७ वैशाख २०८१ शुक्रबार
कला

बेटीको जीवन 'चर्या'

काठमाडौं- राजा महेन्द्रको ०१६/१७ सालतिर पश्चिमाञ्चल भ्रमण हुँदा बेटी बज्राचार्य १०–११ की थिइन्। विद्यालयस्तरमै नृत्यमा नाम कमाइसकेकी उनले पाल्पामा राजाको अगाडि स्वागत नृत्य देखाउने अवसर पाउँदा परिवार नै दंग बन्यो। बुबा–आमाले राजासामु बोल्ने मौका मिले 'डाक्टर, इन्जिनियर बन्ने इच्छा छ' भन्न सिकाए। कार्यक्रम सम्पन्न भयो। सानी नानीको उत्कृष्ट नृत्य देेखेर राजा दंग परे। 'ठूलो भएपछि के बन्छ्यौ?' राजाले सोधिहाले। 'नाच्ने सरकार!' उनले बालसुलभ जवाफ फर्काइन्। राजा मुस्कुराए। आफूहरुले सिकाएबमोजिम नभनेको भनी बेटीका बा–आमा भने निकै रिसाए।

'मेरो त रगतमै नृत्य बगेको छ,' बेटीले भनिन्, 'बाजा बज्यो कि शरीरमा कम्पन हुन्छ।' 

'त्यो रात घरमा मलाई निकै गाली गरियो, पिटाइ पनि खाएँ,' ६७ वर्षीय बेटी बज्राचार्यले कुलेश्वरस्थित आफ्नो निवासमा विगत सुनाइन्, 'राजाले सोध्दा डाक्टर बन्ने भन्ने त सोचेकी थिएँ तर भित्री आत्माबाटै 'नाच्ने सरकार' भन्न आएछ।' बेटीको बाल्यकालदेखिकै नृत्यमोह बुढेसकालसम्म घटेको छैन, बरु झनै बढेको देखियो। 'मेरो त रगतमै नृत्य बगेको छ,' बेटी बज्राचार्यले भनिन्, 'बाजा बज्यो कि शरीरमा कम्पन हुन्छ।'

 नाचप्रतिको यो अगाध मोह रहनुमा उनले गरेको अथक मेहनतको कथा लुकेको छ। पाल्पा तानसेनमा गणेशमान शाक्य र आमा अष्टमाया शाक्यको पहिलो सन्तानको रुपमा २००७ वैशाख २० मा जन्मिएकी  उनले नृत्यकै लागि आफ्नो पूरै जीवन समर्पण गरिन्।

त्यति बेला नाच्नुलाई खासै राम्रो मानिदैनथ्यो। त्यसैले जन्म घरमा मात्र होइन, कर्मघरमा पनि उनले नृत्यमा सहयोग पाइनन्। २०२७ सालमा बिजु बज्राचार्यसँग वैवाहिक सम्बन्ध गाँसेकी बेटीले विवाहअघि नै पतीसँग भद्रकाली मन्दिर गएर विवाहपछि ननाच्ने वाचा गरेको सुनाइन्। 'उहाँसँग वाचा गर्दा आँखाबाट आँसु खसेको थियो,' उनले भनिन्, 'विवाहपछि केही समय बाहिर गएर नाच्न छाडें।'

यही बीचमा उनले नृत्यको नयाँ पाटो देख्न पुगिन्। बज्राचार्य समुदायमा परम्परादेखि चल्दै आएका चर्यालाई उनले नजिकबाट नियाल्ने अवसर पाइन्। चर्या नृत्य बुद्ध धर्मको तान्त्रिक विधाको कला प्रस्तुति हो। बेटी यसैको अध्ययनमा लागिन्। यसले उनको मन भित्रैदेखि छोयो। उनी यसमै डुब्न थालिन्। नृत्यको अर्को आयाम आफ्नो रहर पूरा गर्न थालिन्।

भारतको बडोदरास्थित एमएस विश्वविद्यालयबाट कथ्थकमा स्नाकोत्तर गरेकी बेटी बज्राचार्य अहिले नेपालको लुम्बिनी विश्वविद्यालयबाट चर्या नृत्यमा पिएचडीको तयारी जुटेकी छन्।

घरमा पनि मौका मिल्यो कि एकान्तमा नाचिहाल्थिन्। आफ्नो सीप उनले विद्यार्थीमा बाँड्ने अवसर पाइन्। ०३१ सालमा उनको जागिर सुरु भयो, पद्मकन्या कलेजको नृत्य विभागमा। यहीँ उनले चर्या नृत्यको अनुसन्धान गरिन्, नृत्यको ज्ञान बाँडिन्, ३५ वर्षसम्म। केही वर्षयता भने उनी अवकाश जीवन बाँच्दै छन्। उनको नृत्य रहर भने मरेको छैन।

सानैदेखि लोक भाकामा कम्मर मर्काउँदै आएकी बेटीले नृत्यको औपचारिक शिक्षा लिने अवसर भने एसएलसीपछि पाइन्। राजा महेन्द्रको सिफारिसमा छात्रवृत्ति पाएपछि उनले भारत गएर सबैभन्दा पहिला कथ्थक नृत्य सिक्न थालिन्। २०२२ सालतिर दिल्लीस्थित त्रिवेणी कला संगमबाट एक वर्ष कथ्थक नृत्य सिकेकी उनले बडोदरास्थित एमएस युनिभर्सिटीबाट सन् १९६७ मा कथ्थक नृत्यमा स्नातक गरिन्। त्यहींबाट उनले सन् १९८४ मा स्नातकोत्तर गरिन्।

यहीबीचमा उनले तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग भेट गर्ने अवसर पाइन्। 'मैले हिन्दीमा कविता लेेखेर उहाँको अगाडि सुनाए,' उनले भनिन्, 'उहाँ खुसी भएर धाप मार्नुभयो।' आफूले हिन्दीका प्रख्यात कवि हरिवंशराय बच्चनसँग पनि भेट गर्न पाएको उनले सुनाइन्।

विभिन्न पारिवारिक समस्याका कारण विद्यावारिधि गर्न नपाएकी उनले अहिले नेपाली शास्त्रीय नृत्य र नाट्य विधामा पिएचडी गर्दै छन्।

पछिल्लो समय उनले लुम्बिनी विश्वविद्यालयअन्तर्गत रहेर चर्या नृत्यमा विद्यावारिधिको तयारी गर्दै छन्। 'म नाच्न चाहेकी थिएँ, बुबाआमाले डाक्टर भएको देख्न चाहनुभएको थियो,' उनले भनिन्, 'त्यही भएर नृत्यमै पिएचडी गर्न खोजेकी हुँ।'

उनले जीवनमा थुप्रै उतारचढाव देखिन्, नृत्यको ज्ञान बाँड्न बिजुबेटी कला प्रतिष्ठान समेत खोलिन्, नृत्य प्रशिक्षण दिइन्। यसकै आम्दानीबाट परिवारको घरखर्च चलाइन्। उनको जीवनमा कहिले दुःख कहिले सुख, कहिले सम्पन्नता कहिले अभाव चलिरह्यो तर उनले आफ्नो नृत्य यात्रालाई मर्न दिइनन्, निरन्तर चलिरह्यो।

उनको कामको कदर भएको छ। ०३७ सालमा राष्ट्रिय शिक्षा समितिबाट पुरस्कार र प्रशंसापत्र हात पारेकी उनले ०४६ मा गोरखा दक्षिणबाहु चौथो, ०६१ मा लुम्बिनी संगीतकला तथा साहित्य समाजबाट सम्मानित भइन्। त्यसैगरी ०६५ मा मञ्जुश्री संगीत विद्यालयबाट सम्मानित भइन् भने ०७० मा कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट सम्मान, ०७१ मा भद्रकुमारी घले साहित्यिक पुरस्कार लगायत थुप्रै सम्मान प्राप्त गरेकी छन्।

उनी विविध संस्कृति र संस्कारको धनी आफ्नो मुलुकले अझै कला संस्कृतिमा सोचेजस्तो प्रगति गर्न नसकेको सुनाउँछिन्। 'नेपाली देवदेवीको नाचलाई शास्त्रीय नृत्यको रुपमा विकास र संवर्द्धन गर्न आवश्यक छ,' उनी भन्छिन्।

उनलाई आफ्नो बाँकी जीवनरबारे खासै चिन्ता छैन। दुई छोराको घरजम भइसक्यो। उनीहरु डाक्टर र इन्जिनियर बनेका छन्, विदेश बस्छन्। बेटीलाई भने स्वदेश नै प्यारो लाग्छ। यही धर्तीमा नाच्दै अन्तिम सास लिने उनको इच्छा छ। अझ सबैभन्दा ठूलो इच्छा उनलाई बिरजू महाराजसँग भेट्ने रहर छ।

पण्डित बृजमोहन मिश्र अर्थात् बिरजू महाराज भारतीय कथ्थक नर्तक तथा शास्त्रीय गायक हुन्। उनीसँग नृत्यको केही ज्ञान लिने इच्छा छ। एउटा अनौठो सपनमा पनि छ। बिरजु महाराजसँगै पशुपति मन्दिरमा गएर छमछम नाच्ने उनको रहर छ।

के हो चर्या?

चर्या नृत्य बुद्ध धर्मको तान्त्रिक विधाको कला प्रस्तुति हो। यस नृत्यमा पञ्चबुद्ध मानिएका अक्ष्योम्य, रत्नसम्भव, अभिताभ, अमोधसिद्धि र वैचोरनका ध्यानमुद्रा र ध्यानभावलाई आत्मसात् गरी नृत्यमा प्रस्तुत गरिन्छ। यो नृत्य मुद्रा र ध्यानमा केन्द्रित हुने हुँदा यसका कलाकार अन्य नृत्यमा जस्तो शारीरिक हाउभाउमा मात्र केन्द्रित हुँदैनन्। उनीहरू ध्यानको भावधारामा डुबेर नृत्य गर्छन्।। यसमा गुह्य चर्या नृत्य, बाह्य चर्या नृत्य आदि पर्छ। यसमा खुट्टा चाल्ने, कम्मर मोड्ने, हात र औंला नचाउने गरिन्छ।

के हो कथ्थक?

कथ्थक राजस्थान तथा उत्तर भारतको प्राचीन नृत्य शैली हो। यसको वर्णन महाभारतमा पनि गरिएको छ। मध्यकालमा यसको सम्बन्ध कृष्णको गाथासँग सम्बन्धित थियो। पछि यो हिन्दू मुसलमान दुवै समुदायमा प्रदर्शन गर्न थालियो। भारतीय सिनेमामा यसको निकै प्रभाव छ। अहिले समय बिरजू महाराज यसको व्याख्याता मानिन्छन्।

प्रकाशित: २१ फाल्गुन २०७३ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App