८ वैशाख २०८१ शनिबार
अर्थ

बचतको ब्याज बढ्ने

काठमाडौं- सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज बढ्ने भएको छ। केन्द्रीय बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा गरेको नीतिगत परिवर्तनले बचत खाताको ब्याजदर बढ्ने संकेत गरेको हो।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा गरेको परिवर्तनले साधारण बचतको ब्याजदर बढ्ने बैंकरले बताएका छन्। कर्जाको ब्याजदर थोरै घट्न सक्ने र साधारण बचतको ब्याज वृद्धि हुने अनुमान उनीहरुले गरेका छन्।

अर्धवार्षिक समीक्षामार्फत मौ›िक नीतिमा आएको परिवर्तनले मुद्दती बचत र कल बचत खाताको ब्याजदर घट्ने र साधारण बचतको ब्याज बढ्ने भएको छ।

बैंक तथा वित्तीय संस्थाले नक्कली निक्षेप खडा गरी कर्जा प्रवाह गरेको पाएपछि राष्ट्र बैंकले कल डिपोजिटमा समेत ब्याजको सीमा तोकिदिएको छ। कल डिपोजिटलाई पारदर्शी र यथार्थपरक बनाउन साधारण बचत खाताको भन्दा बढी ब्याज दिन नपाउने व्यवस्था गरेको हो।

मुद्दती तथा कल बचतको ब्याजदर घट्ने र साधारण बचतको ब्याजदर बढ्ने बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले नागरिकलाई बुधबार बताए। 'कल निक्षेपको ब्याजदर १०–११ प्रतिशतसम्म पुगेको थियो,' सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनले, 'त्यो घटेर तल आउने छ।' 

मुद्दती बचतको ब्याज १४ प्रतिशतसम्म पुगेको थियो। त्यो पनि घटेर तल आउने अनुमान गरिएको छ। 'मुद्दती बचतमा तीन र कल बचतमा आठ प्रतिशत बिन्दुले ब्याज घट्न सक्छ,' एक बैंकरले भने, 'साधारण बचतको ब्याज २–३ प्रतिशत रहेकोमा अब ३–४ प्रतिशत हुनसक्छ।'

कर्जाको ब्याजदर थोरै घट्न सक्ने बैंकरले बताएका छन्। लगानीयोग्य रकमको आपूर्ति वृद्धिले ब्याजदर केही घटाउन मद्दत गर्छ। उत्पादनमूलक क्षेत्र र विपन्न वर्गमा लगानी गर्न राष्ट्र बैंकले सहज गरिदिएको छ। उत्पादनमूलक क्षेत्रमा र विपन्न वर्गमा गरिएको कर्जा लगानीको ५० प्रतिशत रकम कर्जा–निक्षेप अनुपात सीमाबाट घटाउन पाउने व्यवस्थाले लगानीयोग्य पुँजीको समस्या भोगिरहेका बैंक तथा वित्तीय संस्थालाई ठूलो राहत भएको छ।

नयाँ व्यवस्थाले करिब एक खर्ब २७ अर्ब रुपैयाँ लगानी गर्न मिल्ने पुँजी सिर्जना भएको छ। त्यसले बढ्दो ब्याजदर नियन्त्रणका साथै ब्याजदर घटाउन पनि मद्दत गर्ने संघका उपाध्यक्ष महर्जनले बताए।

'मुद्दती बचतको ब्याज २–३ प्रतिशत बिन्दुले घट्न सक्छ,' उनले भने, 'साधारण बचतको ब्याज १–२ प्रतिशत बिन्दुले बढ्न सक्छ।'

लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकले निक्षेप तान्न मुद्दती खातामा १४ प्रतिशत ब्याज दिँदै आएका थिए। 'अहिले मुद्दती खातामा १२ प्रतिशत ब्याज छ,' उनले भने, 'त्यो ९–१० प्रतिशतसम्म झर्न सक्छ।' साधारण बचतको ब्याज २–३ प्रतिशत रहेकोमा अब ३–४ प्रतिशत हुन सक्ने पनि उनले बताए।

अब कल खातामा बचत गर्नेलाई सबैभन्दा बढी असर पर्ने छ। हाल कल खातामा १०–११ प्रतिशत ब्याज बैंकले दिँदै आएका छन्। अब त्यो साधारण बचत खातामा सरह ३–४ प्रतिशतमा झर्ने पनि संघका उपाध्यक्ष महर्जनले बताए।

निक्षेपको ब्याज घट्दा कर्जाको पनि ब्याज घट्ने उनले बताए। कर्जा र निक्षेपको ब्याज अन्तर पाँच प्रतिशत हुनुपर्छ। 'तोकिएको स्प्रेडदर कायम गर्दा कर्जाको पनि ब्याज थोरै घट्न सक्छ,' महर्जनले भने, 'चैतदेखि सरकारी बजेट खर्चमा वृद्धि आयो भने बैकिङ प्रणालीमा निक्षेप पनि बढ्छ, कर्जाको ब्याज पनि घट्छ।'

लगानीयोग्य रकमको आपूर्ति वृद्धिले ब्याजदर केही घटाउन मद्दत गर्ने राष्ट्र बैंकका उच्च अधिकारी बताउँछन्।

प्रकाशित: १२ फाल्गुन २०७३ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App