क्रान्तिवीरको सपना

बुधबार, १८ फागुन २०७३, १५ : २२ प्रदीप नेपाल

प्रदीप नेपाल

जन्र्या बाउ अर्थात् ध्वजवीर राई । नेपाली मिलिसिया पल्टनको सुबेदारबाट अवकाश लिएको हुनाले नामै सुबेदार साप । थरी भनेको जिम्मेवारी । राई भनेको पगरी । खास थर वान्तवा । केही गाउँहरूका लागि सरकारको प्रतिनिधि । राजस्वको उठ्तिपुठ्ति मिलाउने ठूलो मान्छे ।
कान्छो अर्थात् रामप्रसाद राई । भरखर पन्ध्र वर्ष टेकेको । तीक्ष्ण बुद्धि । तर चकचके । फुर्तिलो तर आफ्नै मनको राजा ।

हुने बिरुवाको चिल्लो पात । सबैभन्दा पहिले बाउकै आँखामा चढ्यो कान्छो । टाठो बाठो । ध्वजवीरले कान्छालाई पढाउने मन गर्‍यो र मुरारी प्रसादलाई परिवार सहित खान बस्न दिएर कान्छालाई पढाउने अठोट ग¥यो । बाउ र गुरुले सोचे भन्दा चाँडो कान्छाले पढाइमा पनि प्रगति गर्‍यो।
‘जे पनि एकै पटकमा टिप्छ यो कान्छाले,’ यो गुरुको निष्कर्ष थियो,  ‘यो तीन वर्षमा मैले कुनै पाठ दोहोर्‍याउनु परेन ।’

ऊमेर पुगेपछि कान्छालाई पनि नेपाली मिलिसियामा भर्ना गरेर आपूm आरामले बस्ने सोचमा ध्वजवीर रमाइरहेको थियो । विश्वास थियो कान्छा माथि उसको ।

‘आफूले जन्माएको छोरो पनि नचिन्ने तँ कस्ती मान्छे ! कान्छो उड्या चरा झार्ने केटो हो । हक्की त छँदैछ । बाउ बाजेको नाम बेच्न पनि जान्दछ । गयो होला भोजपुर । फुपूको घर जिमिगाउँमा छ भन्ने थाहा पाएपछि पहिले पनि दुई पटक तेतै हान्निएको थियो । त्यसलाई भोजपुर बजारले मुहुनी लाएजस्तो छ ।’
आमाको मन ! मानेन तर ।

पाँच दिन पनि लागेन कान्छालाई घोडा कुदाउन । यामानको टारबारी थियो घर मुन्तिर । पुषको चिसो चिसो दिन । एक दिन सिक्न लाग्यो । पाँच दिनपछि काँठी कसेको घोडा चढेर टारबारीमा ओरदेखि परसम्म कुदेर कान्छाले चमत्कारै ग¥यो । तर फुच्चे कान्छालाई घोडा चढ्नकै सास्ती ! चन्द्रेको काँधमा टेकेर चढ्नु पथ्र्यो घोडा कान्छाले ।

‘एकपल्ट जाऊ न बरु भोजपुर । घोडामा हररर गएर आउने हो । यसपालि मन कस्तो कस्तो भै रा’ छ । केटो बिग्रेको छ । घरमा धामी राख्नु पर्दैन भन्छ । पुजापाठ पनि गर्न मान्दैन । घरमा सत्यनारायणको पुजा लाउन बस्यो भने फन्केर गाउँतिर हिँडी दिन्छ ।’
‘हाम्रो कान्छो हामीजस्तो छैन । तेल्ले के के ऊल्कापात गर्ने हो अहिले केही भन्न सकिँदैन । दुई दिन पख । जुवाईं पनि छुट्टीमा आ’छन् । म गैदिउँला तेरा लागि भोजपुर बजार । मलाई त केही चिन्ता लाग्या छैन ।’

भोजपुर ! पूर्व चार नम्बर माझकिराँतको सदरमुकाम । जसको घरमा जान आमाले करकर गर्दै थिइ त्यही घरको मान्छेले चिठी पठाएको थियो त्रिवेणीबाट ।

यता घरमा चिन्ताको छलफल चलिरहेको थियो ।
उता कान्छो चरी जसरी उडेर धरान पुगिसकेको थियो ।

त्रिवेणी ! पश्चिमको इन्द्रावती, सुनकोशी, तामाकोशी, लिखु, दुधकोशी मिलेर दुधकोशी नामाकरण गरिको पाँच नदी अनि पूर्वबाट आएको अरूण र तमोर गरी सात नदीको सङ्गम । पहाड मधेस गर्दा आरामले बास बस्न, खान पिउन पाइने फराकिलो ठाउँ ।
बमबहादुरले लेखेको थियो,
‘दाइ ध्वजवीर राईकै प्रणाम,
कान्छालाई त्रिवेणमा भेटें । मझिनी बैनीकोमा बसेको रहेछ । हिजो बेलुका आइपुगेको भन्थ्यो । कता जान्छौ भनेर सोधेको त अब तपाईँसँगै जान्छु पो भन्छ । केटो तगडा लाग्यो । बाह्रखरी पनि छिचोेलेको रहेछ । यत्तिको मान्छे अङ्ग्रेजी पल्टनमा सजिलै लाग्छ भनेर लिएर जाँदैछु । पीर नगर्नु । भाउजुलाई पनि पीर नगर्न भन्नु । केटा मान्छेले आफ्नै पौरख खानु पर्छ । उसमाथि म उतै छु । तीन वर्षमा जमादार बन्छ भन्ने मलाई विश्वास छ । अथवा क्लर्क, मास्टरै पो हुन्छ कि !’
उही बमबहादुर ।’
‘मने, आजै हिँडेको तँ त्रिवेणीबाट ?’
‘कान्छाहरू भात खाएर उता लागे । म यता लागें । आज धरान पुग्छौं भन्थे फुपाले ।’
‘लौ आमा, तेरो छोराको पत्तो लाग्यो । हामी भन्दा ठूलो पो हुने भो हाम्रो कान्छो ।’
तर पल्टनको ठूलो सानोसँग मतलव थिएन आमा रत्नमायालाई । पिरोलो थियो छोराको खबरको ।
‘मने, कान्छो उज्यालो त थियो ? पीर परेर खिस्रिक्क भएको त थिएन ?’
‘काकी पनि’ मनेले भन्यो, ‘हाम्रो कान्छो भाइ तेस्तो खिस्रिक्क पर्ने केटो हो र ! बाटा लाग्ने बेलामा भन्याथ्यो, ‘दाइ, बाउले त सबै कुरा बुझिहाल्नु हुन्छ तर आमा पिरिनु हुन्छ । आमालाई नपिरिन भन्दिनु । एक्लै हिँडेको थिएँ । फुपालाई बाटैमा भेटें । अब भर्ति लाग्ने कुरो पनि टुङ्गै भयो । छुट्टी मिल्ने बित्तिकै, कतै नअलमलिई म घर आउँछु । पल्टन भनेको जहाँको भए पनि पल्टन नै हो । बाउ र दाजुले नेपाली पल्टनमा काम गर्नु भयो । म चाहिँ बेलाइती पल्टनमा काम गरेर फर्किने भएँ ।’
रत्नमायाले नियालेर धनबहादुरलाई हेरी । के मेरो छोरो यसले भनेजस्तै विवेकी छ ? आपूm टाढा हुँदा आमा पिरिन्छे भनेर तेसले बुझेको छ ?
उसको मनले कान्छो छोरोको बाल्यकाल सम्झियो । कल्पना थिएन त्यो । त्यो थियो पूर्वस्मृति । सपना थिएन त्यो । त्यो थियो मायाको फेरोमा उनिएका सम्झना ।

... देब्रे पाखुरो दर्फरिएको थियो । अलि अलि रगत पनि चुहिएजस्तो देखिएको थियो ।
‘के भो कान्छा ? कसैसँग झगडा गरिस कि क्या हो ?’ आमाको माया पोखियो
‘होइन, घोडाले लडाइ दियो’ छोराले उत्तर दियो ।
‘कल्ले चढाई दियो घोडामा ?’
‘आफैं चढेको ?’
‘आफैँ ! कसरी आफैं चढिस् ?’
‘तल्लो बारीको गरामा डोर्‍याउँदै लगेर जगर समातेर चढेको । घुमाउन थालिहाल्यो । काँठी बाँधेको भए त लडाउन सक्ने  थिएन । पिठ्युँमा चढ्नै नपाई ड्याङ्ग लडाई दिइहाल्यो।’
तर आमाले गाली गरिन् छोरालाई ।
‘छोरा मान्छेको ज्यान ! यस्तै हो । म तेल र बेसार दलिदिन्छु’ आमाले भनेको सुनेर दङ्ग पर्‍यो रामप्रसाद। आमा बाबैले मज्जाले गोदलान् नगोदे पनि बेस्मारी हकार्लान् भन्ने ठानेको थियो कान्छाले । किनभने उसले ओरिपरिका परिवारमा यस्तो देखेको थियो।
‘अब बस् । तेल बेसार दले पछि घाउ बिसेक हुन्छ। बिसेक नहुन्जेल चुप लागेर बस् । चन्द्रेले घोडा स्याहार्छ। घाऊ बिसेक भएपछि म तेल्लाई अराउँला । रामरी सिकेपछि मात्रै कुदाउनु पर्छ घोडा।’

पाँच दिन पनि लागेन कान्छालाई घोडा कुदाउन । यामानको टारबारी थियो घर मुन्तिर । पुषको चिसो चिसो दिन । एक दिन सिक्न लाग्यो । पाँच दिनपछि काँठी कसेको घोडा चढेर टारबारीमा ओरदेखि परसम्म कुदेर कान्छाले चमत्कारै ग¥यो । तर फुच्चे कान्छालाई घोडा चढ्नकै सास्ती ! चन्द्रेको काँधमा टेकेर चढ्नु पथ्र्यो घोडा कान्छाले ।

वर्ष दिनमा घोडा चढेर डाँडाकाँडा घुम्ने भैसकेको थियो कान्छो ।
‘आमा, अब तारो हान्न सिक्छु है !’

छोराको कुरा सुनेर आमा छक्क परी । तेह्र वर्षमा टेकेको केटो । बन्दुक जति अग्लो पनि भएको छैन बन्दुक चलाउँछु भन्छ ।
‘बन्दुकको कुरो चाहिँ बाउसित गर् । बाउले हुन्छ भने मलाई क्यै छैन । तँलाई पनि पल्टनमा हाल्ने भन्दैथे बाउले । सकभर आफैँ सिकाउलान् ।’
थरी राईको घर । पल्टने सँस्कृति । बाउको आपत्ति किन हुन्थ्यो र ? महिना दिन पुग्दा नपुग्दै कान्छो बाउ जत्तिकै तारो हान्ने भैसकेको थियो ।
अलि अलि मात्रै पढालिखा भए पनि ध्वजवीर राई आफ्नो छोराको प्रतिभा चिन्थ्यो । पढाइ, घोढचढी र तारोको निशाना देखेपछि ध्वजवीरले कान्छोलाई पल्टनको हाकिम देख्न थाल्यो ।

र एक दिन भन्यो पनि ।
‘जर्नेकी आमा, कान्छाले हामी सबैलाई टप्ने भो । यति बाठो त हामी कोही थिएनौं । भन्न भ्या’ हुँदैन, टपक्क टिपिहाल्छ ।’
बुढाको कुरो सुनेर रत्नमायाको मन उज्यालो भयो । जे भए पनि आमाको प्यारो त कान्छै हुन्छ नि !

‘ब्रिटिश गभर्मेण्ट’ ले हाम्रो नेपाली भाइ र तिनको परिवारलाई सहज होस भनेर पूर्वको धरानमा क्याम्प खोल्ने निर्णय गरेको छ । धरानमा क्याम्प खुलिसकेको छ । तपाईं छोराको कागजपत्र सप्पै उतै पठाई सकेको छ ।’

‘क्लर्क’ को कुरा सुनेर प्रतिकृया बिहीन भएको ध्वजवीर राई फनक्क फर्किएर सिलिगुडीको बाटोबाट जोगबनी हुँदै धरान पुग्यो ।
दुइटा चिठी थिए ध्वजवीर राईका नाउँमा केरफ अस्थायी घोपा क्याम्प गरिएका ।

अर्थात, बाहिरको ठेगाना यस्तो थियो
सुबेदार ध्वजवीर राई
थरी, हतुवागढी
बासिखोरा
पूर्व चार नम्बर, माझकिराँत ।
मार्फत्, घोपा क्याम्प,
धरान ।

‘ए भाइ, हामीले अब यहीँ सम्पर्क गर्ने हो ?’
‘हजुर, पूर्वका पल्टनेहरूले यहीँ सम्पर्क गर्ने हो’ एकछिन ध्वजवीरको अनुहारमा हेरेर ‘क्लर्क’ले भन्यो, ‘थरी जस्तो मान्छे पनि पल्टने हुनु भा’ हो ?’
‘म नेपाल सरकारको सुबेदार हुँ’ ध्वजवीरले छाति ठोकेको भाकामा बोल्यो, ‘हामी गोराको पल्टनमा जागीर खाँदैनौ । मेरो जेठो छोरो जर्नसिंह राई नेपाल सरकारको बहालवाला सुबेदार हो । ध्वजवीरले नियालेर ’क्लर्क’ लाई हे¥यो र भन्यो ‘मेरो कान्छो छोरो अलिक चकचके छ । उसले गोरा पल्टनमा जाने रहर ग¥यो । केटाकेटीको रहर एकपल्ट पुगेर आओस् न त भनेको । खुटखबरै हरायो । चिठी सुरक्षित राखिदिएका रहेछौ । धन्यवाद छ तिमीलाई ।’

‘हजुरको छोराको नाम के होला !’ थरीको मान सुरक्षित राख्दै क्लर्कले भन्यो ।
‘रामप्रसाद राई ।’
‘ब्वोयमा हो ?’
‘१५ वर्ष लागेको थियो । ब्योइमै होला ।’
‘बमबहादुर जिमी राईको भर्ना हो ?’
‘हो ।’
‘गोरा साहवले छोड्दैन अब हजुरको छोरालाई ।’
‘तिमीले कसरी चिन्यौ मेरो छोरालाई ?’ अब छक्क पर्ने पालो थियो ध्वजवीरको ।
‘हजुर, मेरो घर, भोजपुर, दिङ्ला हो । बालागुरुको स्कूलमा सबै जातकाले पढन पाउने हुनाले मैले पनि बाह्रखरी छिचोलें । पल्टनतिर हान्निएँ । छ वर्ष त्यतै बिताएँ । पल्टनको चार पास पनि सक्याएँ । त्यसैले यहाँ धरानको क्याम्पमा ‘क्लर्क’ को काम पाएको हुँ । हजुरको छोरालाई मैले नै नाउँ टिपाएर पठाएको हुँ । बमबहादुर जिमी राईलाई मैले पल्टनमै चिनेको थिएँ  । उहाँ मेरो गुुरु पनि हो ।’
एकछिन त छक्क पर्‍यो ध्वजवीर राई ।
‘गोराले छोड्दैन भनेर तिमीले कसरी जान्यौ ?’
‘रामप्रसाद भाइलाई कुनै पनि कुरो दोहोर्‍याउनु पर्दैन रहेछ। एक्कै चोटीमा भनेजति सप्पैथोक टिप्ने । यस्तो मान्छेलाई किन छाड्थ्यो गोराले ! बेलायतै लैजान बेर छैन ।’

चिसो भयो ध्वजवीरको मन । ‘बेलायत जाने कुरो आफ्ना लागि गर्वको विषय भए पनि छोराकी आमालाई बुझाउन सक्ने उसको हिम्मत जागेन ।
जोगाएर खबर सुनाउनु पर्ने भयो’ ध्वजबीरले निर्णय ग¥यो, ‘रत्नमायाले छोराको पौरख बुझेकी छैन । गोरेले लाने भो भनेपछि मै लिन जान्छु मेरो छोरालाई, लौ हिँड भनिहाल्छे । तेरो छोरोको पद बढ्ने हुनाले अबको तीन वर्षपछि मात्र आउनेछ भनेर मिलाएर भन्नु पर्ला ।’
बल्ल उसलाई चिठी हेर्ने हेक्का जाग्यो । दुइटै चिठी उसका लागि सामान्य थिए । तर आमाका लागि छाति फुटाउने खालका थिए ।
बमबहादुरले लेखेको थियो,

... कान्छाको तिक्ष्ण बुद्धि देखेर विलेम सापले उसलाई कलकत्ता लगेका छन् । त्यहाँ कान्छाले तीन वर्ष कस्सेर पढाइ गर्नु पर्छ । अङ्ग्रेजी छिटछिटो टिपेको हुनाले विलेम सापले आफैंसँग राख्ने सोच बनाएका छन् । तेस्तो भयो भने तीन वर्षपछिको छुट्टीमा कान्छो, विलेम सापको छुट्टीसँग बेलायत जान्छ । बधाइ छ दाइ । भाउजुलाई सम्झाउनु होला । आमाको मायाले कान्छाको प्रगति नरोकियोस् । ’
कान्छाले लेखेको थियो,  

...बाउ आमाले पिर नगर्नु । म अहिले ब्वोइमा भर्ना भएको छु । तर म एकाध वर्षमै पल्टने हुन्छु र बेलायत जानु परेन भने पहिलो छुट्टीमा घर आउनेछु । विलियम साहवले मलाई आफ्नो निजी स्टाफमा राख्ने सोच बनाएका छन् । त्यस्तो भयो भने विलियम साहबसँगै मैले बेलायत जानु पर्ने हुन्छ । त्यस्तो अवस्थामा पहिलो छुट्टीमा म घर नआउन सक्छु । बाउले पल्टनको नियम कानून रामरी बुझनु भएको छ । आमालाई सहज हुने गरी कुरा राखिदिनु होला । तेरो छोराले लडाईंमा जानु पर्दैन, गोरा सापको बोली सिक्न दक्षिण भारत गएको छ भनिदिनु भए आमाको चित्त बुछ ।’
दुइटा चिठीले ध्वजवीरको मन र शरीर दुबैलाई हलुङ्गो बनाए ।
ध्वजवीर त्यही हलुङ्गो मन लिएर घर आइपुग्यो ।

(बुधबार विमोचन भएको प्रदीप नेपालद्वारा लिखित जननायक रामप्रसाद राईका जीवनीमा आधारित उपन्यास ‘क्रान्तिवीरको सपना’बाट)










यसमा तपाईको मत

Loading...

अन्य समाचार

बुँख्याचा मनको रंगशिल्प

बुँख्याचा मनको रंगशिल्प

'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न...

'निशा नभएको भए म डुबिसक्थेँ'

'निशा नभएको भए म डुबिसक्थेँ'

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो,...

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा...

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

Fixed Ad