८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

गैरकानुनी आप्रवासीलाई फर्काउन १० हजार कर्मचारी खटाइयो

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आइरहेका आप्रबासीहरुलाई आफ्नै देश फर्काउन अमेरिकी सरकारले करिब दश हजार अध्यागमन टोली खटाएको बताइएको छ। यो नयाँ योजनामा सीमामा गस्ती गर्ने ५ हजार जना थप गरिने समेत जनाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयले अमेरिकाबाट उनीहरु कै देश फर्काउनु पर्ने आप्रवासीहरुको दायरा पनि विस्तार गरिने निर्णय समेत लिइसकेको छ। जानकारहरुका अनुसार अमेरिकामा रहेका १ करोड १० लाख आप्रवासीहरु मध्ये अधिकांश गैरकानुनी ढंगले बसोबास गरिरहेकाहरु गिरफ्तारमा पर्ने सक्ने छन्।  

आप्रवासी सम्बन्धी बनाइएको पुरानो निर्देशिकामा खासै फेरबदल नभएता पनि पुराना व्यवस्थालाई कडाईका साथ लागु गर्ने बताइएको छ।

परिमार्जित नियममा ट्राफिक नियमको उल्लंघन वा कुनै पनि ठाउँमा बिक्रिमा राखिएका सामग्री चोरी गरेमा कागजपत्र नभएका आप्रवासीहरुलाई गम्भीर अपराधमा संलग्न भए सरह नै अभियोग लाग्ने ब्यवस्था छ। ह्वाइट हाउसका प्रवक्ता सन् स्पाइसरले आम रुपमा नै देश निकाला भन्दा पनि अहिले भएरहेको कानुनको कडा कार्यान्वयनमा जोड दिने बताएका छन्। उनले ह्वाइटहाउस र अमेरिकी आन्तरिक सुरक्षालाई जोखिममा ल्याउन सक्ने र विभिन्न प्रकारका आपराधिक क्रियाकलापमा संलग्न सम्पूर्णलाई आफ्नै देशमा फर्काउन कानुनको कडा कार्यान्वयन आवश्यक भएको बताए।  

नयाँ नितीमा पनि ओबामा प्रशासनले गरेको जस्तै बालबालिकाको रुपमा अमेरिका प्रवेश गर्नेलाई संरक्षण दिने कानुनमा निरन्तरता दिइएको छ। तर देश निकाला गर्नुपर्ने आप्रवासीहरुको दायरामा विस्तार गर्दे सार्वजनिक सुरक्षा र सरकारी लाभ लिएका र भर्खरै अमेरिमा प्रवेश गरेर गैरकानुनी तरिकाबाट बसोबास गरिरहेका लाई फर्काउने निती बनाइएको छ।

अहिले अमेरिका बसोबास गर्दै आएको दुई वर्ष भन्दा बढी भएको प्रमाणित गर्ने कागजात नभएका जो सुकैलाई पनि फर्काउने भनिएको छ। यी नियमहरुको कार्यान्वयनको लागि आवश्यक पर्ने १० हजार कर्मचारी तथा सीमामा गस्ती गर्ने ५ हजार कर्मचारीको नियुक्तिको प्रस्ताव संसदमा लाने निर्णय ट्रम्प प्रशासनले गरेको छ।

प्रकाशित: ११ फाल्गुन २०७३ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App