८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीलाई 'सुराकी' बाटै खतरा

लुटपाट र ठगीमा संलग्न अभियुक्त (मास्क लगाएका) बिहीबार प्रहरी अपराध महाशाखा टेकुमा। उनीहरूमाथि आफूलाई प्रहरी र सैनिक भन्दै ठगी र लुटपाट गरेको आरोप छ।

काठमाडौं- महानगरीय प्रहरी वृत्तमा फागुन ८ मा पुगेर एक व्यक्तिले सूचना दिए। वृत्तले अपराध महाशाखाले अनुसन्धान गरिरहेको घटना पनि भएकाले ती व्यक्तिले दिएको सूचना त्यता पनि जानकारी गरायो। महाशाखा र वृत्तको टोलीले सूचना पछ्याउँदै राजेन्द्र भट्टराईका साथबाट स्रोत नखुलेको पाँच लाख ५० हजार र विकास कार्कीका साथबाट चार लाख ६५ हजार रुपैयाँ बरामद गर्‍यो। दुवै व्यक्ति हुन्डी कारोबारी थिए। उनीहरू सो रकम हुन्डीमार्फत तेस्रो देश पठाउने तयारीमा थिए।

वृत्तमा सूचना दिने ती व्यक्तिलाई प्रहरीले धन्यवाद् दियो। सूचना दिने ती व्यक्ति र प्रहरीबीच एउटा सम्बन्ध स्थापित भयो। अर्को दिन फागुन ९ गते तिनै व्यक्तिले अर्को सूचना दिए। प्रहरीले सो सूचना पछ्याउँदा हुन्डीका लागि ल्याएको १९ लाख ५० हजार रुपैयाँसहित अनिल पंगेनी फेला परे। प्रहरीसमेत दंग पर्‍यो। सूचना दिने ती व्यक्तिले यसबीच वृत्त र महाशाखाका अधिकारीसँग सम्बन्ध बनाइसकेका थिए। निकटता बढेको थियो। सबै घटना नयाँ सडक क्षेत्रका थिए।

तर तेस्रो दिन सोही क्षेत्रमा प्रेमनारायण खराल र विधान खरालले ग्लोबल आइएमईबाट निकालेको चार लाख २७ हजार रुपैयाँ लुटियो। खरालद्वयलाई केही व्यक्तिले आफू प्रहरी भएको बताउँदै नयाँ सडकबाट डल्लुसम्म हिडाएरै लगे। डल्लुबाट ट्याक्सीमा बसुन्धरा पुगेपछि साथमा भएको सबै रकम लुटेर छाडे। खरालद्वय तत्काल घटनाको जाहेरी लिएर प्रहरी सम्पर्कमा पुगे। यसबीचमा प्रहरीलाई सूचना दिने ती व्यक्ति सम्पर्कमै थिए। प्रहरीले उनीमाथि शंका गर्ने कुनै कारण देखेन।

घटना अनुसन्धानमा जुटेको महाशाखाले हुलियाका आधारमा स्केच र ट्याक्सी नम्बरका आधारमा लुटेराको खोजी तीव्र बनायो। प्रहरीले २४ घन्टा नबित्दै घटनामा प्रयोग भएको ट्याक्सी र संलग्न व्यक्तिको पहिचान मात्र गरेन, संलग्न ६ जनालाई नै नियन्त्रणमा लियो। तीमध्ये एक प्रहरीसँग निकट र परिचित थिए।

दिनदहाडै नयाँ सडकबाट दुई व्यक्तिलाई आफू प्रहरी भएको बताउँदै हिडाएरै डल्लुसम्म पुर्‍याउने ६ आरोपीमध्ये एक प्रहरीलाई हुन्डी कारोबारीको सूचना दिँदै आएका तिनै विश्वास घर्तीमगर थिए। उनले लुटपाटकै पूर्वयोजना अनुसार प्रहरीसँग निकटता बढाएर विश्वास जित्न सूचना दिएका थिए।

प्रहरीले बुधबार अपराह्न उक्त घटनामा संलग्न आरोपमा घर्तीमगर, शिवबहादुर बानियाँ, सुदीप थापामगर, धनकुमार परियार, नारायण बाँनियाँ र अशोक बानियाँलाई पक्राउ गरेको हो। शिवबहादुर र अशोक पूर्व नेपाली सेना हुन्।

'लुटपाटकै नियतले प्रहरीलाई सूचना दिएर निकटता बढाएको अनुसन्धानमा देखियो, प्रहरीले सुराकी प्रयोग गर्दा पनि ध्यान पुर्‍याउनुपर्ने यो घटनाले देखाएको छ,' महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले नागरिकसँग भने। उनका अनुसार प्रहरीलाई सूचना दिने सुराकीको विगतदेखिका गतिविधि अध्ययन गर्न मातहतका सबैलाई निर्देशन दिइएको बताए।

पूर्वसैनिक बानियाँले आफू प्रहरी भएको बताउँदै सोधपुछका लागि भन्दै खरेलद्वयलाई हिँडाएरै नयाँ सडकबाट डल्लुसम्म पुर्‍याएका थिए। योजना अनुसार अशोक र विश्वासले हुन्डी कारोबारीको निगरानी र सो सूचना प्रहरीलाई दिने गरेका थिए।

प्रहरी बनेर लुटपाट र ठगीको घटना यो नै पहिलो होइन। पुस २८ मा अपराध अनुसन्धानमा कार्यरत प्रहरी बताउँदै ठगी गर्ने गोपीकृष्ण ढुंगानालाई महाशाखाकै टोलीले पक्राउ गरेको थियो। ढुंगानाले जागिर लगाइदिने प्रलोभनमा आधा दर्जनभन्दा बढी महिलासँग रकम असुलेका थिए। यस्तै गत असार २४ मा महाशाखाले पक्राउ गरेका दीपेन्द्र अधिकारी बताउने नारायण विकले पनि आफूलाई प्रहरी निरीक्षक भन्दै लुटपाट र ठगी गरेको खुलेको थियो।

महाशाखाका अनुसार बिकले मोबाइल र सुनचाँदी पसलमा प्रहरी भन्दै ठगी गरेका थिए। विक पटक–पटक विभिन्न आरोपमा प्रहरी कारबाहीमा परेपछि आफैं प्रहरी बनेर ठगीमा संलग्न भएको खुलेको हो।

महाशाखाका प्रमुख अमात्य सर्वसाधारणले प्रहरीलाई गर्ने विश्वासको फाइदा गलत नियत भएका आपराधिक समूहले उठाउन थालेको बताए। उनले कसैले आफू प्रहरी भएको बताएर केही लाभ र धाकधम्की तथा पक्राउ गर्न खोजे परिचयपत्र देखाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले भने, 'कसैले प्रहरी हुँ भन्छ भने परिचयपत्र देखाउन सर्वसाधारणले आग्रह गरे घटनामा कमी आउँछ।'

प्रहरी भन्दै छापा मार्दै

प्रहरीले गत वर्षको अन्त्यमा चारजना त्यस्ता व्यक्तिलाई पक्राउ गर्‍यो, जसले 'प्रहरी' बनेर काठमाडौं उपत्यकाका कलंकी, बानेश्वर, सामाखुसी र ठमेल क्षेत्रमा लगातार छापा मार्दै आएका थिए। महाशाखाले गत वर्षको चैत्त २१ मा पक्राउ गरेका दीपक भन्ने टोपबहादुर कुँवर, गोविन्द चौलागार्इं, निमबहादु कुँवर र सुनील चौधरीले प्रहरीको आवरणमा छापा मार्दै आएका थिए।

महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार क्यासिनोमा लत परेपछि टोपबहादुरले नक्कली प्रहरीको समूह बनाएर जुवाका लागि लुटपाट गर्न थालेका थिए। उनीहरूले सुरुमा कुनै पसलबाट सामग्री खरिद गर्ने र पछि चोरी भएको तथा चोर समातिएको नाटक रच्दै पसलमा छापा मार्ने गरेका थिए।

'प्रहरीसँग निकटता बढाएका व्यक्ति यस्ता घटनामा संलग्न रहेको पछिल्ला घटनाक्रममा देखिएको छ, प्रहरीको हाउभाउ र बोली व्यवहारलाई हतियारका रुपमा घटनामा प्रयोग गरेको पाइयो,' एसपी कार्कीले भने।

नक्कली सहसेनानी बनेर ठगी

प्रहरी जस्तै नेपाली सेनाका अधिकारीको छद्म भेषमा ठगी गर्नेसमेत बढेका छन्। महाशाखाले बिहीबार नियन्त्रणमा लिएका ओखलढुंगाका धनबहादुर परियारले जंगी अड्डामा कार्यरत सहसेनानी अर्जुन कटुवाल बनेर दर्जनांैलाई ठगेको उजुरी परेको छ।

महाशाखाका अनुसार सहसेनानीको पोसाक लगाएर खिचेको तस्बिर देखाउँदै परियारले सिन्धुलीकी भवानी खड्कासहित आधा दर्जनलाई सेनामा जागिरको प्रलोभन देखाएर ठगेका थिए।

परियारले सेनाको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा प्रतिव्यक्ति २ लाख देखि ३ लाख रुपैयाँसम्म लिने गरेका थिए।

प्रकाशित: १३ फाल्गुन २०७३ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App