६ वैशाख २०८१ बिहीबार
खेल

अस्ट्रेलिया १३ वर्षपछि सफल

पुने- अस्ट्रेलियासँग ३ सय ३३ रनले पराजित भएपछि घरेलु टोली भारतको १९ खेलसम्म अपराजित शृंखलामा शनिबार पूर्णविराम लागेको छ। बायाँहाते स्पिनर स्टिभ ओ‘किफको दोस्रो इनिङमा ६ विकेट लिएपछि ४ सय ४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विश्व शीर्ष वरीयताको भारतले १ सय ७ रनमा सबै विकेट गुमायो। टेस्ट वरीयताको दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले तेस्रो दिनमै खेल जित्न सफल भयो।

खेलमा ओ‘किफले १२ विकेट लिएपछि अस्ट्रेलियाले २००४ पछि पहिलो पटक भारतीय भूमिमा टेस्ट जित्न सफल भयो। जितसँगै ४ खेलको शृंखलामा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ। रिकी पोन्टिङको कप्तानीमा अस्टे्रेलियाले पछिल्लो पटक नागपुरमा भारतलाई हराएको थियो। ४ खेलको शृंखला अस्ट्रेलियाले २–१ ले जितेको थियो। त्यस्तै, एसियामा लगातार ९ खेलको हारपछि अस्टे्रलियाको यो पहिलो जित हो। अस्ट्रेलिया गत वर्ष श्रीलंकासँग पनि ३–० ले पराजित भएको थियो।

‘भारत आएर हामीले ४ हजार ५ सय २ दिनसम्म खेल जित्न सकेनौं। मैले यो तथ्य भनेको थिएँ,’ अस्ट्रेलियाका कप्तान स्मिथले भने, ‘लामो समयपछि अविश्वसनीय जित हासिल गर्‍यौं। यो चुनौतीपूर्ण थियो भन्ने थाहा थियो। केटाहरूले त्यसको डटेर सामना गरे।’

३२ वर्षे ओ‘किफले ३५ रन दिएर ६ विकेट लिए। उनले पहिलो इनिङमा पनि ३५ रन दिएर ६ विकेट लिएका थिए। ओ‘किफलाई अर्का स्पिनर नाथन लियोनले गतिलो साथ दिए। लियोनले ६ विकेट हात पारे।

भारतका चेतेश्वर पुजाराले सबैभन्दा धेरै ३१ रन बनाए। उनीबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ओ‘किफले भारतका कप्तान विराट कोहलीलाई १३ रनमा बोल्ड गर्दा पुनेको रंगशाला शान्त बनेको थियो। जुनयता ४ दोहोरो शतक पूरा गरेका कोहलीले दुवै इनिङमा खेल्न सकेनन्। कोहली पहिलो इनिङमा शून्य रनमा पवेलियन फर्केका थिए।

‘यो पिचमा हामीले भन्दा उनीहरूले राम्रो गरे। हामी दबाबमा खेल्यौं। उनीहरू जितका हकदार थिए,’ भारतका कप्तान कोहलीले भने, ‘दुवै इनिङमा हामीले खराब खेल्यौं। बलियो टोलिविरुद्ध यस्तो गल्ती माफीयोग्य हुँदैन।’

१४३–४ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको अस्ट्रेलिया २ सय ८५ रनमा अलआउट भयो। भ्रमणकारी टोलीलाई ठूलो योगफलतर्फ डोर्‍याउने क्रममा स्मिथले शतक पूरा गरे। भारतमा उनको यो पहिलो शतक हो। ५८ रनबाट दिनको शुरुआत गरेका स्मिथले २ सय २ बलमा ११ चौकासहित १ सय ९ रन बनाए। मिचेल मार्स र म्याट रेनसोले समान ३१ रन बनाउँदा मिचेल स्टार्कले ३० रन जोडे। दोस्रो इनिङमा भारतका स्पिनर रविचन्द्रन आश्विनले ४, रवीन्द्र जडेजाले ३ र उमेश यादवले २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा २ सय ६० रन बनाएको थियो। पहिलो इनिङमा भारत १ सय ५ रनमा अलआउट भएको थियो। दोस्रो टेस्ट बैंगलोरमा मार्च ४ बाट हुनेछ।

प्रकाशित: १५ फाल्गुन २०७३ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App