगिरहेको खानेपानीको समस्या अब चाँडै समाधान हुने भएको छ । सातामा एक दिन घरको धारामा पानी झर्दा खुसियाली मनाउने उपभोक्ताले दैनिक कम्तीमा चार घन्टा पानी पाउने गरी काम भइरहेको सरोकारवाला निकायले दाबी गरिरहेका छन् ।

करिब २७ किलोमिटर सुरुङ खनेर सुन्दरीजलमा पानी झारी काकाकुल उपत्यकाबासीलाई पानीको सुविधा पु¥याउन भइरहेको कामले तीव्रता पाएपछि आउँदो दसैंदेखि उपत्यकाबासीले दैनिक चार घन्टा खानेपानी पाउने सम्बद्ध कार्यालयले मंगलबार घोषणा गरे ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार १५–१६ वर्षदेखि बन्ने÷नबन्ने अन्योलमा रहेको मेलम्चीमा पछिल्लो दुई वर्षयता सोचेभन्दा बढी काम भएपछि अब पानी आउने पक्का भएको हो । अब करिब साढे तीन किलोमिटर जति सुरुङ निर्माण गर्न बाँकी रहेको उनले बताए । सुरुङ निर्माण सकिएपछि काठमाडौंमा पहिलो चरणमा १७ करोड लिटर पानी आउनेछ । मेलम्चीको पानी ल्याइसकेपछि यांग्री र लार्के खोलाबाट समेत ५१ करोड लिटर पानी उपत्यकामा ल्याइने भट्टराईले जनाए । मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि सबभन्दा जटिल मानिएको सुरुङ खन्ने काम सकिनै लागेकाले वर्षौंदेखिको खानेपानी पाउने उपत्याबासीको आशा पूरा हुन थालेको हो ।

मेलम्चीमा सुरुङ निर्माण हुँदै गर्दा मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालयले सुन्दरीजलदेखि काठमाडौंका विभिन्न स्थानसम्म पाइपलाइन बिछ्याउने र वितरण प्रणालीको कामलाई तीव्रता दिएको जनाएको छ । निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्रीले सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट ल्याई वितरण गर्ने प्रणालीका लागि पाइप बिछ्याउने र वितरण सञ्जालको करिब ८० प्रतिशत काम सकिएको जानकारी दिए । ‘दैनिक ४० र रातिमा १० ठाउँमा निर्माण कार्य गर्न १२ सय कामदार निरन्तर खटिएका छन्,’ खत्रीले भने, ‘सुरुङ मार्गबाट प्रशोधन केन्द्रमा पानी झर्नेबित्तिकै जनताको घरमा खानेपानी पुग्छ ।’

खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले जनताको वर्षौंदेखि खानेपानी पाउने आशालाई सफल पार्न सुरुङ खन्ने र पाइप बिछ्याउने काम तीव्र पारिएको बताए । दैनिक ३७ करोड लिटर आवश्यकता रहेको काठमाडौंमा हाल सुक्खा मौसमबाहेकको बेला दैनिक १३ करोड लिटर खानेपानीको आपूर्ति हुने गरेको छ । सुक्खायाममा भने ९ करोड लिटर मात्र पानी संकलन हुने गरेको बताइएको छ । हाल करिब ३८ हजार घरमा खानेपानीका धारा जडान गरिएकोमा केही समयभित्रै ८५ हजार घरमा धारा जडान हुने र ती नयाँ जडान गरिएका धारामा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको मन्त्री सिंहले बताए ।

काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाले उपत्यकाबासीले खानेपनीको अभाव झेल्नुपर्ने सुक्खायाम अबको तीन महिनामात्र भएको बताए । असोजमा मेलम्चीको पानी आएपछि जनताका दुःख सकिने उनको भनाइ छ ।

सात स्थानमा पानी पोखरी निर्माण

काठमाडौंमा खानेपानीको व्यवस्थापनलाई विश्वसनीय बनाउन निर्देशनालयले सात ठाउँमा पानी पोखरी निर्माण गर्ने भएको छ । जसमध्ये पाँच स्थानका पानी पोखरीको काम ७५ प्रतिशत सम्पन्न भइसकेको र चार स्थानमा केही दिनअघि काम सुरु भएको छ । आरुबारी, महांकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजु, कीर्तिपुर, टिगनी र कटुञ्जेमा निर्माण हुने ती पानी पोखरीमा ६ करोड ५० लिटर पानी भण्डारण गर्न सक्ने क्षमता रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित: ११ फाल्गुन २०७३ ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App