८ वैशाख २०८१ शनिबार
ब्लग

इस्लामिक स्टेटको ध्येय

गत साता बंगलादेशको राजधानी ढाकास्थित होले आर्टिसन बेकरी नाम गरेको रेस्टुरेन्टलाई सात चरमपन्थीले कब्जामा लिए र रेस्टुरेन्टभित्रका २० जनाको हत्या गरिदिए । रमदानको अवसरमा मुसलमानले उपवास तोड्ने बेला हुनासाथ रेस्टुरेन्टमा रैथाने ग्राहकको संख्या न्यून हुने आकलन गरी चरमपन्थीहरूले रेस्टुरेन्ट कब्जामा लिए । यसो गरेर उनीहरूले बंगलादेशीतर्फ नभई विदेशीतर्फ आफूहरूको आक्रमण लक्षित रहेको संकेत दिन खोजेका थिए । हुन पनि त्यस्तै भयो । इस्लाम धर्म मान्ने ग्राहक होटलभित्र त्यतिबेला थोरै थिए ।

विदेशीहरूको बाक्लो आउजाउ हुने सो रेस्टुरेन्टमा त्यतिबेला इटालियन, जापानी, श्रीलंकाली र भारतीयहरूको छुट्टाछुट्टै टोली भोजनरत थियो । ढाकास्थित कुटनीतिक नियोगहरू रहेको क्षेत्रछेउमा पर्ने सो रेस्टुरेन्टलाई चरमपन्थीहरूले योजनाबद्ध रूपमा तारो बनाएका थिए । आक्रमणलगत्तै इराक र सिरियामा खालिफा (सारिया कानुन लागू हुने धार्मिक राज्य) सञ्चालन गरिरहेको इस्लामिक स्टेटले त्यसको जिम्मेवारी लियो । सँगसँगै उसले ‘क्रुसेडरहरूको देशले आफ्ना विमानमार्फत निहत्था मुसलमानको हत्या नरोकुञ्जेल उनीहरू संसारमा कहीँ पनि सुरक्षित नहुने’ चेतावनी दियो ।

प्रारम्भिक अनुसन्धानपछि बंगलादेश सरकारले भने घटनामा इस्लामिक स्टेटको संलग्नता नदेखिएको दाबी गरेको छ । घटनामा इस्लामिक स्टेटको संलग्नता देखिए पनि, नदेखिए पनि उसैको वैचारिक प्रभावअन्तर्गत घटना भएको भने स्पष्ट छ ।
इस्लामिक स्टेटले बंगलादेशमा आफ्नो प्रभाव र शाखा विस्तार गर्ने यसअघि नै जनाइसकेको थियो । गत वर्ष इस्लामिक स्टेटले संसार कब्जा गर्ने मार्गचित्रसहितको योजना समेटिएका छ वटा पुस्तकको डिजिटल संस्करण एकसाथ सार्वजनिक गरेको थियो । किताबमा बंगलादेशका मुसलमान समुदायभित्रबाट लडाकु भर्ती गरी उनीहरूलाई मुख्यतः छिमेकी भारतका हिन्दू र अन्यत्रका गैरमुस्लिमविरुद्ध परिचालन गर्ने योजना अघि सारिएको थियो ।

वास्तविक तारोमा भारत

इस्लामिक स्टेटले पूरै संसारलाई सुन्नी मुसलमान र बाँकी गरी दुई समूहमा विभाजित गरिदिएको छ । यी दुईबीच अबका दिनमा निर्णायक युद्ध हुने, बाँकीले सुन्नी मुसलमान धर्म स्विकार्नुपर्ने, अन्यथा सफाया हुनुपर्ने उसको प्रष्ट मान्यता छ । सिया मुसलमान, यहुदी, क्रिस्चियन आदिलाई आक्रमणको मुख्य तारो बनाएको उसले हिन्दू भारतलाई मुख्य शत्रुको सहयोगीका रूपमा चित्रण गरेको छ । सँगसँगै उसले चीनलाई ‘अन्तिम शत्रु’ किटान गरेको छ । खास गरी भारतलाई लक्ष्य गरेर बंगलादेशमा आफ्नो क्षमता विस्तार गर्ने आईएसआईएसको मार्गचित्रमा उल्लेख छ ।
आईएसआईएसका किताबमा उल्लेख भएअनुसार कुरानमा जिहादीहरूलाई भनिएको छ, ‘तिमीले दुईवटा बलिया शत्रुहरूको सामना गर्नुपर्नेछ– यहुदी र मूर्तिपूजक ।’ यहुदी इजरायललाई आक्रमणको तारो बनाइरहेको इस्लामिक स्टेटले कुरानको यही हरफका आधारमा मूर्तिपूजक भारतीय हिन्दूलाई समेत शत्रु मानेर रणनीति तय गरेको छ ।

‘ब्ल्याक फ्ल्याग्स फ्रम इस्लामिक स्टेट’ किताबमा भारतमा प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको उदयपछि इस्लामिक स्टेटलाई भारतमा विस्तारित हुने अनुकूलता मिलेको जनाइएको छ । ‘गाईको मासु खाने मुसलमानलाई मार्ने अभियान अबका दिनमा भारतमा बढ्दै जानेछ । हतियारपूजक नरेन्द्र मोदीले मुलमानविरुद्ध हुने आगामी द्वन्द्वका लागि हिन्दूहरूलाई तयार गरिरहेका छन् । यसले भारतभित्रै इस्लामिक स्टेटका जिहादीहरू भर्ती हुने क्रम बढ्नेछ,’ त्यसमा भनिएको छ ।

चीनलाई सन्तुलनमा राख्न अमेरिकाले भारतलाई आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको र इजरायलले समेत भारतलाई इस्लामविरुद्ध साझेदार बनाउन प्राविधिक सहयोग गरेर उसलाई बलियो बनाउने काम गरेको उल्लेख गर्दै यसमा भनिएको छ, ‘अफगानिस्तानबाट अमेरिका फर्किएपछिको दिनमा मुसलमानहरूको आक्रमण सहन गर्न सक्ने भारत यो क्षेत्रको एकमात्र बलियो राष्ट्र बन्न पुगेको छ । अब भारतलाई भित्रैदेखि र वरिपरिबाट घेराबन्दीमा पारिनेछ ।’

बंगलादेशबाट भारतलाई घेराबन्दी

भारतलाई वरिपरिबाट घेराबन्दीमा पार्ने रणनीतिअनुरूप बंगलादेश, बर्मा, पाकिस्तान, अफगानिस्तान, थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, मलेसियालगायत देशका मुसलमानलाई प्रयोग गरिने उसको योजना छ ।
बंगलादेशको रेस्टुरेन्टमा भएको हमलामा कसको संलग्नता छ भन्ने पूर्ण रिपोर्ट आइसकेको छैन । तर, घटनामा इस्लामिक स्टेटको संलग्नता अथवा प्रभाव भेटिएमा बंगलादेशभित्र सक्रिय जमात अल मुजाहिद्दीन समूहमाथि अनुसन्धान केन्द्रित गर्नुपर्नेछ । किनकि, इस्लामिक स्टेटले यो समूहलाई बंग्लादेशभित्र आफ्नो साझेदार बनाउने योजना सार्वजनिक गरिसकेको छ ।
‘सन् २०१३ को मेयता बंगलादेश अस्थिर बन्दै गएको छ । ईश्वरको निन्दा गर्नेलगायत इस्लामले मान्यता नदिएका कानुनको विपक्षमा त्यहाँका आस्थावान मुसलमानले आवाज उठाइरहेका छन् । बहुसंख्यक जनता मुसलमान भए पनि बंगलादेश इस्लामको मूल्यमान्यताबाट विमुख भएकोमा उनीहरू आन्दोलित छन् । यस्तो आन्दोलनको सामना गर्न सरकारले प्रहरी परिचालन गरिरहेको छ, जसले आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली वर्षाइरहेका छन् । निकट भविष्यमा आन्दोलनकारीले पनि प्रहरीमाथि कारबाही गर्ने र आन्दोलनकारीहरू हातहतियारले सुसज्जित हुने परिस्थिति बन्नेछ,’ किताबमा भनिएको छ । बंगलादेशमा राज्य कमजोर भएको र मुसलमान आन्दोलनकारीहरूले कमजोर राज्यलाई तारो बनाउने योजनासमेत किताबमा अघि सारिएको छ । ‘अबका निकट दिनमै बंगलादेशभित्र क्रियाशील जमात अल मुजाहिद्दीन यस्ता सशस्त्र गतिविधिमा सरिक हुनसक्छ’ भन्ने प्रक्षेपण किताबमा गरिएको छ ।

भरत–पाक युद्धको आकलन

भोलिका दिनमा पाकिस्तान र भारतबीच युद्ध भड्किने अवस्था आउने भन्दै इस्लामिक स्टेटले यसका लागि बंगलादेशमा आफूलाई सबल बनाउने लक्ष्य राखेको छ । ‘अफगानिस्तानसँग जोडिएको आफ्नो सीमामा पाकिस्तानले आतंकवादीलाई आश्रय दिएको आरोप लगाउँदै भारतले कुनै दिन पाकिस्तानमाथि हमला गर्नेछ । पाकिस्तानले त्यसको प्रतिरोध गर्नेछ । त्यतिबेला अफगानिस्तानका अल कायदा र तालिवानले मुसलमानबहुल पाकिस्तानको पक्ष लिएर युद्धमा उत्रिनेछन् । अर्को मुसलमानबहुल राष्ट्र बंगलादेशले पनि सम्भवतः भारतविरुद्ध मोर्चा खोल्नेछ,’ किताबमा भनिएको छ ।

भारत र पाकिस्तानबीचको यस्तो युद्धले भारतीय उपमहाद्वीपमा हिन्दू र मुसलमानबीचको युद्धको स्वरूप लिने र अन्त्यमा मुसलमान विजयी हुने दाबी त्यसमा गरिएको छ । यही दाबीलाई साकार रूप दिन बंगलादेशमा फैलिनुपर्ने बाध्यता इस्लामिक स्टेटलाई छ ।
भारत र पाकिस्तानबीचको यस्तो युद्धले यस क्षेत्रभन्दा बाहिरका शक्तिलाई पनि भौतिक रूपमै आकर्षित गर्ने इस्लामिक स्टेटका आधिकारिक किताबहरूमा जनाइएको छ । भारतको जन्मजात दुश्मन पाकिस्तानको पारमाणविक हतियार खोस्न अमेरिका र इजरायलले निकट भविष्यमा पाकिस्तानमाथि हठात् आक्रमण गर्ने र आक्रमणका बीच पाकिस्तानले आफ्ना ‘पोर्टेबल’ पारमाणविक हतियार भारतविरुद्ध संघर्ष गरिरहेको लस्कर–ए–तोएबा अथवा अफगानिस्तानमा सक्रिय तालिवानको हक्कानी समूहलाई दिने र यी प्रकारान्तरमा आईएसआईएसको पक्षमा प्रयोग हुने उसको आकलन छ ।

इरानदेखि नै भारतलाई घेरा

इस्लामिक स्टेटले मध्यपूर्वको साँधसीमादेखि नै भारतलाई घेराबन्दीमा पार्ने योजनालाई संगठित गर्दै लैजाने योजना बनाएको छ । ‘ब्ल्याक फ्ल्याग्स फ्रम अरब’मा लेखिएको छ, ‘सिया इरानविरुद्ध अबका दिनमा सुन्नी लडाकुहरूले दुई मोर्चाबाट युद्ध सुरु गर्नेछन्– अरब र खुरसानबाट (उत्तरपूर्वी इरानदेखि पाकिस्तानको सिन्धसम्म फैलिएको प्राचीन भौगोलिक क्षेत्र) । यसरी दु्ई मोर्चाबाट हमला गरेपछि पर्सिया (इरान)मा समेत खालिफा स्थापना हुने कुरानले भविष्यवाणी गरिसकेको छ ।’
खुरसानको मोर्चामा युद्ध गर्दैगर्दा एसियाको यो भेग अझ अस्थिर हुने र अस्थिरताका बीच सो क्षेत्रका जिहादीहरू इस्लामिक स्टेटमा भर्ती हुने क्रम बढ्ने उसको अनुमान छ । यसरी बढ्ने भर्तीलाई पूर्वी मोर्चामा पनि उपयोग गर्दै लैजाने र अन्ततः भारतको पतन गराउने इस्लामिक स्टेटको योजना छ ।

‘खुरसान क्षेत्रको द्वन्द्व इरानपट्टि मात्र होइन, पूर्वपट्टि पनि बढ्दै जान्छ र पाकिस्तानतिर फैलिन्छ । पाकिस्तान र अफगानिस्तानका तालिवानहरू एक भएर पाकिस्तानको भित्री भागतिर बढ्नेछन् । चरम अस्थिरता र असुरक्षाका बीच अमेरिकाले त्यतिबेलासम्म पाकिस्तानमा भूमिका खोल्न छोडेकाले पाकिस्तानी सेना निर्धक्क भएर तालिवान लडाकुलाई साथमा लिएर पूर्वतिर भारतमाथि जाइलाग्नेछ । भारत बिस्तारै घेराबन्दीमा पर्र्दै जानेछ र अन्त्यमा इस्लामिक स्टेटको झण्डा त्यहाँ फहराउनेछ,’ किताबमा भनिएको छ ।

 

प्रकाशित: २५ असार २०७३ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App