coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देउवा मधेसी सांसदसँग छलफलमा, पौडेल बालकोट

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका वरिष्ठ नेताहरु मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग परामर्श गरिरहेका छन्। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा संविधान संशोधन विधेयक र स्थानीय तहको संख्या निर्धारणबारे छलफल भइरहेको बताइएको छ।

गत बिहीबार फरमुल्लाह मन्सुर नेतृत्वको टोलीले संविधान संशोधन प्रस्तावलाई फास्ट ट्र्याकबाट पारित गर्न पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका थिए। संशोधन प्रस्ताव पारित गरी निर्वाचनको सहज वातावरण बनाउन उनीहरूले सभापति देउवालाई दबाब दिने निष्कर्ष निकाली ज्ञापनपत्र बुझाएका थिए।

सोही सम्बन्धमा छलफल गर्न सभापति देउवाले मधेस केन्द्रीत सांसदहरुलाई छलफलमा डाकेका हुन्। छलफलमा देउवासहित, विमलेन्द्र निधि, प्रकाशनमान सिंह, कृष्ण सिटौलगायत छन्।

यता देउवासँग असन्तुष्ट बनेका नेता रामचन्द्र पौडेल भने पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। उनीहरुबीच पछिल्लो राजनीतिक घटनाबारे छलफल भइरहेको बताइएको छ।

पौडेलले पार्टी सभापति देउवा नेतृत्व लिन असफल भएको भन्दै पत्र लेखेका थिए। पौडेल पक्षको शनिबार राजधानीमा भएको भेलाले सभापति देउवा पार्टी विधानलाई चुनौती दिँदै व्यक्तिगत र गुटगत स्वार्थका आधारमा अघि बढेको ठहर गरेको थियो।

भेलाले विधि र विधानविपरीत अघि बढ्ने सभापतिको कदमको खुलेर प्रतिवाद गर्ने निष्कर्षसहित तत्काल केन्द्रीय समिति र संसदीय दल बैठक बोलाउन माग गरेको छ।

प्रकाशित: १५ फाल्गुन २०७३ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App