युएईबाट रवीन्द्र मिश्रलाई खुलापत्र

शुक्रबार, २० फागुन २०७३, १३ : ४० नारायण भुर्तेल, युएई


रवीन्द्र मिश्रजी नमस्कार !

सर्वप्रथम तपाईले बीबीसी नेपाली सेवाको सम्पादक पद छोडेर राजनीति प्रवेश गर्नु भएकोमा धेरै बधाई छ। सफलताको शुभकामना भन्न चाहन्छु।

म दुबईमा दैनिक १४ घन्टा काम गरेर बचेको समयमा तपाइँलाई यो चिठ्ठी लेख्दैछु। युएई खाडी मुलुकहरुमध्ये विकसित छ। म बस्ने स्थान दुबई अझ विकसित लाग्छ। तीन वर्षदेखि खाडीको यो व्यापारिक हबमा पसिना बगाइरहँदा मेरो मनभरि नेपालका दृश्यहरु नाँच्छन्। भ्रष्ट, लाचार र लम्पसार नेतृत्वले जनताका इच्छालाई लत्याएका कैयन उदाहरणहरु दिमागमा एकै पटक झुल्किन्छन्। कुर्सीका लागि स्वाभिमान बेचिएका समाचारका हेडलाइन आँखामा अाँउँछन्। तर म विवश छु। यहाँ पसिना बगाउनु मेरो बाध्यता छ। देशको दुर्दशा टाढाबाट हेर्दा बढी अनुभव हुने कि के हो नेपाल सम्झिँदा मलाई अझ बढी पीडा हुन्छ।

तपाइँले वर्षेनी झन्डै एक करोड कमाइ गर्ने पद छोडेर विश्व बैंक अथवा कुनै अन्तरार्ष्ट्रिय निकायको निर्देशक हुन जानु भएन। यो त्यागले हामीभित्र तपाइँप्रति आशावाका किरणहरु प्रज्वलित गरिदिएको छ।

साँच्चै भन्नुपर्दा पछिल्लो समय राजनीतिक नेतृत्व कुर्सीमा कसरी आसिन हुनेभन्दा पर्तिर केही सोच्दैन। दलाल, ठेकेदार र तस्करहरुको आउजाउ शीर्ष नेतृत्वमा सहजै भइरहेको देखिन्छ। नेतालाई ब्रिफकेस बुझाउन नसक्ने र शक्तिशाली अाफन्त नभए योग्यता र क्षमताकै भरमा स्थान पाउने अवस्थै छैन। यो स्थितिमा युवाका समस्या सम्बोधन गर्नु त टाढाको विषय राजनीतिक नेतृत्व एउटा राम्रो सपना देखाउनसम्म पनि सक्षम छैन। भनिन्छ नि नदीमा सङ्लो पानी बग्न मूल सङ्लो हुनुपर्छ। हो हाम्रा नेताहरु शीर्ष तहदेखि नै भ्रष्ट छन्। नीति निर्माणतहमै दलाली र ठेकेदारीको बोलवाला छ।

यदि जन्मभूमि सक्षम भए दुनियाँको कुनै नागरिक अर्काको देशमा पसिना चुहाउन जाँदैन। अहिले लगभग आधी नेपाली नेपाल बाहिर छन्। अझै पनि ठूला भनिएका दल र तिनका शीर्ष नेतासँग आफ्नो देशमा युवालाई कसरी स्वरोजगार बनाउने भन्ने कुनै योजना छैन, भिजन छैन। कहिले कहीँ यसो सुस्ताउँछु। सोच्दा लाग्छ- आउने छुट्टीमा काठमाडौं फर्किंदा नेपाल अर्कैको पो भइसक्ने हो कि! काठमाडौं सहर टेक्दा मेरा नेताले नेपालको अस्तित्व मेटाइसक्ने पो हुन् कि!

रवीन्द्रजी!

यी यावत विषयमा तपाइँ मभन्दा बढी जानकार हुनुहुन्छ। र मभन्दा बढी अनुभवी हुनुहुन्छ। मैले तपाइँलाई सम्झाउन खोजेको के मात्रै हो भने यस्तो अवस्थामा तपाइँ राजनीतिमा होमिनु भएको छ। देश बनाउने सोच, लक्ष्य र साहससहित एउटा अप्ठ्यारो मैदानमा उत्रिनुभएको छ। तपाइँले पार्टी खोलेको सुनेपछि दुवईमा मैले केही साथीहरुसँग कुराकानी गरेँ। जुनसुकै मिडियाकर्मीले पनि एक दिन पत्रकारिता छोड्छ नै। फरक यति हो: कसरी? किन? कहाँ पुगेर? मलाई यी प्रश्नहरु साँच्चै महत्वका लाग्छन्।

तपाइँले वर्षेनी झन्डै एक करोड कमाइ गर्ने पद छोडेर विश्व बैंक अथवा कुनै अन्तरार्ष्ट्रिय निकायको निर्देशक हुन जानु भएन। यो त्यागले हामीभित्र तपाइँप्रति आशावाका किरणहरु प्रज्वलित गरिदिएको छ। अझ गर्व हामीलाई यसमा छ कि कल्याणकारी राज्य र परोपरकारी समाजको वकालत गर्ने तपाइँले नयाँ पार्टी स्थापना गर्नुभएको छ। हो हाम्रो राजनीति तपाइँ लामो समय बसेको वेलायतको जस्तो सभ्य र सुशिक्षित छैन। तपाइँले सोच्ने गरेजस्तो स्क्यान्डिनेभियन मुलुकहरुको जस्तो छैन। नेपालको लम्पसारवादी निकम्पा राजनीतिक नेतृत्वप्रति जनतालाई विश्वास पनि छैन। तर वास्तविकता के हो भने देश र समाजको परिवर्तन नागरिक समाज, मिडिया अथवा निजी क्षेत्रभन्दा आमूल रुपमा राजनीतिले नै गर्ने हो। त्यसैले खाडीमा पसिना बगाइरहेका म जस्तै लाखौं युवाको मनमा अहिले आशाका थोरै किरणहरु झुल्किएका छन्।

बिरामी पर्दा जुन देशका जनता सिटामोल पाउँदैनन्। त्यो देशका अस्पतालको हालत के होला?

रवीन्द्रजी!

मैले एकदुई सामान्य समस्या औंल्याएको मात्रै हो। भूराजनीति, अर्थराजनीति जस्ता ठूला विषयमा तपाइँ मभन्दा बढी जानकार हुनुहुन्छ। मेरा सामान्य आँखाले खाडीमा देखेको विषय के हो भने यहाँ नेपालमा १५ वर्षमा बन्न नसक्ने पुल ६ महिनामा निर्माण हुन सकेका छन्। समुन्द्रमा बनेका यस्ता पुलमाथि गुड्ने सवारी साधनका दृश्यले बडो रोमाञ्चकता दिलाउँछन्। यी परियोजनाहरुको सफलताले दिएको सन्देश के हो भने अप्ठ्यारो स्थितिमा पनि विकास, सम्वृद्धि सम्भव छ। मेरो देशमा एउटा पुल निर्माणमा नेताले ढिलाई गर्छ त्यो पनि ठेकेदारसँगको मिलेमतोमा। ठेकेदारसँग नमिल्ने कर्मचारी सरुवा र मन्त्रीको पद खुस्काइदिएका उदाहरण पनि हाम्रोमा छन्।

तपाइँले विज्ञप्तिमा प्रस्तुत गरेको पद्धति, पारदर्शिता र इमान्दारिताका विषय राजनीतिकर्मीका लागि आफैँमा सामान्य छन्। यिनको कार्यान्वयनले ती विषयको उत्कृष्टता झल्किने हो।

हिजोआज हामी साथीभाइबीच एउटा बहस चल्छ: युएई बसेर देश कसरी बन्छ त? सेतोपाटीका युएई संवाददाता साथी सुभाष शर्मा र मबीच यो विषयमा घन्टौं तर्क वितर्क भएका छन्। हामी अन्तिम निष्कर्षमा पुग्छौं: जुन देशका नेता ब्रिफकेसको तौल लिएर महानिरीक्षक नियुक्ति गर्छन्। त्यहाँको प्रहरी भ्रष्ट नभए कहाँको हुन्छ? जुन देशमा शीर्ष नेतृत्व ठेकेदार र तस्करको संरक्षणमा छन् त्यो देशमा सुन र चरेस तस्करी नभए कहाँ हुन्छ? जुन देशको राजनेता कुर्सी दलालीका लागि भारतीय दूतावासको अधिकृत तहका कर्मचारीको चाकडीमा समय बिताउँछन् त्यो देश परनिर्भर नभए कुन हुन्छ? त्यसैले तपाइँको निर्णयले घरखेत बेचेर, ऋणपान गरेर दलाल र मेनपावर झेल्दै ५० डिग्रीको तापक्रममा पसिना बगाउन आउनेहरुको मनमा केही फरक तरङ्ग ल्याइदिएको छ। उनीहरुमा केही आशा जगाइदिएको छ। मुख्य पक्ष यो छ कि हामी सर्वसाधारणलाई विभिन्न समयमा विभिन्न खाले शक्ति समूहरुले भ्रमको सपना बेचेकै हुन्। माओवादी, प्रजातन्त्रवादी, कांग्रेस-कम्युनिष्ट, राजा जो जो भए पनि जनतालाई केन्द्रमा राखेर कसैले शासन नगरेकै हुन्। त्यसैले तपाइँको कदमले फैलिएको यो तरङ्ग कति दिन टिक्छ? अथवा कहाँ पुगेर निष्कर्षमा पुग्छ। हामी त्यसको प्रतीक्षामा छौं।

अन्त्यमा,

रवीन्द्रजी ! तपाइँले विज्ञप्तिमा प्रस्तुत गरेको पद्धति, पारदर्शिता र इमान्दारिताका विषय राजनीतिकर्मीका लागि आफैँमा सामान्य छन्। यिनको कार्यान्वयनले ती विषयको उत्कृष्टता झल्किने हो। युद्धको भुँवरिमा परेर शिक्षालय जाने उमेरमा बन्दूक काँधमा उठाएका हजारौं गरिब नेपाली युवा अहिले यहीँ खाडीमा पसिना बगाउँदैछन्। एकातर्फ कार्यकर्तामा भारतविरुद्ध सुरुङ युद्धको उद्‌घोष गरिदिने र अर्कोतर्फ भारतकै आडमा सत्ताका लागि बार्गेनिङ गरेका दृश्यहरु हामी माझ ताजै छन्। नयाँ हौं भन्नेहरुले गरेको यो जालसाँझी मैलेभन्दा अझ नजिकबाट तपाइँले देख्नुभएको छ। त्यही भएरै यतिबेला तपाइँले गरेको त्यागको सान्दर्भिकता छ। यदि तपाइँ साच्चिकै पद्धति, पारदर्शिता र इमान्दारिताका साथ शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी वाचामा अडिग भएर आउनु भएको हो भने तपाइँलाई मेरो साथ छ। खाडीको जागिर छोडेर तपाइँको राजनीतिक संगठनमा होमिने चुनौती मलाई पनि स्वीकार्य छ। आशा छ तपाइँले मैले उठाएका प्रश्नहरुको जवाफ दिनुहुनेछ।

धन्यवाद।

दुबई, २ मार्च २०१७







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा बसिरहेका स्थानीयहरुले उनीहरुको तस्बिरमा पुजा गर्दै लक्ष्मी भित्र्याएका छन् । धुर्मुस सुन्तली...

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन...

कार्यक्रमको सभापति नै आलु  !

कार्यक्रमको सभापति नै आलु !

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा...