८ वैशाख २०८१ शनिबार
विचार

आततायी आगो

अन्यत्र मुलुकका विद्यार्थीले हासिल गरेका उपलब्धि र अध्ययन उत्कृष्टता अखबारका निम्ति आकर्षण हुने गर्छन्। सिंगापुरका विद्यार्थीले हिसाबमा विश्वका अन्य विद्यार्थीलाई पछि पारेका समाचार पढेर त्यहाँका पाठक र अभिभावक पुलकित हुन्छन्। अनि हामी भने हाम्रा होनहार भविष्यका कर्णधारले हासिल गरेका उपलब्धि अखबारका शीर्ष स्थानमा हेरेर लज्जित हुन्छौँ। हाम्रो मुलुकका सञ्चारमाध्यममा केही दिनदेखि निरन्तर एउटा समाचार छापिइरहेको छ, 'उपत्यकाका कलेजमा भिडन्त।' कलेजमा विद्यार्थीले कुनै प्रतिस्पर्धात्मक खेलका निम्ति भिडन्त गरेका भए गर्वकै विषय हुन्थ्यो। तर, स्थिति त्यो होइन। उनीहरूले प्राज्ञिक उन्नयनमा आफूलाई लगाउनुभन्दा तोडफोड, हिंसा, आगो लगाउने आदि काममा पारंगत तुल्याइरहेका छन्। अन्यत्र मुलुकमा विद्यार्थीले पढाइलाई प्राथमिकता दिँदै भविष्यमा मुलुकको नेतृत्वका निम्ति आफूलाई तयार पार्छन्। हामीकहाँ भने विद्यार्थी जीवनदेखि नै तोडफोड, भिडन्तजस्ता गतिविधिमा आफूलाई पारंगत पार्दै भोलि संसद्का कुर्सी हान्ने र माइक भाँच्ने नेताका रूपमा विकास गर्दै लगेको देखिएको छ। हाम्रा विद्यार्थीले राजनीति बुझ्नुपर्छ तर कुनै एउटा दलको प्यादा बनेर हिंसात्मक गतिविधिमा उत्रिएर ठूलो उपलब्धि हासिल भएको महसुस गर्न सकिन्न।

विद्यार्थीले दुई दिनअघि मीनभवन क्याम्पसको लेखा शाखामा आगजनी गरेका थिए। त्यसैगरी उनीहरूले आफूलाई रत्नराज्य कलेजमा शनिबार तोडफोड, आगजनी र भिडन्तमा लगाए। राजधानीकै शंकरदेव क्याम्पसमा पनि सत्तारूढ कांग्रेस निकट नेवि संघ र प्रमुख विपक्षी एमाले निकट अनेरास्ववियुबीच झडप भयो। एक साताअघि विश्वभाषा कलेजको निर्वाचन समितिका सदस्यलाई विप्लव निकट विद्यार्थी संगठनले कब्जामा लिएका थिए। त्यसैगरी बानेश्वर बहुमुखी क्याम्पस प्रमुखलाई ११ र १२ का विद्यार्थीले भोट हाल्न पाउनुपर्ने माग राख्दै शनिबार कब्जामा लिए। सबैजसो क्याम्पसमा भइरहेका यी घटनाले विद्यार्थीलाई दलले आफ्नो अभीष्ट प्राप्तिका निम्ति उपयोग गरेको प्रस्ट हुन्छ। यसै पनि विद्यार्थी क्षेत्र सबैभन्दा संकटग्रस्त छ। विश्वविद्यालयको पढाइको स्तर दिनानुदिन गिर्दो छ। दैनिक जीवनका निम्ति अत्यावश्यक विषयमा अनुसन्धानमूलक अध्ययन हुन छाडेको छ। विश्वविद्यालयमा विद्यार्थी अध्ययनका निम्ति भन्दा प्रमाणपत्र प्राप्तिका निम्ति मात्र पुग्न थालेका छन्। विद्यार्थी पनि अध्ययनका लागिभन्दा आफूले बोकेको राजनीतिक विश्वास स्थापित गर्नमात्र त्यहाँ हाजिर हुन थालेका छन्। त्यही भएर हजुरबा/हजुरआमा हुने बेलासम्म 'विद्यार्थी' विश्वविद्यालयमा रहन्छन् र भिडन्तको राजनीति गराइरहन्छन्।

यो स्थिति बुझेर शिक्षाविद्हरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अनावश्यक रहेको बताउँदै आएका छन्। हिजो एकतन्त्रीय शासन व्यवस्था हुँदा राजनीतिक निकासको बाटो नभएका बेला तत्कालीन प्रतिबन्धित दलहरूले विद्यार्थी र शिक्षक राजनीतिमार्फत स्वतन्त्रता आन्दोलन चलाएका थिए। कुनै विकल्प नभएका बेला विद्यार्थी राजनीति उपयोग गर्नु केही हदसम्म जायज हुन सक्ला। तर, मुलुक लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरिसकेपछि पनि विद्यार्थी राजनीतिलाई आफ्नो दलको स्वार्थ साधनाको विषय बनाउनु अनुचित हो। विद्यार्थी कल्याणका निम्ति यस्तो संगठन चाहिन्छ भने पनि त्यो निर्दलीय प्रकृतिको हुनुपर्छ। हुँदाहुँदा हाम्रा दलहरू स्थानीय तहमा समेत निर्दलीय निर्वाचन गर्ने विषयमा छलफल गरिरहेका छन्। तर, विश्वविद्यालयलाई भने दलीय अखडा बनाउनु हुन्न भन्ने उनीहरूलाई लागिसकेको छैन। वास्तवमा दलहरूले विद्यार्थीलाई दलीय गतिविधिमा लगाएर दुरुपयोग गरेका हुन्। यो परिस्थिति बुझ्न सक्ने अवस्थामा विद्यार्थी आफैँ छैनन्। दलहरू भने विद्यार्थीको बुइ चढेर राजनीति अघि बढाइरहेका छन्। विद्यार्थीले आफैँ पनि यस किसिमका गतिविधिमा संलग्न हुनु हुन्न भनी बुझ्ने बेला भइसकेको छ। कुनै दलविशेषको हतियार किन हुने? बरु प्राज्ञिक उन्नयनका निम्ति उनीहरूले दल र सरकारलाई दबाब दिन सक्छन्। स्कुल/कलेजको अवस्था हेर्ने हो भने विरक्त लाग्छ। अध्ययन/अध्यापनका निम्ति उचित वातावरण छैन। प्रयोगशाला र पुस्तकालयको यथोचित व्यवस्था हुन सकेको छैन। तर, तिनै विद्यार्थीले स्ववियु निर्वाचनका लागि माउ दलसँग करोड रुपैयाँसम्म माग गरेको समाचार आउनुले चरम विकृति उजागर गरिरहेको छ। विश्वविद्यालयमा भिडन्त गर्ने र आगो लगाउने विध्वंशात्मक 'बाँदरे प्रवृत्ति' बाट आफूलाई विद्यार्थीले मुक्त गरून्। यो विकृति अन्त्यका लागि विश्वविद्यालयबाट स्ववियु खारेज गर्नेतिर सरोकारवाला निकाय लागून्।

प्रकाशित: १६ फाल्गुन २०७३ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App