१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आरसिटीको त्यो १०१ गोल !

काठमाडौं-रानीपोखरी कर्नर टिम (आरसिटी) त्यो क्लब हो जसले फुटबलमा मात्र इतिहास रचेन । प्रजातन्त्रका लागि संघर्ष पनि गर्यो । राणाशाही ढाल्न हतियार बनेर लड्यो। महाभूकम्प (विसं १९९०) भन्दा जेठो यस क्लबले कमाएको सर्वाधिक उपाधि विजेता र राणाशासनविरुद्धको योद्धाको परिचय मटियामेट हुने त होइन ?

यही चिन्ता लिएर इतिहासमाथि इतिहास रचना गर्ने ऐतिहासिक क्लबका सफलताका प्रमाण जोगाउन क्लबका खेलाडीले बल्ल अभियान सुरु गरेका छन् । यसका लागि उनीहरुले चार महिनाअघि समूह नै बनाएर काम गरिरहेका छन् । जसको पहिलो काम हो– संग्रहालय स्थापना । आरसिटीले आफ्ना उपलब्ध कथालाई अमर राख्ने उद्देश्यले स्थापना गरेको 'आरसिटी संग्रहालय' शनिबार राजधानीमा सञ्चारकर्मीलाई अवलोकन गराई औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

काठमाडौं रानीपोखरीनजिकै रहेको आरसिटी ८४ वर्षअघि स्थापना भएको हो । क्लबको आफ्नै भवनमा खोलिएको संग्रहालयमा आरसिटीले जितेका ट्रफी, जर्सी, रेकर्ड र रोचक इतिहासलाई अभिलेखका रुपमा सजाइएको छ ।

काठमाडौं रानीपोखरीनजिकै रहेको आरसिटी ८४ वर्षअघि स्थापना भएको हो । क्लबको आफ्नै भवनमा खोलिएको संग्रहालयमा आरसिटीले जितेका ट्रफी, जर्सी, रेकर्ड र रोचक इतिहासलाई अभिलेखका रुपमा सजाइएको छ । नब्बे सालअघि नै राजधानीमा फुटबल लोकप्रिय भइसकेको थियो । काठमाडौंको कमलाक्षी, भोटाहिटी, महाबौद्ध, त्यौड, न्हैकन्तला, बालकुमारीका युवाले आ–आफ्ना समूह बनाएर फुटबल खेल्ने गरेका थिए । त्यही लोकप्रियतासँगै आरसिटीको जन्म भएको बताउँछन्, क्लबका अध्यक्ष सुरेशकाजी शाक्य ।

तत्कालीन समयमा राणशासनविरुद्ध जनताको प्रतिनिधित्व गरेर खेल्ने टिमका रुपमा आरसिटीको नाम अहिले पनि सानले लिइन्छ । संग्रहालयमा राखिएको अभिलेखअनुसार सहिद धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले आरसिटीलाई सहयोग गरेका थिए । माथेमा र श्रेष्ठ यस क्लबका धेरैजसो खेल हेर्न रंगशाला जाने गरेको अभिखेलमा छ । यसले नेपालको राजनीतिक व्यवस्थालाई परिवर्तनमा एउटा दबाबको काम गरेको थियो ।

एउटा अर्को रोचक प्रसंग– दुर्लभ इतिहास रच्ने क्लब पनि आरसिटी नै हो । २०३३ सालको सहिद स्मारक 'ए' डिभिजन लिगमा आरसिटीले अन्नपूर्ण क्लबलाई १ गोलविरुद्ध १ सय १ ले हराएको थियो जुन नेपाली फुटबलमा दुर्लभ इतिहासका रुपमा चर्चा गरिन्छ । 'त्यसबेला १ सय १ गोल गर्नुको उद्देश्य तत्कालीन समयको राजनीतिक व्यवस्थाको खिल्ली उडाउनु थियो,' त्यही खेलमा सहभागी बैजु कपालीले अनुभव सुनाए ।

उनका अनुसार खेलका साथै जनताका पक्षमा आवाज उठाउने यो क्लब सत्ताधारीको कोपभाजनमा थियो । पञ्चायती शासक सके क्लब नै बन्द गराउने खेलमा थिए । क्लबले यो अवस्थालाई व्यंग्य गर्न रोचक खेल आयोजना ग¥यो ।

आरसिटीले आफूभित्रकै अर्काे समूह अन्नपूर्णलाई एक सय एक गोल ठोकेर शासकमाथि उपहास गरेको थियो त्यस खेलमा ।

क्लबको इतिहास जीवन्त राख्न संग्रहालय सञ्चालनका लागि चार महिनाअघि अध्यक्ष शाक्यकै अध्यक्षतामा १८ सदस्यीय संग्रहालय निर्माण समूह बनाएर काम अघि बढाइएको थियो । सदस्यसचिवको जिम्मेवारी लिएका नरेश वैद्यले क्लबको इतिहास, उपलब्धि र सफलताका कथालाई जीवन्त राख्न संग्रहालय स्थापना गरिएको बताए ।

'मेरा बाजे (माधवानन्द) ले आरसिटीबाट खेल्नुभएको रहेछ । इतिहास खोज्दै जाँदा पत्ता लाग्यो । आरसिटीमा कतिले खेले, केही रेकर्ड छैन,' उनले भने, 'हाम्रो इतिहासलाई भावी पुस्ताले देख्न र पढ्न पाउनुपर्छ, त्यसको मूल्यांकन पनि हुनुपर्छ भनेर संग्रहालय बनाएका हौं ।' संग्रहालयमा इतिहास संकलन गर्न क्लबका पूर्व खेलाडी र पदाधिकारीले उपलब्ध भएसम्म सूचना र सामग्री सहयोग गरिरहेका छन् । केही पुराना खेलाडीले आफूले जितेका ट्रफी, मेडल संग्रहालयलाई दिएका छन् ।

आरसिटीले जितेको सहिदस्मारक लिग ट्रफी, राष्ट्रिय लिग ट्रफी, महेन्द्र गोल्डकप, पासाङल्हामु ट्रफी, रुपक स्मृति अन्तर्राष्ट्रिय फुटबल, शुभजन्मोत्सव कप र महावीर च्यालेन्ज सिल्डको ट्रफी र मेडलले संग्रहालय सजाइएको छ । फुटबलमा मात्र होइन, आरसिटीले भलिबल र पौडीमा पनि सक्रिय सहभागिता जनाउने गरेको थियो ।

सदस्यसचिव वैद्यले क्लबबाट अहिलेसम्म खेलेका खेलाडी, विदेशी खेलाडी र अन्य रेकर्ड व्यवस्थित गर्न लागिपरेको जानकारी दिए । 'आरसिटी दक्षिण एसियाकै सर्वाधिक खेलाडीले खेलेको क्लब हो तर हामीले त्यसलाई रेकर्डमा राख्न सकेका छैनौं,' उनले सुनाए, 'यस्ता दुर्लभ र ऐतिहासिक अभिलेख, पत्रपत्रिका र पुराना पुस्ताबाट अभिलेखन गरिरहेका छौं ।' एकै क्लबका तीन टोलीले 'ए' डिभिजन खेलेको रेकर्ड अहिले पनि आरसिटीकै नाममा छ । आरसिटी, अन्नपूर्ण क्लब र सुपर आरसिटी तीनै क्लब आरसिटीका थिए । अन्नपूर्णले २०३९ सालमा लिग उपाधि नै जितेको थियो ।

'ए' देखि 'सी' डिभिजन फुटबल एकै मौसम खेल्ने क्लबका रुपमा आरसिटीको नाम अगाडि आउने गर्छ । आधिकारिक रुपमा २०२४ सालबाट 'बी' डिभिजन फुटबल खेल्न थालेको आरसिटीले २०२८ देखि ३० सालसम्म लगातार सहिद स्मारक लिग फुटबलको उपाधि जितेको थियो । त्यसपछि क्लबले २०३३, २०३७ र २०३८ लिगमा सफलता हात पा¥यो । क्लबका पूर्व खेलाडी कपालीले संग्रहालयले आफ्नो विगतलाई संरक्षण गर्ने कार्य सुरु गरेको खुसी लागेको बताए । 'क्लबबाट कतिले खेले भन्ने थाहा पाउन गाह्रो पर्छ । मेरै परिवारका धेरैले आरसिटीबाट फुटबल खेलेका छन्,' कपालीले भने, 'इतिहास मेटिन लागेकाले सचेत भएर संग्रह थालेका हौं ।' नयाँ पुस्तालाई फुटबलको इतिहास र पुर्खाका बारे बुझ्न संग्रहालयले सघाउने उनले जनाए ।

प्रकाशित: २३ जेष्ठ २०७३ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App