१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मानव संशाधनको अभावमा आयोजना ढिलो : एडिबी

काठमाडौं- एसियाली विकास बैंक (एडिबी) ले समयमै आयोजना सम्पन्न गर्न नेपालमा मानव संशाधनको अभाव रहेको जनाएको छ। 'एक त मानव संशाधनको अभाव छ त्यसमाथि पनि दलीय भागबण्डाको कारण नेपालका विकासका आयोजनाहरु समयमै सम्पन्न हुन सकेका छैनन,' आइतबार एडिबीले आयोजना गरेको त्रिपक्षीय पोर्टफोलियो समीक्षा कार्यक्रममा सो संस्थाका देशीय निर्देशक किनिची योकोयामाले भने।

आयोजनाका प्रमुखहरु दलीय भागबण्डाका आधारमा चयन हुने गरेको भन्दै उनले यसलाई रोक्न र कार्यक्षमताको आधारमा जिम्मेवारी दिन आग्रह पनि गरे। उनका अनुसार आयोजना प्रमुखहरु दलीय भागबण्डाभन्दा पनि कार्यक्षमताका आधारमा चयन भए आयोजना समयमा नै सम्पन्न गर्न मद्दत पुग्नेछ। 'समयमा काम सम्पन्न गर्न तथाकथित भागबण्डाको आधारमा आयोजनामा कर्मचारी चयन गर्ने काम जसरी भए पनि रोक्नुपर्छ,' उनले थपे।

स्थानीयको माग तथा खरिद सम्झौताका कारण पनि आयोजना समयमै सम्पन्न गर्न कठिन भएको भन्दै उनले बिगत वर्षहरुको तुलनामा विकासका आयोजनाको कार्यप्रगति २०१६ मा केही सुधार देखिएको बताए।

'परियोजना कार्यान्वयनमा हुने अवरोध र ढिलाइबारे हामीले धेरै कोणबाट समीक्षा गर्‍यौं' भन्दै योकोहामाले परियोजनाको सबल कार्यान्वयनको सुरुवात त्यसको नेतृत्वबाट नै हुने बताए। क्षमतावान परियोजना प्रमुख नियुक्त भएकै कारण सन् २०१६ मा साउथ एसिया सबरिजनल इकोनोमिक कोअपरेसन (सासेक) पावर सिस्टमको विस्तार, मेलम्ची खानेपानी आयोजना एवं यातायात सम्बद्ध परियोजनाले राम्रो प्रगति हासिल गरेको पनि उनले बताए।

लक्ष्य अनुसार नभए पनि आयोजनामा ठेक्का लगाउने तथा निकासा गरिएको रकम हालसम्मकै उच्च रहेको पनि उनले बताए।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले परियोजना कार्यान्वयनमा तीव्रता दिन आयोजना प्रमुखहरुले स्थानीय तहदेखि केन्›सम्मका समस्या पहिचान गरी समाधानको बाटो पत्ता लगाउनुपर्ने बताए।

टिपिआरएममा एडिबी अन्तर्गतका परियोजनाले गत वर्ष हासिल गरेको उपलब्धि समीक्षा र यो वर्षका लागि कार्ययोजना तय गर्ने यो बैैठक आइतबार सुरु भएर सोमबारसम्म चल्नेछ।

उक्त अवसरमा एडिबीले नेपालमा परियोजना सुरु गरेयताकै ठूलो उपलब्धि सन् २०१६ मा हासिल भएको नायब महानिर्देशक दिवेश शरणले बताए। 'सन् २०१६ नेपालमा एडिबीको कुल ३५ करोड ९० लाख अमेरिकी डलरको बजेट रहेकोमा २० करोड २० लाख रुपैयाँ विनियोजन भएको छ,' उनले भने, 'यो दुवै तथ्यांक नेपालमा एडिबीका परियोजना सुरु भएपछिको उच्च हो।'

तथापि नेपालमा परियोजना सम्पन्न गर्न धेरै चुनौती रहेको र यस बैठकले ठोस समस्या निर्क्यौल गरी समाधानको उपाय फेला पार्नेमा आफू आशावादी रहेको उनले बताए।

कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्गतको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले आयोजना सुरु गर्नुअघि आवश्यक तयारी नभएको भन्दै समयमै सम्पन्न नभएका आयोजनाको अध्ययन गर्दा निर्माण सुरु गर्नुअघि आवश्यक तयारी नभएको देखिएको बताए।

'अहिले पनि अयोजना निर्माणका क्रममा जग्गा खरिदमा स्थानीयको समस्या जस्ताको तस्तै छ,' उनले भने, 'आयोजना सुरु गर्नुअघि स्थानीयको समस्या सल्टाउन आवश्यक तयारी हुन सकेको छैन।'

विभिन्न आयोजनाका ठेक्का लिएका ठेकेदारले अन्य स–साना ठेकेदारलाई दिने चलन अझै छ भन्दै उनले आयोजना हात पारेको ठेकेदार नै नचिन्ने स्थिति आएको बताए। साथै खरिद प्रक्रिया धेरै लामो भएको कारण पनि आयोजनाको लागत तथा समय बढेको अर्यालले बताए। उक्त अवसरमा एडिबीका गत वर्षका उत्कृष्ट परियोजनालाई पुरस्कार पनि वितरण गरिएको थियो।

प्रकाशित: १६ फाल्गुन २०७३ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App