अनुपम रोशी
'त दाजुभाइ दिदीबैनी हो, यही डमरुको आवाजबाट श्री पशुपतिनाथले माहेश्वरी सूत्र निकाल्नुभएको हो। एक रात वहाँले नै मलाई डमरु बजाउ भन्नुभएको हो। यो डमरुको आवाज जजसको कानमा पुग्छ उनीहरूको सोझै वैकुण्ठमा बास हुन्छ। डम डम डिमिक डिमिक, डम डम डिमिक डिमिक!'
डमरुको तालमा कमण्डलु तेर्स्याउँदै एउटा गेरुवस्त्रधारी आइपुग्छ। मैले पाँच रुपैयाँ उसको कमण्डलुमा राखिदिन्छु। उसले बडो तिखो नजर मतिर फ्याँक्छ र त्यो पैसा कमण्डलुबाट झिकेर गेरुपस्त्रकोे खल्तीमा हाल्छ र अघि बढ्छ।
ज्योतिर्लिंगको कल्पनाकार एक स्त्री नै हुन् जसले आफूलाई सबैभन्दा मन पर्ने र आवश्यक वस्तु संसारको हरेक चोकचोक र गल्लीगल्लीमा भएको हेर्न चाहन्थिन्। त्यसैले यहाँ ढुंगाका योनीहरू भेटिँदैनन्। किनकि योनीसभ्यताले त्यो पुरुषसभ्यतालाई अतृप्त छोडेको इतिहास छैन।
उदारतले आफ्नो सुल्पामा गाँजा भरिसकेको छ। र, हामीबीच शिव उत्पत्तिको कथाले एउटा रोचक मोड लिँदैछ।
–'अँ त सन्त महाराज अश्रुभक्तजी वनकाली र मृगस्थलीमा के हुन्थ्यो?' म उही डम डम डिमिक डिमिक शैलीमा प्रस्तुत हुन्छु।
–'चाहने हो भने त्यस कमण्डलुनाथलाई माथ गर्न सक्नुहुन्छ तपाईं!' सन्त महाराजले निकैबेरपछि मुख खोल्छ।
–'जसले जे भने पनि पशुपतिको उत्पत्ति स्वयं ब्रह्माजीबाटै भएको हो। वनकाली, मृगस्थली, ध्रुवस्थली सबै परमब्रह्म सृजित तपोस्थान हुन्। त्यो कथा त सुन्नुभएको होला तपाईंले कि संसारको सृष्टि गर्ने उद्देश्यले ब्रह्माजीबाट कसरी चारवटा सनतकुमारको जन्म भएको थियो। र, ती सनतकुमारहरूलाई ब्रह्माजीले स्त्रीसम्भोग गरी सृष्टि रचाउन आदेश दिएका थिए। कुमारहरूले त्यस्तो माया चक्रमा घुम्ने हामीलाई इच्छा छैन भनेर दिएको ठाडो जवाफ सुनेर रिसले चुर भएका ब्रह्माजीको क्रोध नियन्त्रण गर्न भ्रुणमध्येबाट निललोहित कुमारको जन्म भएको थियो। ती निललोहित कुमार जन्मँदै रुन थालेका थिए। रुँदै उनले ब्रह्माजीलाई प्रश्न सोधेका थिए– 'प्रभु मेरो नाम र काम के हो?' त्यसपछि ब्रह्माजीको क्रोध शान्त भएको थियो।
जन्मँदै रोएका हुनाले तिम्रो नाम रुद्र हो। तिम्रो काम सृष्टि र विनास गर्नु हो। ब्रह्माजीले मुस्कुराउँदै निललोहित कुमारलाई भनेका थिए । ती निलोहित कुमार नै पछि गएर विराट शिवजी भए।' बडो उत्साहित र आफ्नै आँखाले देखेजस्तो गरी अश्रुभक्तले सुनायो।
–'होइन अश्रुभक्त महाराज, ब्रह्मा र विष्णुको प्रजनक पनि पशुपति नै हुन् भनिन्छ नि! अथर्व वेद र उपनिषद्मा शिवजी र परम्ब्रह्म स्वयंको उत्पत्ति पनि ज्योतिर्लिंगबाट भएको कुरा भेटिन्छ त!' उदारतले गाँजाको एक गुजुल्टो धुवाँसँगै अश्रुभक्तलाई माथ गर्न आफ्नो तर्क प्रसारण गर्छ।
–'सन्त उदारतको तर्कमा केही सत्यता भेट्न सकिन्छ। किनकि ज्योतिर्लिंगको अस्तित्व मलाई पनि स्वीकार छ!' म भन्छु। मेरो कुरा सुनेर दुवै ट्वाँ पर्छन्।
'तर मेरो ज्योतिलर्िंगप्रतिको अस्तित्व स्वीकार अलि बेग्लै प्रकारको छ। त्यो स्त्रीको गर्भगृह हो। अँध्यारो गर्भगृहले खोज्ने बीजरूप र विचाररूपको प्रचण्ड उज्यालो नै ज्योतिर्लिंग हो।'
–'खासमा शिवजीको कुनै गोत्र छैन। महादेवको प्रजनक कोही थियो भन्ने आजसम्म कतै भेटिएकै छैन। भेटिएका कुरा सत्य हुन् या मिथ्या यसै भन्न सकिँदैन।' मेरो र उदारतको कुरालाई नयाँ मोड दिएर अश्रुभक्तले उदारतको हातबाट गाँजाको शुल्पा आफ्नो हातमा लिन्छ र तान्न थाल्छ।
–'शिवजीको गोत्र यसकारण नभएको हुन सक्छ, उनी मातृशासित व्यवस्थामा जन्मेका थिए। र, इतिहास यो पनि छ कि, त्यो व्यवस्थामा जन्मनेहरूको कुनै गोत्र हँुदैनथ्यो। त्यही मातृशासित व्यवस्थामा शिवजीको जन्म कुनै पर्वतीय गुफाभित्र एक स्त्रीकै गर्भगृहमा भएको हुन सक्छ । र, त्यो गर्भगृहभित्र अपूर्व शक्तिशाली बीजको रूपमा कुनै पुरुषको ज्योतिलर्िंग प्रवेश भएको हुन सक्छ।' उनीहरू दुवैको कुरालाई म मावनशास्त्रीय आँखाले हेर्न खोज्छु। तर, मेरो कुरालाई कदाचित उनीहरू मान्न तयार हुँदैनन्।
–'शिवजीको जन्म कुनै स्त्रीको गर्भगृहबाट भएको हुनै सक्दैन। त्यसो हो भने महादेवकी आमाको पनि पूजा हुनुपर्ने थियो।' अश्रुभक्त पुनः ब्रह्म आवेगको भूमध्येसागरमा प्रवेश गर्न चाहन्छ।
–'तत्कालीन समयको विक्षिप्त र अमर्यादित तन्त्रसाधनालाई अँगालेर बसेकी भुवनेश्वरीझैँ कुनै झाँक्रिनी आमा तन्त्रसाधनाका लागि त्यही गर्भगृहजस्तै अँध्यारो पर्वतीय गुफामा पुगेकी होली। त्यहाँ कुनै तान्त्रिक लौहपुरुष पनि तन्त्रसाधना गर्दै थियो होला। एकान्त गुफामा भेट भएपछि उनीहरूको तान्त्रिक यौनलीला भयो होला! र, नीलमणिको रूप लिएर महादेवको जन्म भएको होला! म आफ्नो अनुमान प्रस्तुत गर्छु।
–'हुनलाई जे पनि सक्छ! महादेव उत्पत्तिको कथा जे भए पनि उनको त्यो विराट स्वरूप कतै मिथ्या होइन!' उदारत जंगिन्छ र पुनः गाँजामा लिन हुन्छ।
–'ती प्रतिमाहरू देख्नुभएको छ!' अश्रुभक्तले एक सय आठ शिव लिंगतिर देखाउँछ।
'यिनी के हुन्? के मातृव्यवस्थामा सहजै यत्तिकै यिनलाई पुजिन थालिएको हो? के यसको कुनै अस्तित्व छैन?'
–'पक्कै पनि यसको कल्पनाकार लिंगप्रेमी थियो होला।' म पनि लिंगधामलाई आँैल्याँउदै भन्छु।
–'त्यो बेला जसले लिंग स्थापित गरेर शिवको भक्ति गर्थ्यो, उसले शिवजीलाई प्राप्त गर्थ्यो। त्यसैले चोकचोकमा ज्योतिर्लिंग उत्पत्ति भएको हो।' उदारत मिसिन्छ।
–'प्रमाण के छ? अहिले किन प्राप्त हँुदैनन् शिवजी? के तपाईंहरू शिवभक्त होइन? एकदिन दर्शन दिए त महादेवले? तपाईंहरूलाई भेट्नुअघि मैले यस लिंगधाममा एकजना शिवभक्तलाई भेटेकी थिएँ। उनले सुनाएको कथा सुनाऊँ म तपाईंहरूलाई!' म भन्छु।
–सुनाउनुस्! दुवै मतिर फर्किन्छन्।
–त्योभन्दा पहिले म आफ्नो कथा सुनाउँछु। मैले एकसय आठ शिवलिंगलाई ढोगिरहने मानिसको विश्वासमुन्तिर ती ढुंगाका शिवलिंगजस्तै पार्वती योनीलाई कसरी खोज्दै हिँडेकी थिएँ!
म जान्न चाहन्थेँ।
आखिर ज्योतिर्लिंगको कल्पनाकारले कुन प्रयोजनका लागि लिंगपुजन सभ्यतालाई स्थापित गर्यो! किन मानिसहरू ज्योतिर्लिंगपुजनमै आतुर देखिन्छ! लिंगपुजन नै पूरै सृष्टिको पूजा हो भने किन आज समाजमा योनीसभ्यताको पनि उत्तिकै आवश्यकता छ?
–'तपाईं भ्रममा हुनुहुन्छ या देख्नुभएको छैन? यी शिवलिंग लिंगमात्र नभएर त्यहाँ स्त्रीयोनीको विशाल उपस्थिति छ।' मलाई बीचैमा रोकेर उदारत मुस्कुराउँछ।
–डियर उदारत म त्यो जनविश्वासको पक्षपाती होइन। तर, जति परिभाषा दिए पनि स्त्री र पुरुषको यो सामूहिक धर्मालयमा योनीपुजन व्यवस्था स्पष्ट छैन। र, लिंगपुजन व्यवस्थाले मभित्र थुप्रै प्रश्नपत्र जन्माएका छन्। किनकि शिवलिंग भनेजस्तै पार्वतीयोनी भनेको मैले कतै सुनेकी छैन।
–'मध्यरातमा यी ज्योतिलर्िंगहरू जाग्छन् र ताण्डव नृत्य गर्छन्। यी ज्योतीर्लिंग जागेपछि यो संसार पूरै उज्यालो हुन्छ। यस जोतिर्लिंगबाट जाज्वल्यमान शक्ति उत्पन्न हुन्छ। त्यो दिव्यप्रकाश देख्न सक्ने युवतीलाई भोलेनाथ प्राप्त हुन्छन्। उसले आफ्नो कोखमा शिवजीको वरदानस्वरूप महाज्ञानी सन्तान प्राप्त गर्छे। तर, त्यो स्त्रीमा ठूलो आँट र साहस हुनुपर्छ। तपाईंहरूजस्तै सन्तले यी महान् वाणी सुनाएका थिए।
निडर स्वास्नीमानिसका अगाडि नै शिवजी प्रकट हुन्छन् भने मभन्दा निडर अर्को को होला! मैले सोचँे र त्यो महावाणीको पछि लागेर मध्यरातमा म लिंगधाम पुगेँ!
त्यतिबेला लिंगधाम सुनसान थियो। बिलकुल सुनसान।
पक्कै शिवजी यही बाटो भएर आउलान् भन्ने लागेपछि पलेँटी कसेर म मूलद्वारमा बसेँ। रात घिसि्रँदै थियो। मन्दिरमा तबला र सितारको ध्वनि एउटा उत्कर्षमा पुगेर क्षीण हुँदैथिए। ठाउँठाउँमा लाइटिङ गरिएका महादेवका आकर्षक तस्बिरबाहेक केही देखिएको थिएन।
तस्बिरमा महादेवका लठि्ठएका आँखाहरू बडो रोचक र आकर्षक थिए। जसले मलाई जबर्जस्त ढंगमा तानिरहेका थिए। अजीव तर्कना मनमा उत्पन्न भइरहेको थियो। निस्लोट नयनले मभित्र करेन्ट प्रवाह गरिरहेका थिए। लाग्थ्यो, त्यो तस्बिरबाट शिवजी प्रकट होऊन् र मेरो तृष्णामा समाधिस्त होऊन्।
–शिवजीसँग सम्भोग! राम राम राम! मेरो कुरा सुनेपछि उदारतले दुवै कान समातेर जप्न थाल्छ।
–हो, शिवजीसँग सम्भोग! यो एउटा गज्जबको कल्पना थियो।
'वर्षौंपहिले मलाई पनि तिमीलाई जस्तै भएको थियो!'
पूरै शून्यतालाई प्रहार गर्न पर्याप्त एउटा स्त्री आवाज त्यहाँ गुञ्जिन्छ। म झस्किन्छु। मैले नजिकै एक स्त्री उभिएको देख्छु। उनको हातमा एउटा रुद्राक्षमाला थियो।
'तिमीलाई महादेवका नेत्रले बसमा पार्दैछन्! तिम्रो प्यास बढ्दैछ! र, तिमी अतृप्त हुँदैछौ।' उनी भन्छिन्।
कसरी थाह भयो उनलाई मभित्र प्यास बढिरहेको छ भन्ने! के यिनी अन्तर्यामी हुन्? म चकित हुन्छु।
'हो यसरी नै अतृप्त भएकी हुँ म। र, प्यासी छु वर्षौंदेखि। कहिले महादेव निद्राबाट ब्यूँझेलान् र मेरो प्यास बुझाउलान् भनेर मैले यसै ठाउँमा वर्षौं बिताएँ। अहँ उनीसम्म मेरो पुकार अझै पुगेको छैन। म आज पनि मध्यरातमा एकपटक यो लिंगधाम आइपुग्छु। र, यी एक सय आठ लिंगलाई स्पर्श गर्छु। यद्यपि, मलाई यी लिंगहरू मन पर्दैनन्।' उनी भन्छिन्। उनको कुरा रोचक थियो।
'आखिर किन मन पर्दैनन् यी लिंग? फेरि मन नपर्ने धाममा किन आउनुहुन्छ तपाईं?' म सोध्न बाध्य हुन्छु।
'आउँछु यही मेरो अन्तिम बाध्यता हो! किनकि म माहदेवकी प्रेमिका हुँ।' उनी भन्छिन्।
–गज्जबको प्रेम। गज्जबको प्यास र गज्जबकै बाध्यता पनि! के लाग्छ तपाईंलाई ! के साँच्चिकै यो जगमा शिवको महिमा छ? म सोध्छु।
–जगमा त थाह छैन, तर मेरो मनमा अकाट्य छ। म उनलाई अघोर प्रेम गर्छु। त्यो पार्वतीले के गर्थिन्! उनी भन्छिन्।
–ओहो! पार्वतीले भन्दा पनि बढी? म छक्क पर्छु।
–थाह छ यी लिंगहरूलाई कसले यसरी सार्वजनिक गर्यो? उनले प्रश्न गरिन्।
–अहँ! मलाई थाह छैन।
–त्यही पार्वतीले गरेकी हुन्! यसरी आफ्नो प्रेमीलाई उदांगो बनाउँछ कोही! अझ उनका त पती परमेश्वर भन्छन्! म भए उनका सारा अवगुण आफ्ा राम्रा गुणसँग साटिदिन्थेँ! उनी निराश देखिइन्, त्यो पनि पार्वतीसँग।
–कसरी उदांगो बनाइन् पार्वतीले? मैले सोधँे। उनको कुरा मलाई रहस्यपूर्ण लाग्दैथियो।
–पार्वती पनि मजस्तै देउपाटनकी चेली थिइन्। उनले पनि महादेवलाई मन पराउँथिन्। महादेवलाई सबैले देउता भन्थे। उनी सधैँ ध्यान गरिरहेका हुन्थे। पार्वती र थुप्रै युवती उनका लागि फूल टिप्न जान्थ्यौँ। र, आज पनि म जाने गर्छु। हामी पूरै जंगल चहारेर मगमग बास्ना आउने फूल खोजेर ल्याउथ्यौँ। तर, महादेवले कसैको फूल लिँदैनथे। पार्वतीलाई पनि तिमीलाई र मलाईजस्तै भएको थियो।
–के भएको थियो? यतिञ्जेलमा आफूलाई के भएको थियो भन्ने मैले बिर्सिसकेकी थिएँ।
– शिवसँग प्रेम गर्ने इच्छा!
–ए! प्रेम कि सेक्स? म भन्छु।
–जे भने पनि उही हो।
–ए ए अनि!
–अनि त रात छिप्पिँदै थियो। भजन र तबलाको ध्वनि उत्कर्षमा थिए। हामी व्यग्रतापूर्वक दिव्यप्रकाशको पर्खाइमा थियौँ।
–को को?
–पार्वती, म र थुप्रै युवती!
–ए ए।
–सबैलाई महादेवको सम्मोहित नेत्रले नियन्त्रण गरेको थियो। शिवजी कतिबेला आउँछन् र स्पर्श गर्छन् भन्ने उत्सुकता बढिरहेको थियो।
त्यो रात आकाशमा ताराहरू चम्किरहेका थिए। त्यहीमध्येबाट कुनै चम्किलो ताराको झिल्को आएजसरी शिवजी प्रकट हुनुभयो। सम्मोहित आँखाहरू विशाल भूमध्येसागरजस्तै थिए। जुन सबैको आशक्तिको केन्द्र थियो।
शिवजीले कसैलाई हेरेनन्। बस पार्वतीको शीरमा हात राखिदिए। पार्वतीले दंग पर्दै उनको हात समातिन्। शिवजीले पार्वतीलाई अँगालोमा उठाए र अघि बढे। सबै हेरेको हेर्यै भयौँ।
उता शिवरूपार्वती पाटीपौवा, सत्तल र घाटहरूको अष्टदल परिचय गराउँदै वनकाली, इन्द्रकाली श्लेषमान्तक, ध्रुवस्थली, मृगस्थली, गुहेश्वरीतिर पुगे। त्यहाँ विभिन्न योग र मुद्राको आसन जमाए। श्लेषमान्तक वनभित्रभित्रसम्म पुगेर लुकामारी खेल्न थालेे। लुकामारी खेल्दाखेल्दै पार्वती नांगिइन्। पार्वतीको नांगो रूप देखेर विचरा शिवजी अन्तरध्यान भए!
आफूलाई अतृप्त पारेर महादेव हराएपछि पार्वती बौलाहा भइन्। गुह्येश्वरी, ध्रुवस्थली मृर्गस्थली, श्लेषमान्तकका कुनाकुना, गौरीघाट, देउपाटनदेखि तिलगंगासम्म उनले महादेवलाई खोज्दै हिँडिन्। महादेवलाई नभेट्दा छट्पटाइरहेकी पार्वती पुनः श्लेषमान्तक फर्किइन्। र, माटोको ढिस्को खनेर लिंग बनाउन थालिन्। जतिजति उनमा महादेवको प्यास बढ्थ्यो उतिउति उनले शिवलिंग बनाउँदै गइन्। यसरी पशुपति क्षेत्र पूरै लिंगैलिंगले भरियो। त्यसपछि त जजसलाई शिवको प्यास भयो सबैले लिंग बनाउन थाले। अनि त चोकचोकमा लिंग भेटिन थाल्यो। लिंगको पूजा हुन थाल्यो।
अनि हजुरले बनाउनुभएन? मैले सोधँे।
कठै... मेरो शिवजीको लिंग! पार्वतीका कारण निर्वस्त्र हुनुपर्यो। त्यसरी मेरो शीरमा हात राखेको भए के म उनको यति बेइज्जत हुन दिन्थेँ हुँला? मेरो प्रश्नको जवाफमा उनले भनिन्। उनको आँखामा शिवजीलाई लिएर बढेको प्यास पुनः ताजा भएको थियो।
–'बेइज्जत कसरी भयो त, आज सबैले ज्योतिर्लिंग पुज्छन्! भगवान् मान्छन्!' म भन्छु।
–'यसैमा त पीडा हुन्छ मलाई, जतिजतिले लिंग पुज्छन् त्यतित्यतिले मेरो शिवको पुरुषार्थमा प्रश्न गरेको पाउँछु म।'
–'पुरुषार्थमा प्रश्न! कस्तो मीठो प्रेम! तर, ढुक्क हुनुस् अब मैले तपाईंको शिवलिंग पूजा गरेर तपाईंको प्रेमीको पुरुषार्थलाई प्रश्न गर्ने छैन!' म उनलाई भन्छु ।
'त्यतिबेला म धन्य हुनेछु... म धन्य हुनेछु!' यसो भन्दै उनी बाटो लागिन्। मैले उनी पर पुगुञ्जेल हेरिरहेँ। त्यसपछि मलाई स्पष्ट अनुभव भयो– ज्योतिर्लिंगको कल्पनाकार एक स्त्री नै हुन् जसले आफूलाई सबैभन्दा मन पर्ने र आवश्यक वस्तु संसारको हरेक चोकचोक र गल्लीगल्लीमा भएको हेर्न चाहन्थिन्। त्यसैले यहाँ ढुंगाका योनीहरू भेटिँदैनन्। किनकि योनीसभ्यताले त्यो पुरुषसभ्यतालाई अतृप्त छोडेको इतिहास छैन।
म कथा टुंगिएको संकेत गर्छु । गाँजामा लठि्ठएको उदारत पहेँला दाँत देखाउँदै मुस्कुराउँछ! तर, अश्रुभक्त बोल्दैन। कुनै प्रतिक्रिया पनि प्रस्तुत गर्दैन। उसले सोचिरहेको हुनुपर्छ– महादेव स्त्रीपुत्र नै हुन्?
प्रकाशित: १४ फाल्गुन २०७३ ०४:२५ शनिबार