coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

चुनाव र चितुवा

घटना अस्तिको हो। काठमाडौंको शहरी क्षेत्र मै अचानक चितुवा देखियो। त्यो पनि एक पटक होइन। पटक पटक देखिइरहेको छ। अचेल जंगल मै चितुवा देखिन छोडिसक्यो तर शहरमा धमाधम देखिन थालिएको छ। के भएको होला? एकातिर सरकारले चुनावको मिति घोषणा गर्नु, अर्कोतिर एकाएक शहरमा चितुवा देखिनु...यी दुई घटना एकै पटक घटित हुनु संयोग मात्रै होला त? के सम्बन्ध होला यी दुई घटनाबीच?

चुनाव र चितुवाबीच अन्योन्याश्रित सम्बन्ध भएकैले चुनाव घोषणा हुनेबित्तिकै चितुवा शहर पसेको हो। त्यो पक्कै चुनावको अनुगमन गर्न छिरेको हुन सक्छ!

यसबारे मैले सबैभन्दा पहिले आफ्नै मित्र भजनलाललाई सोधेँ, 'भजन, देशमा चुनावको घोषणा हुनु शहरमा चितुवा देखिनुबीच कुनै सम्बन्ध होला त? तिमीलाई के लाग्छ?'

भजनलाल चुरोट तान्दै थियो। मेरो प्रश्नले अलि लामै ताने। अनि २० वर्ष पुरानो गाडीको साइलेन्सर पाइपबाट धुवाँ निकाले जस्तै आफ्नो घाँटीबाट मुस्लो ओकल्दै उनले भने, 'मलाई त सम्बन्ध छ जस्तो लाग्दैन।'

‘किन?’ मैले कारण देखाउ गरेँ।

'त्यसै,' भजनले भने, 'मलाई जानकारी भएसम्म चुनाव र भतुवाबीच चाहिँ राम्रै सम्बन्ध छ तर चुनाव र चितुवा बीच सम्बन्ध भएको कुनै जानकारी चाहिँ मैले अहिलेसम्म पाएको छैन।'

वास्तवमा चुनाव र चितुवाको बीचमा के सम्बन्ध छ भजनलाललाई पनि थाहा रहेनछ। चुनाव र भतुवाबीच के सम्बन्ध छ, त्यो उनै जानून्।

म वन्यजन्तुबारे त्यति धेरै चासो त राख्दिनँ। म वातावरण पत्रकार समूहको सदस्य पनि होइन। तथापि किन किन मलाई यस्तो आभास भइरहेको छ कि चुनाव र चितुवालगायत अन्य वन्यवन्तुबीच अन्योन्याश्रित सम्बन्ध छ। कस्तो सम्बन्ध छ, त्यो त थाहा भएन तर सम्बन्ध चाहिँ छ। त्यो सम्बन्ध भएको कारणले नै अहिले चुनाव घोषणा हुनेबित्तिकै चितुवा शहर पसेको हो। किनभने चुनाव त शहरमै हुन्छ, जंगलमा हुँदैन।

पहिलो लटमा चितुवा आइहाले। अब हेर्दै जानुस्, बिस्तारै बाघ पनि शहरतिर आउन थाल्छन्। त्यो पनि सानोतिनो बाघ होइन, हिंस्रक बाघ। अझ बाघभन्दा पनि बेसी त स्यालहरू शहर आउन थाल्छन्। जंगलमा स्यालको संख्या पनि धेरै छ। त्यसैले अधिकांश स्यालहरू शहर आउने छन्। शहरमा मात्र के, ती स्यालहरू हाम्रो घरघरमै आउन पनि बेर छैन। अरु बेला बेपत्ता भएका स्याल पनि चुनावका बेला बिस्तारै देखा पर्न थाल्छन्। पूरै शहर अब स्यालैस्यालले भरिन पनि बेर छैन।

स्याल आएपछि हुँडार, दुम्सी, फ्याउरो, बाँदर आदिजस्ता अरू मित्रजन्तुहरू पनि सँगसँगै आउने नै भए। ब्वाँसा त झन् आउने नै भयो। सायद वातावरणीय प्रभावका कारणले पो हो कि! अचेलका ब्वाँसा ब्वाँसाजस्ता छैनन्। जंगलमा बस्ने विभिन्न जन्तुहरू पनि अहिले कसैको रंग खुइलिएका छन्, कसैको पुच्छर छोटिएका छन्, कसैको सिङ भाँचिएका छन्। कोही अग्लिएका छन्, कोही होचिएका छन्। ब्वाँसा पनि त्यस्तै भएका छन्। ब्वाँसा त ब्वाँसा नै हुन् तर ब्वाँसाजस्ता छैनन्। अहिले चुनावमा त्यस्ता ब्वाँसा भएर पनि ब्वाँसाजस्तो नदेखिने ब्वाँसाहरू छ्यापछ्यापी नै आउने छन्। 

त्यस्तै चुनावकै बेला देखापर्न थाल्ने अर्को वन्यजन्तु बनेल पनि हो। यिनीहरू पनि बडा खतरनाक हुन्छन्। थाहा नपाई मार्न सक्छन्। त्यस्तै खतरनाक अर्को जन्तु अर्ना हो। अब अर्ना पनि शहरमा देखा पर्न थाल्नेछन्। ठूला ठूला राताराता आँखा। तीखातीखा सिङ। लामा लामा पुच्छर। कालो न कालो जिउ। फूँफूँ गर्दै हिँडेर आउँदा मान्छेको सातो पनि जान सक्छ।

जंगली हात्ती त आजभोलि पनि गाउँघरतिर छिरेर तबाह मच्चाइरहेकै छन्। अब चुनावको बेला उनीहरूलाई त्यसरी तबाह मच्चाउने लाइसेन्सै प्राप्त हुनेछ। चुनावको बेला मतदान गर्ने जो बुथ हुन्छ, तिनलाई समेत जंगली हात्तीबाट बचाउन गार्‍हो हुन सक्छ। हाम्रो गाउँघरतिर अक्सर भारतीय सीमा हुँदै जंगली हात्ती आउने गर्छन्। चुनावमा आउने जंगली हात्ती पनि छिर्ने त भारतीय सीमाबाटै हो। रोक्न झन् गार्‍हो हुने अवस्था छ।

केही समयअघि सौराहा र हेटौंडातिर त सडकमै गैैडा हिँड्दै आएका फोटोहरू हामीले पत्रिकाहरूमा देखेका थियौँ। अब चुनावको बेला अरु शहरतिर पनि गैंडाको परेड देख्न पाइनेछ। अब गैंडा नै शहरमा ठिमठिम हिँडेर आएपछि उसको अगाडि जाने को?

यसरी नै अब क्रमशः गोरिल्ला, ओराङउटाङ आदि जन्तु पनि क्रमशः देखिन थाल्नेछन्। मलाई लाग्छ, अहिले शहरका ठाउँठाउँमा जो चितुवाहरू भेटिए, उनीहरू चुनावको अनुगमन गर्न आएका हुन्। आखिर चुनाव घोषणापछि आफ्नो तर्फको तयारी त गर्न परिहाल्यो नि, होइन त?  

प्रकाशित: १३ फाल्गुन २०७३ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App