५ वैशाख २०८१ बुधबार
समाज

निम्तिरहने भोटेकोसी कहर

सिन्धुपाल्चोक– मंगलबार राति पौने ९ बजे। तातोपानीमा झरी दर्किरहेकै थियो। बर्खामा भोटेकोसी अलि चर्कै गडगडाउँछ, स्वाभाविकै थियो। रातको समय, त्यसमाथि हुस्सुले चारैतिर निष्पट्ट। कोदारीस्थित ब्यारेकमा सशस्त्रका डिएसपी मनोज थापा सुतिसकेका थिएनन्। ड्याङ, ड्याङ, ड्याङ–ड्याङ......गल्ड्याङ! एक्कासि भयावह आवाज कानमा ठोक्कियो। जमिन थरर्र थर्कियो। 'लौ भुइँचालो गयो, पहिरो पो खस्यो कि? होइन, होइन बाढी आएजस्तो छ!' निमेषभरमै उनको मनमा अनेकौं तर्कना उठे।

थापा तुरुन्तै ब्यारेकबाहिर निस्केर भोटेकोसी नियाले, अँध्यारोले केही देखेनन्। तर, कोसीको गड्याङ–गुडुङ झन्भन्दा झन् चर्को हुँदै गएपछि भने उनले ठूलै बाढी आएको भेउ पाइहाले। अब के गर्ने? उनी टोली लिएर स्थानीयलाई सचेत गराउँदै लिपिङतिर हानिए। 'गाडीमा १५ मिनेटमा लिपिङ पुग्दा बसपार्क नदीले तानिसकेछ। सडक नै थिएन। त्यहाँका १५ घर बिलाइसकेछन्,' उनले त्यो कहालीलाग्दो क्षण सम्भि्कए। भूकम्पपछि लिपिङ बजार लगभग खाली थियो। त्यहाँ जम्मा पाँच घर बस्थे। तिनैलाई जोगाउन थापा त्यतातिर हान्निएका थिए। तर, उनीहरू पुग्दा पाँचै परिवार सुरक्षित स्थानतिर लागिसकेका रहेछन्। त्यत्तिकैमा थापा टोलीले सडक डिलमा अलपत्र परिरहेकी एक महिला देख्यो। ती सुस्त मनस्थितिकी रहिछन्। तिनैलाई लिएर टोली सुरक्षित स्थल चौकीडाँडा पुग्यो।

'त्यतिन्जेल भोटेकोसी सडकमा चढ्न खोज्दै थियो,' सशस्त्र प्रहरी भन्सार सुरक्षा बेसका डिएसपी थापा सुनाउँछन्, 'आँखैअगाडि घरहरू गर्ल्याम–गर्ल्याम नदीले तान्यो।' भोलिपल्ट बिहान तातोपानीक्षेत्र लगभग बिलाएझैं देखेका उनी भोटेकोसीले एक घन्टामै त्यत्रो विनाशलीला मच्चाएको अनुमान गर्छन्।

१० किलोदेखि लिपिङसम्म १० किमी दुरीमा फैलिएको तातोपानी उजाड बनाउँदै ३० किमी टाढा तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति निम्त्याउने बाढी भोटेकोसीमा कसरी आयो त? भोटेकोसी बाढीपछि खोजमा जुटिरहेका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का विज्ञ प्रदीपकुमार मूल भन्छन्, 'तिब्बतमा बर्खाले निम्त्याएको पहिरोले भोटेकोसी थुनेपछि बनेको ताल फुट्दा ह्वात्तै बाढी आएको हो।'

चाइनिज एकेडेमिक अफ साइन्सेसका वैज्ञानिक डा. विकाई वाङलाई उद्धृत गर्दै उनले दिएको जानकारीअनुसार तिब्बतको जाङ्बु (खासा) देखि नेलामबीचको ७०७ पुल रहेको क्षेत्रमा पहिरो गएर कोसी थुनिएको थियो। त्यस दिन तिब्बततर्फ भारी बर्खा हुँदा नदी सतह त्यसै पनि बढेको थियो। नदी थुनिएको भू–भाग पहिरो गइरहने क्षेत्र हो।  गत वर्षको शक्तिशाली भूकम्पले पनि त्यहाँ पहिरो गएको थियो। तातोपानी र तिब्बतको खासालाई केन्द्र बनाएर वैशाख १३ गते शक्तिशाली अनुकम्प गएको थियो।

'भूकम्पले जमिन चलेकाले बर्खामा पहिरो निम्तियो,' मूल भन्छन्। उनका अनुसार तिब्बतमा पहिरो गएको र नेपालमा बाढी आएको समय ठ्याक्कै मिल्छ। तिब्बती समयअनुसार पहिरो राति ११ बजे गएको थियो। नेपालतिर बाढी नेपाली समयअनुसार राति ९ बजे आएको हो। तिब्बत र नेपालको समय दुई घन्टा फरक छ। बाढीको भोलिपल्टै खासास्थित चिनियाँ सुरक्षाकर्मीले नेपाली अधिकारीलाई यही जानकारी गराए।

'तिब्बतमा हिमताल फुटेर बाढी आएको अनुमान थियो सुरुमा तर होइन रहेछ,' मूलले भने। चिनियाँ वैज्ञानिक वाङका अनुसार पहिरोले थुनेको कृत्रिम ताल फुट्दा भोटेकोसी सतह २० मिटर उचालिएको थियो। नदी कति समय थुनिएर फुट्यो र कति पानी बह्यो भन्नेबारे उनले खुलाएका छैनन्। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाका अनुसार बर्खामा सामान्यतया भोटेकोसीमा प्रतिसेकेन्ड १ सय ५० क्युमेक (घनमिटर) पानी बग्छ। बाढीका बेला यो गति प्रतिसेकेन्ड ६ सय ३३ क्युमेक थियो। 'बर्खाले भोटेकोसी उसै पनि ठूलो थियो, थुनिएर फुटेपछि एकैचोटि तीव्र गतिमा बग्यो,' मूल भन्छन्, 'त्यसले ढुंगा, लेदो, गे्रगर र काठपात सोहोरेर ल्याउँदा नेपालतिर ठूलो क्षति हुन गयो।'

विभागका जलविद् विनोद पराजुली पनि तिब्बतमा पहिरोले नदी थुनेर फुटेपछि ठूलो बाढी आएको बताउँछन्। चिनियाँ अनुसन्धातासँग सम्पर्कमा रहेर भोटेकोसी बाढीको कारणबारे जानकारी लिइरहेका उनले भने, 'चिनियाँ अधिकारीले आधिकारिक रूपमा नबताए पनि पहिरोपछि नदी थुनिएर फुटेको निष्कर्षमा पुगिसकेका छौं।'

कतिपय चिनियाँ अखबार र अनलाइनले वाङको भनाइलाई आधार बनाएर भोटेकोसी बाढीबारे समाचार प्रस्तुत गरेका छन्। तिब्बतमा गएको पहिरोको 'भिडियो क्लिप' अहिले तातोपानीका युवाबीच 'भाइरल' बनेको छ। तातोपानीका कुमार श्रेष्ठ तिब्बती साथीबाट त्यो भिडियो पाएको बताउँछन्। मितेरी पुलबाट नदी थुनिएको क्षेत्र करिब ५ सय मिटर दुरीमा रहेकाले मुखैको तातोपानीमा व्यापक क्षति भएको बलियो तर्क गर्न सकिन्छ।

विगतलाई हेर्दा

तातोपानीमा भोटेकोसीले ल्याएको विनाशलीला यो पहिलो होइन। हिमताल मुहान रहेको भोटेकोसीलाई 'तिब्बतको दुःख' का रूपमा लिइन्छ। विगतदेखि नै तिब्बतमा भारी बर्खा हुँदा वा बाढी आउँदा नेपाली पनि प्रत्यक्ष मारमा पर्दै आएका छन्। चीन प्रवेशको मुख्य ढोका तातोपानी र तल्लो तटीय क्षेत्रका बासिन्दाले लामो समयदेखि बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपसँग संघर्ष गरिरहेकै छन्।

इतिहास पल्टाउँदा हरेक १०–१५ वर्षको अन्तरालमा भोटेकोसीले स्थानीयलाई पिरोलिरहन्छ। 'भोटेकोसी हाम्रो समेत दुःख हुँदै हो,' इसिमोडका विज्ञ मूल भन्छन्, 'त्यहीँमाथि तातोपानीको भूगोल पहिरोग्रस्त छ।' विज्ञका अनुसार सुनकोसीभन्दा माथि सिंगो तिब्बतसम्मकै भू–भाग कमलो र जोखिमपूर्ण छ। 

 विभिन्न अध्ययन, अनुसन्धानमा सन् १९६४ देखिका भोटेकोसी विनाश समेटिएका छन्। इसिमोडले नै सुनकोसी करिडोर र भोटेकोसी उपत्यकामा आएका बाढी, पहिरोको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। सन् १९६४ मा तिब्बतको ज्याङलाङ ताल फुटेको थियो। त्यसले त्यति बेला पुर्‍याएको क्षतिविवरण कतै उल्लेख नरहेको मूल बताउँछन्। उनका अनुसार सन् १९८२ मा दोस्रोपटक पुनः उक्त ताल फुट्दा तिब्बत र नेपालमा व्यापक क्षति पुगेको थियो। मितेरी र फुल्पिङसहित तिब्बतका समेत तीन पक्की पुल बगाएको थियो।

त्यसले सुनकोसी हुँदै दोलालघाटसम्म ठूलो जनधन नोक्सानी गरायो। त्यति बेलाको विनाशलीला राम्चे, बाह्रबिसेका ६० वर्षीय अर्जुन राउतले अझै बिर्सेका छैनन्। त्यस बखत २५ वर्ष उमेर उनी सम्झन्छन्, '४० घरधुरीको पुरानो बाह्रबिसे बजार पूरै बगाएको थियो, लामै सास्ती पाइयो त्यति बेला।'

 त्यसपछि पनि भोटेकोसी करिडोर (तातोपानी क्षेत्र) मा निरन्तर विपत्ति निम्तिएको इसिमोडको प्रतिवेदनमा उल्लेख छ। सन् १९९६ मा तातोपानीनजिक लार्चामा ठूलो पहिरो गएको थियो। दुई साता लामो वर्षापछि सात किमीमाथिबाट १ सय ४० मिटर फराकिलो पहिरो झर्दा ५४ जनाको ज्यान लिँदै ४० घर र लार्चा पुल बगाएको थियो। विज्ञहरूले २०७१ साउन १७ को भीमकाय जुरे पहिरोलाई लार्चा पहिरोसँग तुलना गर्न थालेका छन्। यसपछि पनि भाटेकोसी बाढी र तातोपानीको पहिरोले निरन्तर भौतिक नोक्सानी पुर्‍याउँदै आएको छ।

सुनकोसी र ब्रह्मायणी करिडोर जोखिममा

विभिन्न अध्ययन र प्रतिवेदनअनुसार भोटेकोसीजस्तै सिन्धुपाल्चोकका सुनकोसी र ब्रह्मायणी (बलेफी) नदी पनि बाढी, पहिरोको उच्च चपेटामा पर्दै आएका छन्। इसिमोडकै प्रतिवेदनमा उल्लेख भएअनुसार सन् १९८२ मा बलेफी नजिक झन्डै तीन वर्ग किलोमिटरको डाँडो बग्दा सुनकोसी थुनिएर (मिसिएर बगेपछिको नदी) ९७ जनाको ज्यान गएको थियो। साथै, १५ घर बगेका थिए।

 सन् १९८७ मा सुनकोसीमा नदी थुन्ने गरी अर्को पहिरो गएको थियो। २ सय २९ घर बगाउँदा ९८ जनाको ज्यान गएको थियो भने १०.०५ मेगावाट क्षमताको सुनकोसी जलविद्युत् केन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। सुनकोसीले अरनिको राजमार्ग कटान गर्दा केही सयम तातोपानी एक्लिन पुगेको थियो। उता बलेफी करिडोरको पाङताङमा पचासको दशकमा (२०४० पछि) ब्रह्मायणी नदीको बाढीले कात्तिके बजार बगाउँदा ठूलो मानवीय क्षतिसमेत भएको थियो।

 'भोटेकोसीजस्तै सुनकोसी र ब्रह्मायणी उपत्यका पहिरोग्रस्त क्षेत्र हो,' विज्ञ मूल थप्छन्, 'प्राकृतिक घटना रोक्न सकिन्न। कमी ल्याउन भने सकिन्छ। त्यसका लागि अध्ययन आवश्यक पर्छ।' २०७१ साउन १७ गते भीमकाय जुरे पहिरोले पाँच गाउँ बगाउँदै ११ घन्टा सुनकोसी थुन्दा १ सय ४५ को ज्यान गएको थियो।

जहिल्यै डर

भोटेकोसी उपत्यकाको तिब्बतमा हिमताल जोखिमपूर्ण अवस्थामा रहेकाले तल्लो तटीय क्षेत्र नेपालमा जुनसुकै बेला प्राकृतिक प्रकोप निम्तिन सक्ने विज्ञ औँल्याउँछन्। भूगर्भविद् श्रीकमल द्विवेदी यो तर्कमा सहमत छन्। 'तिब्बतमा जोखिमपूर्ण अवस्थामा रहेका हिमताल जति बेला पनि फुट्न सक्ने सार्वजनिक भइसकेको छ,' उनले भने, 'बेलैमा सचेतना अपनाउनुपर्छ।' उनका अनुसार हिमताल जोखिममा रहेकैले पछिल्लो भाटेकोसी बाढी आउँदा त्यो फुटेको अनुमान गरिएको छ।

 इसिमोडका तर्फबाट त्रिवि प्राध्यापक नरेन्द्रराज खनाल, विज्ञ मूल र चिनियाँ अनुसन्धाता सम्मिलित टोलीले गत वर्ष चीनतिरका हिमताल अध्ययन गरेको थियो। मूलका अनुसार टोलीले तिब्बती भोटेकोसी जलाधार क्षेत्रमा ७४ हिमताल रहेकोमा १० वटा जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो। 'तीमध्ये ६ वटा जुनसुकै बेला विस्फोट हुन सक्छ,' उनले प्रतिवेदनको निष्कर्ष सुनाए। चिनियाँ वैज्ञानिक र अनुसन्धाताले पनि हिमताल अध्ययन गरिरहेको उनी बताउँछन्।

 'भोटेकोसी बाढी त छँदैछ र जोखिमका हिमताल फुट्ने खतरा सधैं रहिरहन्छ,' उनले भने, 'तल्लो तटीय क्षेत्र खास गरी तातोपानीमा फिजिकल्ली बस्ती बसाउन मिल्दैन।' नेपाल–चीन व्यापारले आर्थिक गतिविधि बढाएसँगै विपत्ति बेवास्ता गर्दै बस्ती विकास भएको उनी सुनाउँछन्।

प्रकाशित: २५ असार २०७३ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App