८ वैशाख २०८१ शनिबार
अर्थ

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

फाइल तस्बिर।

काठमाडौं- निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले ७० करोड रुपैयाँ लगानीमा एकैचोटि दुई जहाज खरिद गरेको छ। गोमाले खरिद गरेका यी जहाज आइतबार काठमाडौं अवतरण गरेका छन्।

गोमाले चेक गणतन्त्रमा निर्मित जहाज खरिद गरेको हो । दुई इन्जिन र १९ सिट क्षमतायुक्त यी जहाजलाई मुलुकका दुर्गम भेगमा उडाउने गोमाको योजना छ । कम्पनीले यसअघि २०७१ चैत पहिलो साता पनि यस्तै एउटा जहाज खरिद गरेको थियो।

‘अहिले ल्याएका थप दुईसहित हामीसँग अब ६ थान जहाज भएका छन्,’ गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले आइतबार नागरिकसँग भने, ‘दुई जहाजका लागि हामीले ७० करोड रुपैयाँ लगानी गरेका छौं। ६ जहाजबाट यात्रुलाई सरल र सहज भाडामा गन्तव्य पुग्न थप मद्दत पुग्ने विश्वास छ।’

कार्कीका अनुसार गोमाले खरिद गरेको जहाज चेक गणतन्त्रको जहाज निर्माता कम्पनी एलइटी (लेट) ले उत्पादन गरेको हो । सन् १९६९ बाट जहाज उत्पादन सुरु गरेको लेटका १ हजार १ सय ३८ मध्ये ८० प्रतिशत जहाज हाल संसारका विभिन्न वायुसेवा कम्पनीले उडाइरहेका छन्।

गोमाले खरिद गरेका दुइटै जहाज ‘एल ४१० युभिपी–ई२०’ सिरिजका हुन् । यसमा ‘जिई एच८०–२००’ इन्जिन तथा ‘एभी–७२५’ मोडेलका पाँचवटा प्रोपेलर (ब्लेड) छन्। यी जहाजलाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन–एएमजी’ र ‘९एन–एएमएच’ कलसाइन दिएको छ।

प्रबन्ध निर्देशक कार्कीका अनुसार खरिद गरिएका जहाज रुसबाट मंगोलिया, चीन, भियतनाम र बंगलादेश हुँदै आइतबार दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। एएमजी कलसाइन भएको जहाजलाई क्याप्टेन आङदोर्जे शेर्पा र को–पाइलट अभिनन्दन खड्काले उडाएर ल्याएका थिए। त्यसैगरी एएमएच कलसाइनको जहाजलाई क्याप्टेन मनिष पन्त र को–पाइलट ल्हाक्पा शेर्पाले उडाएर ल्याएका थिए।  

कार्कीका अनुसार नयाँ जहाज थपिएपछि दुर्गम भेगका गन्तव्यमै बढी उडान गरिने छ । १९ सिटको जहाज भए पनि एक सिट एयर होस्टेसलाई छुट्ट्याएर १८ यात्रु उडाइने छ । उड्डयन प्राधिकरणका कागजी प्रक्रिया पूरा गरेपछि एक साताभित्र दुइटै जहाजले नियमित व्यावसायिक उडान सुरु गर्नेछन् ।

 

गोमाले अब ६ जहाजमार्फत काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ (सुकेटार),  खोटाङ (खानीडाँडा), भोजपुर, पोखराबाट मनाङ, मुस्ताङ र डोल्पा तथा नेपालगन्जबाट हुम्ला (सिमिकोट), जुम्ला, मुगु (रारा), बाजुरा र डोल्पाका लागि नियमित उडान गरिनेछन्।

‘प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सेवा दिन्छौं । अहिले थपिएका दुईमध्ये एक जहाजलाई पर्यटकीय गन्तव्य पोखरा र अर्कोलाई काठमाडौंमा तैनाथ गर्छौं,’ कार्कीले भने, ‘त्यसबाहेक हामीसँग सिंगल इन्जिनयुक्त दुईवटा सेस्ना क्याराभान जहाज पनि छन् र अब मल्टिइन्जिनयुक्त चार जहाज भएपछि दुर्गम भेगका यात्रुमात्र नभई आवश्यक सामग्री ढुवानी गर्न पनि सहज हुनेछ । हामी सकेसम्म दुर्गम भेगमै केन्द्रित हुन्छौं।’

साना धावनमार्ग भएका विमानस्थलमा उडान गर्न योग्य भएका कारण लेट कम्पनीका जहाज खरिद गरिएको कार्कीले बताए। उनका अनुसार नयाँ जहाजमा उडान–अवतरणका समयमा १ हजार ८ सय किलो तौल बोक्ने क्षमता छ । यही आकारका अन्य जहाजले भने १ हजार ३ सयदेखि १ हजार ४ सय किलोमात्र बोक्न सक्छ । यसमा ‘सेमिग्लास ककपिट’, छोटो धावनमार्गमा आकस्मिक रोक्नुपर्दा चाहिने ‘स्पोइलर’ लगायत उडान सुरक्षा विशेषता छन्।

दुर्गम भेग लक्ष्य गरी व्यावसायिक पाइलटरूको २५ करोड रुपैयाँ लगानीमा २०६७ फागुनमा गोमा एयर स्थापना भएको हो । यसले फागुन दोस्रो साताबाट व्यावसायिक उडान सञ्चालन गरेको थियो । कम्पनीले उडान सञ्चालन हुनु चार महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत पाएको थियो ।

दुर्गम भेगका बासिन्दालाई सुरक्षित, भरपर्दो र सस्तो मूल्यमा चार्टर र कार्गो तथा नियमित उडान सेवा दिइरहेको गोमासँग हाल दुईथान मल्टिइन्नियुक्त जहाज र सिंगल इन्जिनयुक्त दुईवटा सेस्ना क्याराभान जहाज छन् । नाफा कमाउनेभन्दा पनि दुर्गम क्षेत्रमा सेवा पुर्‍याइरहेको र प्रतिस्पर्धी मूल्यमा जहाज उडाइरहेको कम्पनीको दाबी छ।

गोमाले काठमाडौंलाई आधार गरी पूर्वी भेग तथा सुर्खेतलाई आधार गरी सुदूरपश्चिममा उडान गरिरहेको छ। हाल जुम्ला, मुगु, बाजुरा, सिमिकोट, बझाङ र डोल्पा उडान गरिरहेको छ । हाल सञ्चालनमा रहेका सिंगल इन्जिनयुक्त दुई थान ‘सेस्ना ग्रान्ड क्याराभान २०८बी’ मोडेलका जहाजमा ९ सिट छन्। अटो पाइलटिङको सुविधा रहेको यो जहाजको भारबहन क्षमता करिब १ हजार ४ सय किलो छ।

 

 

प्रकाशित: १५ फाल्गुन २०७३ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App