coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इमर्जिङ कपमा नेपाल 'इन'

काठमाडौं- टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धा गर्न पाउने प्रतियोगिता एसिसी इमर्जिङ नेशन्स कप खेल्ने अवसरबाट बञ्चित नगर्न नेपालले गरेको अपिल एसियाली क्रिकेट परिषद (एसिसी) ले स्विकारेको छ।

सुरुमा टेस्ट खेल्ने एसियाका चार देशका युवा टोली तथा एसोसिएट सदस्यमध्येबाट नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), हङकङ र अफगानिस्तान गरी आठ टोलीबीच हुने भनिएको प्रतियोगितामा नेपालको ढोका बन्द गर्ने निर्णय भएको सूचना एसिसीले मंगलबार दिएको थियो। मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म बंगलादेशको ढाकामा हुने तय भएको प्रतियोगितामा एकदिवसीय मान्यताप्राप्त टोलीलाई मात्र सहभागी गराउने भन्दै एसिसीले नेपाली क्रिकेट अधिकारीहरूलाई मंगलबार पत्राचार गरेको थियो।

तर नेपाली टोलीले आफूलाई प्रतियोगितामा समावेश गर्न बुधबार गरेको अनुरोध एसिसीले शुक्रबार स्विकारेको नेपाल क्रिकेट संघ (क्यान) की पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले नागरिकलाई जानकारी गराएकी छिन्। हाल नेपाली क्रिकेट प्रशासनसँग कुनै सम्बन्ध नभएकी घिमिरेले भनिन, 'बुधबार पत्रपत्रिकामा नेपाललाई इमजिङ नेशन्स कपबाट हटाइएको समाचार आएपछि हामीले राष्ट्रिय टोलीसँग सल्लाह गरेर टोलीको तर्फबाट अपिल गरेका थियौं। एसिसीले आज त्यो अपिल स्विकारेर हामीलाई खेल्न दिने निर्णय गरेको छ।'

एसियाबाट टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा एसोसिएट सदस्यमध्येबाट नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), हङकङ र अफगानिस्तान गरी आठ टोलीबीच मार्च १५ देखि २६ (चैत २ देखि १३ गते) सम्म ढाकामा प्रतियोगिता हुने यसअघि निर्णय गरिएको थियो। तर सहभागी केही टोलीको सुविधाका लागि १० दिन सारिएको प्रतियोगितामा एसोसिएटमध्ये युएई र हङकङले अन्य कार्यक्रमको व्यस्तताका कारण सहभागिता नजनाउने बताएका थिए।

एसिसीले त्यसपछि नेपालको समेत ढोका बन्द गर्ने गरी एकदिवसीय मान्यताप्राप्तलाईमात्र सहभागी गराउने भने पनि पछिल्लो निर्णयमा नेपालसँगै मलेसियालाई पनि समावेश गरेको घिमिरेले बताइन।

प्रकाशित: १४ फाल्गुन २०७३ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App