coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

किवीमा हौसिँदै किसान

इलाम- साखेजुङ–७ का टेकबहादुर विष्टले किवी खेती गरेको करिब सात वर्ष भयो। सुरुमा यस खेतीबाट कति आम्दानी हुन्छ भन्ने उनलाई थाहा थिएन। त्यसैले उनले लगानीको हिसाबसमेत राखेनन्। तर, अपत्यारिलो ढंगले आम्दानी हुन थालेपछि विष्टमात्र होइन, जिल्लामै किवी खेती गर्ने किसानको संख्या बढेको छ।

 विष्टले किवीबाट राम्रो आम्दानी गरिरहेका छन्। उनको बारीमा अहिले किवी लटरम्म फलेको छ। विष्टले १५ रोपनीमा २ सय ३० बोट किवी लगाएका छन्। एउटै बोटमा राम्रो फल्दा २ सय किलोसम्म उत्पादन हुन्छ। १ किलोमा १४ देखि २० दाना चढ्छ। यसबाट उनलाई करिब ४५ लाख रुपैयाँ आम्दानी हुनेछ।  गत वर्ष यो बगानबाट उनले करिब ४० क्विन्टल किवी उत्पादन गरेका थिए। परार साल ६० क्विन्टल उत्पादन भएको थियो।

विष्टकी पत्नी यामकुमारी पनि किवीको स्याहारमा रातदिन खट्छिन्। उनका अनुसार किवीमा वर्ष बिराएर राम्रो फल लाग्छ। 'परार राम्रो उत्पादन थियो, पोहोर राम्रो भएन,' उनले भनिन्, 'अब कात्तिकमा उत्पादन हुँदा डेढसय क्विन्टल पुग्छ।' उनले प्रतिकिलो ३ सय रुपैयाँले बेच्दा त्यो उत्पादनबाट ४५ लाख रुपैयाँ आम्दानी हुने बताइन्। 'महिनाको दरले हिसाब गर्दा यो आम्दानी करिब ४ लाख रुपैयाँ हुन्छ,' उनले भनिन्, 'थोरै लगानीले यसरी किवीबाट आम्दानी हुन थालेपछि अलैंची, मकै, गहुँजस्ता सबै बाली मासेर यो खेती लगाएका हौं।' गत वर्ष पनि उनले सालाखाला प्रतिकिलोे ३ सय रुपैयाँले किवी बिक्री भएको बताइन्। खेती सुरु गरेको सात वर्षमा किवीका बिरुवा बेचेरमात्र २५ लाख रुपैयाँ कमाइ भएको विष्ट परिवारले बतायो।

 वैशाख–जेठमा चिचिला लाग्ने किवीको फल कात्तिकमा पाक्छ। वर्षमा एक सिजन उत्पादन हुने किवी कोल्डस्टोरमै नराख्दा पनि चैतसम्म टिक्ने भएकाले यसको व्यापार करिब ६ महिनासम्म राम्रो हुन्छ। पुस अन्तिमदेखि माघ दोस्रो सातासम्म यसको बिरुवा लगाउने मौसम हो। जिल्लामा किवी खेती सुरु हुँदा एउटै बिरुवाको मूल्य ६ सय रुपैयाँसम्म थियो। फल प्रतिकिलो ६ सय रुपैयाँसम्ममै बिक्री पनि हुन्थ्यो। अहिले यसको उत्पादन बढेकाले मूल्य घटेको विष्टले बताए। किवीकै आम्दानीले विष्टले गाउँमै किवी प्रशोधन उद्योग स्थापना गर्न जमिन किनेका छन्। झापा र काठमाडौंमा पनि घडेरी किनेको उनले बताए। उनका छोरा गंगाले विभिन्न निकायबाट किवी खेतीको तालिम लिएपछि यसको उत्पादन बढाउन सकिएको बताए। 'किवीको बोट कटिङमा ध्यान दिनसके राम्रो उत्पादन दिने रहेछ,' गाउँ, जिल्लामात्र नभई संखुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बुसमेत पुगेर किवीखेती तालिम दिइसकेका उनले भने, 'अहिले उत्पादित फल बिक्रीका लागि पनि समस्या छैन।' उनले चीनबाट हालै ३० हजार किलो किवीको माग भएको जानकारी दिए।

 साखेजुङमात्र नभएर अहिले जिल्लाभरकै किसान किवी खेतीमा लागेका छन्। साखेजुङमा गत वर्ष ३० हजार किलो किवी उत्पादन भएको थियो। जिल्ला कृषि विकास कार्यालयका अनुसार आव २०७०/०७१ मा जिल्लामा ४० मेटि्रक टन किवी उत्पादन भएको थियो। आव ०७१/०७२ मा भने यो बढेर ९६ मेटि्रक टन पुगेको थियो।

  नायब सुब्बास्तरको सरकारी सेवामा १७ वर्ष बिताएका सुलुबुङ–५, तालगाउँका तारामणि खतिवडाले २०६४ सालमा जागिर छाडेर जिल्लामा किवी खेती भिœयाएका हुन्। उनले पनि यसबाट वर्षमा साढे सात लाख रुपैयाँसम्म आम्दानी भएको बताए। खतिवडालेसुरु गरेको किवी खेती अहिले जिल्लाका दर्जनभन्दा बढी गाउँमा विस्तार भइसकेको छ। लहराजस्तो बोट हुने किवी जिल्लाका जमुना, सुम्बेक, माबु, पञ्चकन्या, साखेजुङ, इलाम नगरपालिकालगायत गाउँका किसानले व्यावसायिक खेती गरिरहेका छन्।

अमेरिका, बेलायतलगायत युरोपका विभिन्न देशमा महंगो मूल्यमा बिक्री हुने किवी खेतीबारेमा जाइका, इसिमोडलगायत संस्थासँग मिलेर अध्ययन गरेपछि मात्र नेपालमा व्यावसायिक उत्पादन सुरु गरिएको हो। अहिले पोखरा, काठमाडौं र स्थानीय बजारमा पनि यसको खेती गर्न थालिएको छ। दक्षिण चीनमा पत्ता लागेको किवी न्युजिल्यान्डको मुख्य खेती हो। झट्ट हेर्दा न्युजिल्यान्डको राष्ट्रिय चरा किवीजस्तै देखिने भएकाले यसको नाम पनि किवी राखिएको विभिन्न सन्दर्भग्रन्थमा भेटिन्छ।

कृषि विकास कार्यालयका अनुसार फ्रान्स, चिली, इटाली, जापान, क्यानडा, इरान, कम्बोडियालगायत देशमा किवीको माग बढी छ। समुद्री सतह ८ सयदेखि ३ हजार मिटर उचाइसम्म खेती गर्न सकिने किवीका लागि माटोको अम्लियपना ५ देखि साढे ६ सम्म आवश्यक रहेको विशेषज्ञ बताउँछन्। सबै प्रकारका पौष्टिक तत्व पाइने किवीलाई संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले 'फलहरूकै राजा' का रूपमा स्वीकृत गरेको छ। 

प्रकाशित: २५ असार २०७३ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App