coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘पुच्छ्रे' ट्रयाक्टरकाे 'खेप' लाउने प्रतिस्पर्धाः ठक्करबाट ३ काे मृत्यु

लहान– सिरहाको दुई अलग स्थानमा भएको ट्रयाक्टर  दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पिप्रा प्रपि–५ (भित्री सडक) मा मंगलबार राति अनटेष्ट ट्रयाक्टर पल्टिँदा सोही ठाउँका  रुपेश यादव र हरेराम यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते नितेश यादवको सिरहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। फरार ट्रयाक्टर चालकको खोजी भइरहेको सिरहा प्रहरी प्रमुख(एसपि) शेखर कोइरालाले बताए।

खोलाबाट नदीजन्य पदार्थ(ढुंगा, बालुवा) ओसार्न ‘खेप’को प्रतिस्पर्धाका कारण तीव्र गतीमा ट्रयाक्टर चलाउँदा पछाडि झुन्डयाइएको अतिरिक्त भार ‘ट्रली’का कारण असन्तुलित भई ट्रयाक्टर पल्टेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पूर्व–पश्चिम राजमार्गको गोलबजार–८ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ३२४८ नम्बरको ट्रयाक्टर दुर्घटनामा गम्भीर घाइते धनगढीमाई–१० का महनती यादवको लहानस्थित राउ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। ट्रयाक्टर चालकलाई गोलबजार प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले बताए।

खोलाबाट नदीजन्य पदार्थ(ढुंगा, बालुवा) ओसार्न ‘खेप’को प्रतिस्पर्धाका कारण तीव्र गतीमा ट्रयाक्टर चलाउँदा पछाडि झुन्डयाइएको अतिरिक्त भार ‘ट्रली’का कारण असन्तुलित भई ट्रयाक्टर पल्टेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पछिल्लो समय ट्रयाक्टरको बढ्दो दुरुपयोगसँगै दुर्घटनामा वृद्धी भएको तथ्याँकले देखाएको छ । दुर्घटना बढेसँगै मृतकको सङ्ख्यामा समेत वृद्धि भएको तथ्यांकले देखाएको उनले बताए। ट्रयाक्टरमा अतिरितm भार ‘ट्रली’ झुन्ड्याउने क्रम बढेसँगै यसको दुरुपयोगले सीमा नाघेको अवस्था छ। ‘ट्रली’ झुन्ड्याउने अनुमति सम्बन्धित अञ्चलका यातायात व्यवस्था कार्यालयले दिने गरेको बताइएको छ।

ट्राफिक प्रहरीका एक अधिकृतले भने– ‘ट्रयाक्टरमा ट्रली झुन्ड्याउने चलन सुरु भएदेखि दुर्घटनाको चुनौती थपिएको छ।’

‘कृषिजन्य प्रयोजनार्थ भारतबाट भन्सार छूटमा भित्रिने ट्रयाक्टरलाई भाडाको साधनको रुपमा प्रयोग बढेको छ,’  पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख(एसपी) शौरभ राणा भन्छन्, ‘सडकमा नियमविपरीत गुडेको पाइएमा ट्राफिकले जरिवाना भराउँछ।’

ट्राफिकलाई जरिवाना भराउनेबाहेकको अधिकार नभएको उनले बताए। अरु सवारी साधनजस्तो ट्रयाक्टरको मुख्य भाग ‘इन्जिन’ मा संकेत बत्ती हुन्छ। तर यसमा ट्रली थपिदिएपछि संकेत बत्तीहरु छोपिन्छ। जसले ट्रयाक्टर मोड्दा यसको दायाँबायाँ संकेत बत्तीबारे पछाडिका सवारी साधनले चाल पाउँदैनन्। अर्को खतरा इन्जिन र ट्रलीबिचको सन्तुलन नहुनुले पनि दुर्घटनाको खतरा बढ्दै गएको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन्।

नेपालमा कृषि प्रयोजनार्थ भित्रिने प्रत्येक ट्रयाक्टरमा एकजना चालक मात्र सवार हुन सक्ने नियम छ। तर प्रयोजन मिचेर भाडाका साधनमा दुरुपयोग हुँदा मालसामान लोड अनलोड गर्न मजदुर राख्ने चलन बढेको छ। जसले मानवीय क्षतीको खतरा बढाएको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन्।

कल्टिभेटर लिएर भारतबाट भन्सार छूटमा नेपाल भित्रिने ट्रयाक्टरमा ट्रली झुन्ड्याएर व्यवसायिक स्वरुपको अनुमती दिनु नै हुँदैनथ्यो ट्राफिकका एक अधिकृतले भने, ‘ट्रयाक्टरमा ‘ट्रली’ जडान अनुमतीले मानवयी र वातावरणीय खतरा बढाएको छ।’

यसरी बढ्दै छ, पुच्छ्रे ट्रयाक्टरबाट जोखिम

पुच्छ्रे ट्रयाक्टर वातावरण विनासमा मात्र दुरुपयोग भइरहेको छैन। यसले मानवीय जोखिम अर्थात् मानिसको ज्यान पनि उत्तिकै जोखिममा पारिरहेको छ। पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रमा ट्रयाक्टर संलग्न दुर्घटनाको संख्या पछिल्लो समय ह्वातै बढेको छ।

पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरीको तथ्याङ्कअनुसार गत्त वर्ष(०७२÷७३) पूर्वमा ट्रयाक्टर संलग्न सवारी दुर्घटनाको संख्या २ सय २८ थियो। जसमा ९२ जनाले ज्यान गुमाए। ३ सय ८ जना घाइते र अंगभंग भए। यो वर्ष (०७३÷७४) को पुष महिनाको मध्यसम्म ट्रयाक्टर संलग्न सवारी दुर्घटनाको संख्या ७१ छ। जसमा ३७ जनाले ज्यान गुमाएका छन्। ८१ जना घाईते र अंगभंग भएका छन्।

मध्यमाञ्चल ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांकमा गत वर्ष(०७२÷७३) ट्रयाक्टर संलग्न सवारी दुर्घटनाको संख्या ९३ थियो। जसमा ३७ जनाले ज्यान गुमाए। यो वर्षको पुष २६ गतेसम्ममा ट्रयाक्टर संलग्न सवारी दुर्घटनाको संख्या ५० पुगेको छ। जसमा २३ जनाले ज्यान गुमाइसकेका छन्।

मध्यमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रमुख(ईन्सपेक्टर) निशान्त थापाका अनुसार, ट्रयाक्टरको बढ्दो दुरुपयोगले सवारी दुर्घटना नियन्त्रणमा चुनौती थपेको छ।

यातायातले यसरी थप्छन् ट्रयाक्टरमा ट्रली

सप्तरी बरमझियाका अकबर अली शेखले ०७३ मंसिर ८ गत्ते महेन्द्रा कम्पनीको ट्रयाक्टर खरिद गर्यो। कृषि प्रयोजन उल्लेख भएको उतm ट्रयाक्टरमा ट्रली जडानका उनले यातायात व्यवस्था कार्यालय लहानमा माग गरे। यातायता व्यवस्था कार्यालयले ०७३ पुष २४ गत्तेको निर्णय भन्दै उनको स १ त ५४९२ नम्बरको ट्रयाक्टरमा ट्रली जडान अनुमती दियो।

निर्णयमा भनिएको छ, ‘चार टन भार नबढ्ने गरी कृषि प्रयोजनार्थ ट्रली जडान गर्ने।’ अनुमती दिने शाखाका प्रमुख (नायाव सुब्बा) मनोज कार्कीले ऐनमा उल्लेख भएबमोजीम ट्रली जडानको अनुमती दिएको हुँ। जबकी ऐनमा ट्रली जडानबारे केही उल्लेख छैन्। सवारी तथा यातायात व्यवस्था ऐन, ०४९ को परिच्छेद ३ को सवारी दर्तासम्बन्धी व्यवस्थाको दफा ३९ मा भनिएको छ, ‘सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई सवारीको रँग, सिट संख्या, स्वरुप, ईन्जिन वा चेसिस परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न हुँदैन।’

उक्त दफा प्रयोग गरेर ट्रयाक्टरमा ट्रली जडान अनुमती दिंदै आएको उनले बताए । ट्रली जडान गर्ने कार्यस्वरुप परिवर्तन भित्र नपर्ने उनले स्वीकार गर्दै भने, ‘बिगतमा यसैगरी अनुमती दिएको रहेछ, मैले पनि पुरानै प्रवृतीलाई पच्छयाएको हुँ।’ ऐनमा ट्रयाक्टरमा ट्रली जडान सम्बन्धि प्रष्ट उल्लेख नभए पनि यस्तै हुँदै आएको छ, यातायात व्यवस्था कार्यालय लहानका प्रमुख ओमकार प्रसाद न्यौपानेले भने, ‘माथिबाट यसो नगर्नु भनेर भनेको छैन, भनेको खण्डमा रोक्छौं।’
   

   
   

प्रकाशित: ११ फाल्गुन २०७३ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App