coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संशोधन पारित नभए समर्थन फिर्ता

काठमाडौं- मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने तयारी गरेको छ। तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा आइतबार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो। 

संविधान संशोधन नभए समर्थन फिर्ता लिएर आन्दोलनमा जाने मोर्चाका नेताले बताए। आन्दोलन कार्यक्रम तय गर्न मोर्चाको सचिवालय बैठक बसेको थियो। बैठकमा मोर्चाका नेताले संशोधन प्रस्तावको टुंगो नलागेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिन नहुने धारणा राखेका थिए।

मोर्चाले फागुन २६ गतेसम्म भण्डाफोर कार्यक्रम राखेको  छ। त्यसपछिका कार्यक्रम  संशोधन प्रस्ताव टुंगो लागेपछि मात्र तय गरिने नेताहरूले बताए।

संशोधन प्रस्ताव पास गराउन हरसम्भव प्रयास गर्ने र पारित नभए आन्दोलनमा जाने निष्कर्ष मोर्चाले निकालेको छ। 'संशोधन प्रस्ताव पास गराउन हामी हरसम्भव प्रयास गर्छौं। एमाले मधेसी मूलका सांसदसँग पनि कुराकानी गछर्ौं,' सद्भावना पार्टीका महासचिव मनीष सुमनले भने, 'कथंकदाचित संशोधन पास भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोनलमा जान्छौं। '

स्रोतका अनुसार संशोधन फेल भए आमहडताल गर्ने तयारी छ। तराई–मधेस सद्भावना पार्टीका सांसद नरेन्द्र साह कलवारले परिमार्जनसहित संशोधन विधेयक पास भए मोर्चा आन्दोलनका कार्यक्रम फिर्ता गरी चुनावमा जाने बताए।

संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराउनेबारे मोर्चाभित्र मतभेद देखिएको छ। मोर्चाले संविधान संशोधन विधेयक परिमार्जनसहित पास हुनुपर्ने अडान राख्दै आएको थियो।

मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल र तराई–मधेस सद्भावना पार्टीले आइतबार संशोधन प्रस्ताव दर्ता गराएनन्। तर मोर्चामा रहेका अन्य पाँच पार्टीले भने संशोधन प्रस्ताव दर्ता गराए। स्रोतका अनुसार मोर्चाको बैठकमा फोरम नेपाल र तराई–मधेस सद्भावना पार्टीका नेताले संशोधन प्रस्ताव  दर्ता गराएपछि संविधान संशोधन नभए पनि  नैतिक रुपमा चुनावमा जानुपर्ने अवस्था आउने भन्दै सो प्रस्ताव दर्ता गराउन नहुने अडान राखेका थिए। अन्य ५ घटकका नेताले भने मोर्चाले सुरुदेखि नै विधेयकमा परिमार्जन हुनुपर्ने अडान राखेकाले संशोधन  प्रस्ताव राख्नुपर्ने अडान राखेका थिए। संशोधन प्रस्तावमा एकमत नभएपछि ५ घटकले अन्य केही साना दलसँग मिलेर संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

'मोर्चासँग आबद्ध पाँच पार्टीले  संशोधन प्रस्ताव राखेका छन्। यसमा फोरम नेपाल र तराई–मधेस सद्भावना पार्टी सहभागी छैनन्', राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने, 'तर उहाँहरूले संशोधन प्रस्तावमा मतदान हुँदा हामो पक्षमा भोट दिने बताउनुभएको छ। '

तराई–मधेस सद्भावना पार्टी अध्यक्ष्य महेन्द्र यादवले आफ्नो पार्टीले संशोधन प्रस्ताव दर्ता नगराएको बताए। 'हामीले संशोधनमा संशोधन राखेनौं। उहाँहरूले राख्नुभएको छ,' यादवले भने।

फोरम नेपालले भने साँझ प्रधानमन्त्रीलाई छुट्टै मागपत्र बुझाएको छ। सो पार्टीका सांसद लालबाबु राउतले आफ्नो दलले प्रधानमन्त्रीलाई छुट्टै ज्ञापनपत्र बुझाएको बताए। 'हामीले संशोधनमा संशोधन प्रस्ताव दर्ता गराएनांै। प्रधानमन्त्रीलाई छुट्टै ज्ञापनपत्र बुझाएका छौं', राउतले भने।   

प्रकाशित: १६ फाल्गुन २०७३ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App