१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गाउँ पसे नेता

खोटाङ- निर्वाचन मिति घोषणासँगै खोटाङका राजनीतिक दल सक्रिय बनेका छन्। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दलले चुनाव केन्द्रित गतिविधि तीव्र पारेका छन्। पार्टीको विभिन्न आमसभा, बैठक तथा भेटघाटमार्फत मतदातालाई प्रभावमा राख्दै आएका दलले निर्वाचन मिति घोषणा भएलगत्तै शक्ति, क्षमता र हैसियतअनुसार चुनावी अभियान बाक्लो बनाएका छन्।

निर्वाचन प्रयोजनकै लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका एमाले, माओवादी केन्द्र, माले, कांग्रेस, राप्रपा, नयाँ शक्ति, संघीय समाजवादी फोरम, माले–जनसमाजवादी, चुरेभाबर लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन र खम्बुवान राष्ट्रिय मोर्चामध्ये कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलका नेता संगठन विस्तार तथा सुदृढीकरण अभियान लिएर गाउँ पसेका छन्। एक नगरपालिका र ७२ गाविस रहेको खोटाङमा आफ्नो पक्षमा जनमत सिर्जना गर्दै परिणाम हात पार्ने दाउमा ठूला दल चुनाव केन्द्रित गतिविधिमा लागे पनि साना दल भने चुनावी रणनीति तयार पार्न व्यस्त छन्।

कतिपयले मौखिक रूपमा विकासे योजनासमेत बाँड्न थालेका छन्। प्रायः  सदरमुकाम दिक्तेलमा देखिने जिल्ला तहका नेताकार्यकर्ता अहिले कार्यक्रम बनाएर गाउँगाउँ पुगेका छन्। सर्वसाधारण पनि २०५४ साल यता आफ्नो नेता चुन्न नपाएको भोक मेटाउन निर्वाचनमा उत्साहित देखिएका छन्।

संविधान कार्यान्वयनको पहिलो खुडि्कलोका रूपमा समेत निर्वाचन महŒवपूर्ण रहेको पूर्वसांसद कुलप्रसाद फुयाँलले बताए। 'पहिलो त यसले संविधान कार्यान्वयनको ग्यारेन्टी गर्छ,' फुयाँलले भने, 'दोस्रो कर्मचारीबाट भएका हालसम्मका काम अब जनप्रतिनिधिबाट हुनेछ।'

यस्तो छ दलको चुनावी गतिविधि

कांग्रेस खोटाङले फागुन ११ गते क्षेत्र नम्बर १ को बाक्सिला र १३ गते क्षेत्र नम्बर २ को दोर्पाचिउरीडाँडामा निर्वाचन केन्द्रित बृहत् जनजागरणसभा गरेको छ। पार्टीका जिल्ला तहका सबै पक्षका नेताको उपस्थिति रहेका कारण बाक्सिलाको जनजागरणसभा पार्टीको एकता सन्देश दिनसमेत सफल भएको कांग्रेसका संगठन विभाग प्रमुख समीर राईले बताए। 'अहिलेका सबै कार्यक्रम निर्वाचन केन्द्रित नै हुन्', राईले भने, 'धैरै समयपछि मन पराएको उम्मेदवारलाई भोट हाल्न पाउने आशामा जनतामा पनि उत्साह देखिएको छ।' कांग्रेसको दुवै क्षेत्रमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ आएका थिए। चुनावको पूर्वतयारीस्वरूप प्रत्येक नेतालाई आआफ्नै गाउँ र क्षेत्रमा घरदैलो कार्यक्रम लिएर परिचालन गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ।

'संविधान कार्यान्वयनका लागि जनपरिचालन' अभियानको नाममा कात्तिकदेखि विभिन्न गतिविधि गर्दै आएको एमालेले मिति घोषणापछि आफ्नो कार्यक्रमलाई थप सशक्त बनाएको छ। निर्वाचनका माध्यमबाट आफ्नो पक्षमा परिणाम ल्याउन रणनीति तयार पार्न फागुन २४ गते सबै जनवर्गीय संगठनको भेला तय गरिएको एमाले जिल्ला उपाध्यक्ष रामप्रसाद दंगालले बताए। 'पहिल्यैदेखि हामी संविधान कार्यान्वयन एवं निर्वाचनको तयारीका विषयमा दबाबमूलक कार्यक्रम गर्दै आएका थियौं', उपाध्यक्ष दंगालले भने, 'निर्वाचन मिति घोषणापछि पार्टी पूर्ण रूपमा निर्वाचनमा लागेको छ।'

माओवादी केन्द्र पनि निर्वाचन तयारीमा जुटेको छ। केन्द्रले फागुन १४ गतेदेखि २१ गतेसम्मका लागि सहिद सप्ताह सुरु गरेको छ। माओवादी केन्द्रकी नेत्री जयपुरी घर्तीले क्षेत्र नम्बर २ को डाँडागाउँबाट उद्घाटन गरेको सहिद सप्ताह क्षेत्र नम्बर १ को उत्तरी गाविस ऐंसेलुखर्कमा टुंगिने नेता सुरेश राईले बताए। 'निर्वाचनमा पार्टी नजाने भन्ने कुरै भएन,' उनले भने, 'सहिद सप्ताहका क्रममा गाउँ सम्मेलन, पार्टी सुढृढीकरणलगायतका गतिविधि हुन्छ।' हाल भइरहेको गाउँ सम्मेलनको 'ब्यानर' मा चुनावी अभियान सञ्चालन भइरहेको उनले बताए।

राप्रपा खोटाङ पनि निर्वाचनमा होमिएको छ। निर्वाचनका लागि गतिविधि सञ्चालन गर्न जिल्ला कमिटिको बैठक बोलाएर जिम्मेवारी बाँडफाँड गर्ने तयारी भइरहेको राप्रपाका अध्यक्ष जीवन श्रेष्ठले बताए। जिल्लामा राप्रपाको संगठन विस्तार भइरहेको छ।

संगठन विस्तारमा व्यस्त संघीय समाजवादी फोरम भने संविधान संशोधन भएमात्र निर्वाचनमा सहभागी हुने पक्षमा छ। 'हामी निर्वाचन विरोधी होइनौं', संघीय समाजवादी फोरमका अध्यक्ष नवीन राईले भने, 'समान प्रतिस्पर्धाका लागि संविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो माग हो।'

माले पनि क्षमताले भ्याएसम्म निर्वाचनलाई सदुपयोग गर्ने तयारीमा जुटेको छ। प्रचार–प्रसार तथा आफ्नो क्षेत्रमा प्रभाव पार्न सक्ने उम्मेदवार तयार पार्नमा केन्द्रित रहेको पार्टीले जनाएको छ। खम्बुवान राष्ट्रिय मोर्चा पनि पूरानो गाउँ कार्य समिति क्रियाशील गराउने र संगठन नभएका ठाउँमा संगठन बनाउने अभियानमा जुटेको छ। यसकै लागि पार्टीका प्रवक्ता नरेन्द्र थिन्ब्रहाङ शनिबार खोटाङ आएको मोर्चाका जिल्ला अध्यक्ष तुलसी तिलुङ खम्बूले बताए।

दलका अधिकांश नेता आफ्नो दरिलो उपस्थितिका लागि रणनीतिका साथ गतिविधि सञ्चालन गरिरहेका छन्।

प्रकाशित: १७ फाल्गुन २०७३ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App