coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कोइराला डक्ट्रिनको निरन्तरता

गिरिजाप्रसाद कोइरालाको नाम उच्चारणबिना बहुदलीय प्रजातन्त्रको विश्लेषण पूरा हुन सक्दैन। २०४६ सालमा दलीय व्यवस्थाको पुनरागमनपछि सम्पन्न संसदीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमत पाएपछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइराला मृत्युपर्यन्त नेपालको राजनीतिक क्षितिजमा निर्णायक स्थानमा रहे। समकालीन विश्व राजनीतिज्ञभन्दा पृथक, राजनीतिक दर्शन तथा आदर्शले गिरिजाप्रसाद कोइराला मुलुकको राजनीतिक मियोका रूपमा स्थापित भएका होइनन् बरु आफूलाई समयानुकूल परिवर्तन गर्ने स्वभावले उनी शक्तिशाली राजनीतिज्ञ बने। नेपाली कांग्रेसले संसद्मा बहुमत हासिल गरेका बखत माले, मण्डले र मसालेलाई एकै देख्ने गिरिजाप्रसाद कोइरालाको मान्यतामा २०५१ सालको संसदीय निर्वाचनमा कांग्रेस दोस्रो भएपछि १८० डिग्रीको परिवर्तन आयो। मण्डलेका नाइके सूर्यबहादुर थापालाई नेपाली कांग्रेसका सभापति गिरिजाप्रसादले प्रधानमन्त्रीका रूपमा वरणमात्र गरेनन्, बरु विगतमा आफूले बारम्बार तिरस्कार गरेको (ए)मालेको सहयोगमा आफू प्रधानमन्त्री बन्नसमेत भ्याए।

राजनीतिक निष्ठामा अडिग हुँदा गणेशमान, कृष्णप्रसाद तथा मनमोहन अधिकारी बनिने तर मूल्य र मान्यतालाई तिलाञ्जली दिएर व्यक्तिगत स्थार्थमा लागे गिरिजाप्रसाद तथा कमल थापा बन्न सकिने नेपाली दलीय व्यवस्थाले देखाएको बाटो हो। दुर्भाग्यवस नेपाली राजनीतिमा सबैका आदर्श गिरिजा र कमल देखिए।

स्वयं सरकारको नेतृत्व गरेका बखत सेना परिचालन गरी रोल्पाको होलेरीमा माओवादीलाई एकै चिहान पार्ने योजनामा राजा असहमत भएपछि कोइरालाले कसरी आफ्नो राजनीतिक आदर्शलाई तिलान्जली दिए अनि मसालको आधुनिक स्वरूप नेकपा माओवादीलाई रेड कार्पेट ओछ्याएर स्वागत गरे, सबैले देखेकै हो। मुलुकको दीर्घकालीन हितमा सोच्नुको बदला जीवनको उत्तरार्धमा राष्ट्रपति बन्ने अभिलाषामा माओवादीलाई प्रसन्न पार्न गिरिजाबाबुले मुलुकलाई कसरी संघीयता तथा धर्म निरपेक्षताको दलदलमा फसाए भन्ने कुराको अनुभूति भयो नै। अफ्रिकी नेता नेल्सन मन्डेलाले फरक सन्दर्भमा भनेका 'तिमीले हावाको बहाव परिवर्तन गर्न सक्दैनौँ तसर्थ छतरीको दिशा परिवर्तन गर' अभिव्यक्तिलाई गिरिजाप्रसादले आफ्नो राजनीतिक मार्गदर्शनका रूपमा माने अनि राजनीतिलाई आफ्नो व्यक्तिगत शुभलाभमा उपयोग गरे। आफ्नो राजनीतिक आदर्शमा अडिग रहेर असान्दर्भिक हुनुभन्दा आफूलाई समयानुकूल परिवर्तन गर्दै निर्णायक स्थानमा बस्नु गिरिजाप्रसादको राजनीतिक डक्ट्रिन देखियो।

कमल थापा पञ्चायती व्यवस्थाका चलायमान खेलाडी हुन्। प्रजातन्त्रको आगमनपछि राष्ट्रिय प्रजातन्त्रको राजनीति गर्न पुगे उनी। शेरबहादुरको सरकार अपदस्थ भई एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्दा मन्त्री भए कमल थापा। तर चन्द सरकारमा मन्त्री बहाली छँदाछँदै कमल थापा लोकेन्द्र बहादुरलाई अपदस्थ गरी कांग्रेसको समर्थनमा सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन गर्न क्रियाशील भए। प्रजातान्त्रिक संस्कारविपरित आफैँ सम्मिलित सरकार ढाल्ने संस्कारलाई 'कमल थापा प्रवृत्ति' नामाकरण गरियो। पछि सूर्यबहादुरको सरकार गठन हुँदा कमल थापाको अझ पदोन्नति भयो। पछिल्लो दिनमा ज्ञानेन्द्रले गैरप्रजातान्त्रिक विधिमार्फत सत्ता हातमा लिएपछि सबै दल शाही कदमको विरोधमा उत्रिए। राप्रपासमेत शाही कमदको विरोधमा उत्रिएपछि राजा ज्ञानेन्द्रलाई सहयोग गर्दा भविष्यमा आफ्नो भलो हुने ठानीे आफ्नो पुरानो पार्टी फुटाएर आफ्नै नेतृत्वमा राप्रपा नेपाल नामक नवीन दल गठन गरे। नयाँ दलको अध्यक्षको हैसियतले कमल थापा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गृहमन्त्री बने। सम्पूर्ण राजनीतिक दल विपरित हुँदाहँुदै शाही कालमा स्थानीय चुनाव गराउने कमल थापा त्यसबेला सबै दलको तिरष्कारका पात्र थिए। तर तिनै निन्दनीय व्यक्तिले नेतृत्व गरेको राप्रपा नेपालमा हिन्दु धर्मको जगेर्ना गर्ने उद्देश्यसहित चुनावमा भाग लियो अनि संविधानसभाको दोस्रो निर्वाचनमा चौथो राजनीतिक शक्तिका रूपमा स्थापित भयो। थापाको पार्टीले आकार बढाएपछि अस्तित्व जगेर्ना गर्नसमेत विगतका पञ्चहरुले नेतृत्व गरेका पार्टीहरू एकीकृत हुनु उनीहरुको बाध्यता बन्यो। र, गत हप्ता सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनमा कमल थापा अध्यक्ष बने। आफ्नो निहित स्थार्थलाई केन्द्रमा राख्दै राजनीतिक यात्रालाई निरन्तरता दिने कमल थापा नेपालको राजनीतिमा स्थापित भए।

आफ्नो पार्टीले संसद्मा बहुमत ल्याउँदा ल्याउँदै व्यक्तिगत स्वार्थमा प्रतिनिधिसभा विघटन गर्ने गिरिजाप्रसाद र राजाले प्रजातान्त्रिक संस्कारलाई बलात्कार गर्दै शासन गर्दासमेत मन्त्री हुने लोभमा पार्टी फुटाउने कमल थापा नेपाली राजनीतिका स्थायी खेलाडी देखिए। उनीहरु राजनीतिमा स्थापित हुनुको मुख्य कारण उनीहरुको समयानुकूलको राजनीतिक परिवर्तन गर्ने संस्कार हो भन्दा अन्यथा नहोला। राजनीतिक आदर्शले पुजनीय बन्न सकिन्छ तर शासन गर्न सकिन्न भन्ने देखियो। राजनीतिक निष्ठामा अडिग हँुदा गणेशमान, कृष्णप्रसाद तथा मनमोहन अधिकारी बनिने तर मूल्य र मान्यतालाई तिलाञ्जली दिएर व्यक्तिगत स्थार्थमा लागे गिरिजाप्रसाद तथा कमल थापा बन्न सकिने नेपाली दलीय व्यवस्थाले देखाएको बाटो हो। दुर्भाग्यवस नेपाली राजनीतिमा सबैका आदर्श गिरिजा र थापा देखिए।

गिरिजाप्रसाद कोइराला भिन्नभिन्न दलीय समीकरणमा केबल चार पटक प्रधानमन्त्री मात्र बनेनन् बरु विदेशमा घरजम गरेर बसेकी आफ्नी छोरी सुजातालाई नेपाल बोलाएर उपप्रधानमन्त्रीसम्म बनाउन सफल भए। गिरिजाकै राजनीतिक सिको गर्ने राजनीतिज्ञ धेरै देखिए। रामवरण यादव मुलुकको प्रथम राष्ट्रपति बनेर इतिहास बनाए। तर आफ्नो परिवारलाई राजनीतिक विरासत सुम्पन नसक्ने हो भने आफ्नो पदावधिको समाप्तिसँगै आफ्नो इतिहास सकिने ठाने अनि डा. यादवले अरवमा डाक्टरी पेशा गरिराखेका पुत्रलाई नेपाल बोलाएर राजनीतिमा हुले। पहाड र तराईबीच तिक्तता पैदा भएको वर्तमान अवस्थामा प्रथम राष्ट्रपति एवं शिक्षित व्यक्तित्व डा. रामवरण यादवले मधेस–हिमालको सेतुको भूमिका निर्वाह गर्दै मुलुकलाई राजनीतिक निकास दिन निर्णायक भूमिका खेल्न सक्नुपर्ने थियो। तर प्रथम राष्ट्रपतिले छोरालाई कसरी मन्त्री बनाउने तथा उनलाई कसरी राजनीतिमा स्थापित गर्नेभन्दा अघि सोचेको देखिएन। परिवारलाई स्थापित गर्ने सवालमा कुनै पनि व्यक्तिले समन्याय गर्न नसक्ने महाभारतले पढाएको पाठ कलियुगमा असत्य कहाँ हुन्छ र? भिन्नभिन्न राजनीतिक समीकरण तथा राजाका अनुकम्पाले ३ पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा अर्को पल्ट प्रधानमन्त्री बन्न आतुर त छन् नै त्यसका अतिरिक्त गिरिजाबाबुकै पदचापमा हिँडेर आफ्नी धर्मपत्नी आरजुलाई समानुपातिक सभासद्बाट पदोन्नति गरी राजनीतिक अग्राधिकार दिन आतुर देखिए। आजन्म कांग्रेसको राजनीति गरेका विजय गच्छदार र महन्थ ठाकुरले कति सजिलै तराई आन्दोलनको ज्वारभाटा देख्नेबित्तिकै राजनीतिक तर मार्नकै लागि मधेसवादी दलको नेतृत्व गर्न पुगे, सबैले देखेकै हो।

माओवादी आन्दोलनका क्रममा १७ हजार नेपाली मारिए। त्यसबेला गरिब जनताका छोराछोरी मारिँदा आफ्नो आन्दोलन सफलतामा पुगेको उद्घोष गर्थे बाबुराम भट्टराई। केही राम्रो गरिहाल्ला कि भन्ने आशामा निर्दोष नागरिक मार्दासमेत कांग्रेस र एमालेलाई पाखा लगाएर जनताले माओवादीलाई भोट दिएर प्रथम संविधानसभामा पहिलो दल बनाए। माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम देशको प्रधानमन्त्री बने। आन्दोलनका बेला सप्ताह वाचन गर्दागर्दै मारिएका पं. नारायण पोखरेलको हत्याको औचित्य पुष्टि गर्ने बाबुराम भट्टराई आफ्नी आमालाई लिएर मनकामनाको मन्दिरमा पशु बलि दिन पुगे। शिक्षाको विरोध गर्दै जनतालाई भड्काएर निर्दोष शिक्षकलाई मार्न उक्साउने नेताहरुले आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाएको यथार्थ बाहिर आयो। त्यसमाथि भूमिगतकालमा भिन्न विधिबाट आर्जित रकममा नेताहरुले कब्जा जमाएको खबर सार्वजनिक भयो। हँुदाहँुदा आओवादीबाट मन्त्री भएका नेताहरु आर्थिकरूपले अन्यभन्दा अझ बढी भ्रष्ट देखिएपछि जनतामा माओवादीप्रतिको विश्वास स्खलित भयो। दोस्रो संविधान सभासम्म आइपुग्दा माओवादी तेस्रो दल बन्न पुग्यो।

निर्वाचनमा दलको आयतन घटेपछि जनमत नमान्ने भन्नेसम्मको कुरा गरे नेता बाबुरामले। धेरै रस्सातानीपछि अन्त्यमा दोस्रो संविधानसभाले मुलुकको संविधान जारी गर्‍यो। संविधान जारी हुनेबित्तिकै डोनाल्ड ट्रम्प शैलीमा डा. भट्टराईले सामाजिक सञ्जालमा माओवादीका कारण संविधान जारी भएको मात्र भनेनन बरु त्यसको श्रेय आफूले लिनसमेत पछि परेनन्। तर संविधान जारी हुनेबित्तिकै मधेस आन्दोलन सुरु भयो। ज्ञानेन्द्रले सत्ता हातमा लिनेबित्तिकै राजा सफल भए ठूलो माछा हात लाग्ने आकलनमा कमल थापाले राप्रपाबाट आफूलाई पृथक गरेझँै मधेस आन्दोलनको आयतन बढेपछि एक्कासि राष्ट्रिय नेता हुने लोभमा बाबुरामले एमाओवादी छाडे। विद्यार्थीकालदेखि नै वामराजनीतिमा होमिँदै हजारौँको ज्यान लिने माओवादी आन्दोलनको आर्किटेक्ट भएको दाबी गर्ने बाबुरामले सरक्क माओवादी छाडेर अर्को राजनीतिक दल खोल्नेबित्तिकै जनताले विश्वास गर्ने देखिन्न। तर, उक्त कदम कमल थापा पथमा उनको आगमन भने पक्कै हो। भिन्नभिन्न दल तथा मार्ग परिवर्तन गर्दै अन्यमा सफलता हासिल गरेका कमल थापा र अनवरत लागिरहने हो भने आदर्शलाई तिलाञ्जली दिए पनि राजनीतिमा सफल होइन्छ भन्ने गिरिजा डक्ट्रिनले बाबुरामलाई आकर्षित गरेको देखियो। कोइराला र थापाको सफलतालाई आधार मान्ने हो भने आगामी दिनमा डा. भट्टराई देशको राजनीतिक क्षितिजमा फेरि नउदाउलान् भन्न सकिन्न।

२०४६ सालको परिवर्तनपछिका नेताहरु अहिले पनि राजनीतिमा क्रियाशील छन्। शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, झलनाथ, बाबुराम, प्रचण्ड सबैको शासन व्यवस्था देखियो। फेरि पनि उनीहरुमध्येबाटै अर्को प्रधानमन्त्री बन्ने सम्भाव्यता देखिन्छ। विगतमा प्रमुख कार्यकारीको हैसियतमा उनीहरुले गरेको कुनै पनि निर्णयले मुलुकलाई नवीन दिशा दिएको देखिएन। प्रचण्डपछिको प्रधानमन्त्री बन्न देउवा तम्तयार भएर बसेका छन् तर कार्यकारीको हैसियतमा आफूले के/कति नवीन काम गर्ने भन्ने खाकासमेत छैन उनको। ३ पल्ट प्रधानमन्त्री भएका देउवाले विगतमा त केही उल्लेख्य काम गरेनन् भने अब केही गर्लान् भन्ने आशा गर्ने अवस्था छैन। अहिलेको शासन व्यवस्थाले प्रधानमन्त्री बारम्बार परिवर्तन हुन्छन्, कार्यकारीको कुर्सीमा बारम्बार तिनै व्यक्ति दोहोरिन्छन्। तर, राजनीति यथास्थानमा रुमलिन्छ, देश विकासमा ब्रेक लाग्छ। तसर्थ देश विकासका लागि कार्यकारी नेतृत्व नयाँ व्यक्तिको हातमा पुग्नैपर्छ।

एकै व्यक्ति पदमा बारम्बार आसीन हँुदा देशको विकास हुने भए गिरिजाप्रसादको कार्यकाल देशको स्वर्ण युग हुने थियो। बारम्बार एकै व्यक्ति मन्त्री हँुदा मुलुकको उन्नति हुने भए रामशरण महतको कार्यकालमा मुलुकको अर्थतन्त्र लोभलाग्दो हुन्थ्यो। तर यथार्थमा त्यसको विपरित भएको देखियो। तसर्थ, मुलुकलाई नवीन दिशा दिन कुनै पनि व्यक्तिले एकै राजनीतिक पदमा एक पल्टभन्दा बढी आसीन हुन नपाउने कानुनी व्यवस्था गर्न आवश्यक देखियो। मन्त्री, प्रधानमन्त्री, पार्टी सभापतिलगायतका राजनीतिक पदमा कुनै पनि व्यक्ति दोहोर्‍याएर बस्न नपाउने व्यवस्था गर्न सके नवीन व्यक्तिको हातमा कार्यकारी पुग्ने थियो। नयाँ व्यक्ति कुर्सीमा पुग्दा नवीन विचार र ऊर्जा आउन सक्ने सम्भाव्यता रहन्छ। अहिलेको संवैधानिक व्यवस्थाले गिरिजाप्रसाद कोइराला र कमल थापा प्रवृत्तिलाई उत्साहित गर्ने र त्यस्तो प्रावधानले मुलुकलाई अधोगतितर्फ निर्देशित गर्ने हँुदा उपल्लो राजनीतिक पदमा कुनै पनि व्यक्ति दोहोर्‍याएर बस्न नपाउने गरी संविधानको संशोधन देशको हितमा देखियो। अहिलेको संविधान संशोधनको शृंखलामा उक्त पुरक विधान संशोधन मुलुकको हितमा हुन्थ्यो कि? देशलाई गिरिजाप्रसाद र कमल थापा जस्ता पात्रको खाँचो छ कि राजनेताको आवश्यकता छ? ध्यान दिउँ।

प्रकाशित: १७ फाल्गुन २०७३ ०५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App