८ वैशाख २०८१ शनिबार
अर्थ

विदेशी लगानीलाई पाँच वर्ष आयकर छुट

काठमाडौं- सरकारले विदेशी लगानीकर्तालाई पाँच वर्षसम्मको आयकर छुट दिने तयारी गरेको छ। देशमा विदेशी लगानी आकर्षण गर्न भन्दै विदेशी लगानी भएका व्यवसायलाई उक्त छुट दिने तयारी गरेको हो।

सरकारले यसअघि विशेष आर्थिक क्षेत्र भित्र सञ्चालन हुने कुनै पनि उद्योगलाई आयकरमा छुटको प्रावधान गरिसकेको छ। सेजमा जस्तै विदेशबाट आउने लगानीमा सञ्चालन हुने उद्योग, व्यवसायमा पनि पाँच वर्षको लागि आयकरमा छुट दिन लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए।

विदेशी लगानी भिœयाउने उद्देश्यले फागुन १९ र २० गते गर्न लागेको नेपाल लगानी सम्मेलनबारे जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री जोशीले भने, 'विदेशी लगानी आकर्षण गर्न पाँच वर्ष आयकर छुटसहित विभिन्न सुविधा ल्याउन लागिएको छ।' नयाँ बन्न लागेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले आयकर छुटको व्यवस्था गर्न लागेको समेत उनले बताए। 

उद्योग मन्त्रालयले लगानी बोर्ड, योजना आयोग, निजी क्षेत्रको सहयोगमा गर्न लागेको लगानी सम्मेलनमा दुई दर्जन मुलुकका झन्डै दुई सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले सहभागी हुने प्रतिबद्धता जनाइसेको मन्त्री जोशीले बताए। त्यसैगरी, झन्डै तीन सय स्वदेशी लगानीकर्ता, नीति निर्माता तथा विज्ञहरू सहित ६ सयभन्दा धेरै सहभागी हुँदैछन्।

चीनबाट ८९, भारतबाट २१, श्रीलंकाबाट २०, मलेसियाबाट १४, जापानबाट १३, क्यानडाबाट १२, हङकङबाट १० सहित २३ देशबाट दुई सय ३५ प्रतिनिधि सम्मेलनमा सहभागी हुने निश्चित भएको छ।

सम्मेलनमा प्रमुख वक्ताका रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली र एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्वानको सहभागिता रहने मन्त्री जोशीले जानकारी गराए।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायत क्षेत्रसँग सम्बन्धित विभिन्न नौ वटा विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ। साथै, लगानीका प्रमुख सम्भावना भएका क्षेत्रहरू क्षेत्रगत विवरण नेपाल सरकारका तर्फबाट प्रस्तुत गरिने कार्यक्रम समेत छ।

नेपालमा लगानीको सम्भावना रहेका मुख्य आठ क्षेत्रलाई केन्द्रमा राखेर सम्मेलनमा प्रस्तुति तथा छलफल गरिने छ। विदेशी लगानी आउन सक्ने भनेर छनोट गरिएका क्षेत्रहरूमा कृषि, बैंकिङ तथा फाइनान्स, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उत्पादनमूलक क्षेत्र, खनिज तथा खानी, पर्यटन र यातायात क्षेत्र छन्।

नेपालमा संविधान जारी भएपछि देशको लक्ष्य आर्थिक उन्नति गर्नु भएकाले विदेशीले अब नेपालमा लगानी गर्न विश्वस्त वातावरण भएको मन्त्री जोशीले बताए। 'अब नेपालमा शान्तिपूर्ण वातावरणमा लगानी गर्ने अवसर भएको, जोश जाँगर भएका युवाहरू रहेकाले नेपालमा लगानी गर्न विदेशीलाई उपयुक्त,' मन्त्री जोशीले भने।

प्रकाशित: १६ फाल्गुन २०७३ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App