७ वैशाख २०८१ शुक्रबार
राजनीति

तिलाठीको उदाहरण दिँदै माधव नेपालले भने, सीमाको रक्षा मधेसीबाटै

गाैरमा अायोजित कार्यक्रममा बरिष्ठ एमाले नेता माधवकुमार नेपाल (बायाँ)। तस्विरः मदन ठाकुर

रौतहट— नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेस र मधेसीको पक्षमा निरन्तर लडिरहेकोले एमालेलाई मधेस विरोधीको आरोप लगाउनु निराधार रहेको बताएका छन्। रौतहटको गौरस्थित व्यारेक फिल्डमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेलाई मधेसविरोधी भन्नेहरुले तर्कभन्दा तथ्यको आधार जनतासमक्ष पेश गर्न आग्रह गरेका छन्।

एमाले नेता नेपालले गौरका प्रभावशाली समाजसेवी शम्भु साह लगायत करिब सय जनालाई टीका लगाएर एमाले प्रवेश गराए। कांग्रेस, माओवादी, मधेसवादी दलहरुबाट झन्डै एक सय जना एमाले प्रवेश गरेका हुन्।

मधेस र मधेसीको जायज मागको पक्षमा एमाले निरन्तर अग्रणी मोर्चामा लडिरहेकोले बताउँदै एमाले नेता नेपालले सप्तरीको तिलाठीको उदाहरण दिँदै मधेसीले नै सीमाको रक्षा गरिरहेको भनी मधेसीको प्रशंसा गरेका छन्। तिलाठीका जनताले भारतीय दशगजामा भारतीय पक्षलाई प्रतिकार गरेर धपाएका थिए।

देशको शत्रु गरिबी, अभाव, भ्रष्टाचार, बेरोजगारी, पछौटेपन रहेकोले यिनीहरुलाई समाप्त पार्न सबैसित हात मिलाएर अगाडि बढ्न तयार रहेको बताउँदै नेता नेपालले एमाले सम्वाद, समझदारी र सहकार्यको पक्षमा रहेको स्पष्ट पारेका छन्।

नेकपा एमालेले २०५५ सालमा महिलालाई २० प्रतिशत सिट आरक्षण गर्ने नीति ल्याएकोमा अहिले विस्तार भएर देश नै महिलाको पक्षमा गएको बताउँदै नेपालले अहिले देशको सबै महत्वपूर्ण पदमा महिला जाने बाटो खुलेको उल्लेख गरे। एमाले नेता नेपालले महिलालाई राजनीति र प्रशासनको लागि तयार हुन आग्रह  गरेका छन् ।

एमाले नेता नेपालले गौरका प्रभावशाली समाजसेवी शम्भु साह लगायत करिब सय जनालाई टीका लगाएर एमाले प्रवेश गराए। कांग्रेस, माओवादी, मधेसवादी दलहरुबाट झन्डै एक सय जना एमाले प्रवेश गरेका हुन्।

एमालेले कार्यक्रम राखेको थाहा पाएपछि मोर्चाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए । वीपी चोकमा मोर्चा कार्यकर्ताले प्रदर्शन गरेपछि नेता नेपाल शिक्षा कार्यालयको बाटो भएर कार्यक्रमस्थल पुगेका थिए ।

एमालेको सभासम्म मोर्चाका कार्यकर्ता पुग्न नदिन गौरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । विपी चौकमा स्थिति तनावग्रस्त भएपछि प्रहरीले सामान्य बलसमेत प्रयोग गरेको थियो । सोही क्रममा प्रहरीको कुटाइबाट द हिमालयन टाइम्सका सञ्चारकर्मी प्रभातकुमार झा घाइते भएका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखा, प्रेस मन्च, प्रेस सेन्टर, बज्जिका पत्रकार संघ लगायतका संस्थाहरुले रौतहटका प्रजिअ उद्धवबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै सञ्चारकर्मीमाथि आक्रमण गर्ने प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।

एमाले नेता नेपाल कार्यक्रम सकेर फर्केपछि एमालेको झन्डा रहेको भन्दै मोर्चाका कार्यकर्ताहरुले एउटा भारतीय बोलेरामाथि आगजनी गरेका छन्। मोर्चाका कार्यकर्ताहरुले बीआर ०६ पी ५४६१ नम्बरको गाडी डढेर खरानी भएको छ । स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगोमाथि नियन्त्रण लिएका  छन् ।

प्रकाशित: १५ फाल्गुन २०७३ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App