coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

जानकारीको भकारी

कृष्णप्रसाद सिग्द्यालको पछिल्लो परिचय लेखक हो। पत्रकारिता,  विकास अनुसन्धाता,  विभिन्न क्षेत्रमा संलग्न सिग्द्याल पछिल्लो समय पर्यावरणविद्का रूपमा चिनिन्छन्। नेपाल वातावरण पत्रकार समाजका संस्थापकसमेत रहेका उनको पछिल्लो पुस्तक 'नेपाल छिमेक र विश्व' ले लेखकको बहुआयामिक व्यक्तित्व झल्काएको छ। 'छिमेकी र विश्व'बारेको पुस्तक भए पनि यसमा प्रश्ास्त उपयोगी जानकारी छन्, लेखकका विश्लेषणहरूसहित।

पुस्तकको पुछारमा 'नेपालको परराष्ट्र नीति र सार्थकता' शीर्षकमा कूटनीतिमा हामी खस्किँदै गएको लेखकको अनुभवजन्य विश्लेषण छ। यसअघि नै 'साना कुरा' किताब प्रकाशन गरिसकेका लेखकको यो कृति आफैमा जानकारीहरूको भकारी हो।

नेपालको राजनीतिक, सामाजिक, आर्थिक, पर्यावरणीय, सामरिक र कूटनीतिक मु्द्दामालिलाबारे मसिना विवरणले सम्पन्न पुस्तकमा विश्वका सूक्ष्म जानकारी पस्किएका छन्। पत्रकारिता र विभिन्न क्षेत्रमा रहेका काम गर्दाका अनुभव सरल किसिमले आएको छ। नेपाललाई माया गर्ने युरोप, अमेरिकाका विभिन्न देशसँगको सम्बन्धको चर्चाका साथै नेपालले विभिन्न सहृदयी देश र छिमेकी चीनको सहयोगमा विकास फट्को मार्ने सुनौला अवसर गुमाएको विवेचना जताततै भेटिन्छ। ससाना घटना र जानकारीलाई आधार बनाएर विवेचना गर्न र विश्लेषण पस्कन लेखक सफल भएका छन्। त्यस्तै,  नेपालको राजनीतिबारे टिप्पणी गर्न पनि चुकेका छैनन् र  नेपालका समस्याको जडमा भारत रहेको निचोड पनि छ उनको। राजतन्त्र भएका देशहरू विकासमा अग्रगामी छलाङ मारिरहेको समयमा नेपालको राजतन्त्र त्यस्तै पदचिह्नमा हिँड्न नसकेका उदाहरण भेटिन्छन पुस्तकमा।

नेपालको कूटनीतिका पिता भनेर चिनिने युदनाथ खनाललाई सार्वजनिक जीवनका 'गुरू' मानेका लेखकले कूटनीतिक मामलालाई मसिनोसँग केलाएका छन्, घटना र सन्दर्भसहित। नेपालका राजनीति, विकासमा गहिरो चासो राख्ने र हस्तक्षेपकारी भूमिका खेल्ने भारतबारे आलोचनात्मक टिप्पणी ठाउँठाउँमा भेटिन्छ। त्यस्तै, छिमेकी चीनले पछिल्लो समय ससाना कुरामा समेत गहिरो चासो राख्न थालेका उदाहरण पनि भेटिन्छ। पुस्तकमा विश्वसमुदायका धेरै देश, धेरैखाले मुद्दा र तिनले अपनाएका राजनीतिक, आर्थिक, सामरिक,  सामाजिक–सांस्कृतिक, भौतिक  जानकारी पुस्तकमा छन््।

पुस्तकमा नेपालको राजनीतिबारे बेग्लै अध्यायमा व्याख्या र विवेचना छैन। तर, प्रमुख राजनीतिक मोडहरूको चर्चा छ। पुस्तकका विभिन्न शीर्षकमा छरिएका विवरण, विश्लेषणहरूले किताबलाई ओजिलो बनाएको अनुभव हुन्छ। नेपालका राजनीतिज्ञहरूबारे उनले कसैप्रति तोकेर कमीकमजोरी औँल्याएका छैनन्। तर, उनले समसामयिक राजनीतिबारे भनेका छन्– 'दुर्भाग्य, बीपी कोइरालापछि उनको आधा कदको नेता पनि जन्माउन सकेन मुलुकले अहिलेसम्म।' बीपीको राजनीति–कूटनीतिको प्रशंसक सिग्द्याल लेख्छन्– '२०१६ जेठमा बीपी नेतृत्वको नेपाली कांग्रेस सरकार नै इतिहासमा यस्तो सरकार हो, जसले आत्मविश्वास र आत्मसम्मानका साथ चुनौतीपूर्ण छिमेकी सम्बन्धलाई सन्तुलित मात्रै राखेन, नेपालको भौगोलिक अवस्थितिलाई विश्वसम्बन्धमा आफ्नो बृहत्तर हितमा उपयोग गर्न सफल भयो।' समसामयिक राजनीतिक परिदृश्यमा बीपीको पार्टी भारतपरस्तको आरोप झेलिरहेको र कांग्रेसजनले त्यसको प्रतिवाद गर्न नसकेको अवस्था छ। तर, लेखकले २०१७ सालमा राजा महेन्द्रले 'कू' गर्नका पछाडिको पृष्ठभूमिमा बीपीले चीनसँग सम्बन्ध स्थापित गर्नुलाई प्रमुख कारण मानेका छन्। लेखकको विश्लेषणमा बीपीले चीनसँग गरेको कूटनीति सम्बन्धलाई लिएर भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरू सन्तुष्ट थिएनन्।

बीपीले २०१६ फागुन २८मा चीनको भ्रमण गरेका थिए। चार वर्षअघि टंकप्रसाद आचार्यले शिलान्यास गरेको नेपाल चीन कूटनीतिक सम्बन्धको आलो पृष्ठभूमिमा बीपीको भ्रमण द्विदेशीय सम्बन्धमा कोसेढुंगा बनेको चर्चा राजनीतिक–कूटनीतिक वृत्तमा हुने गरेको छ। चीनको भ्रमण र बीपीले १८ महिने शासनकालमा इजरायल, पाकिस्तानसँग गरेको दौत्य सम्बन्धकै कारण भारतसँग सम्बन्ध बिग्रिएको चर्चा गर्दै 'परराष्ट्र सम्बन्ध र सार्थकता' शीर्षक अध्यायमा सिग्द्यालले विवेचना गरेका छन्।

ब्रह्माण्ड, पृथ्वी, मान्छे र नेपाल शीर्षकबाट सुरु भएको ३२८ पृष्ठ लामो पुस्तकमा नेपाल र निकट छिमेक शीर्षकमा भारत, चीनको विस्तृतमा विवेचना छ। भारत र चीनको राजनीतिक, आर्थिक विकासका कुराहरू छन् र तिनको नेपालसँगको सम्बन्धबारे लेखकका आफ्नैखाले विश्लेषण छन्। भारतले नेपाललाई उँभो लाग्न नदिने र चीनले विकासमा प्रोत्साहित गर्दै आएको चर्चा छ। भारतप्रति आलोचक र चीनप्रति आशावादी देखिन्छन् लेखक। उनी लेख्छन्– 'बीस, तीस र चालिसको दशक नेपालका लागि आर्थिक विकासका लागि एउटा सुवर्ण अवसर थियो। तर, राजा महेन्द्रको सत्ताकांक्षा र त्यसैलाई पछि राजा वीरेन्द्रले पनि निरन्तरता दिएकाले विश्वका कैयौँ मुलुकले बाटो पछ्याएको यो कालमा नेपाली जनतामा केही सचेतनाको विकास भयो र शिक्षा, स्वास्थजस्ता क्षेत्रमा नगण्य प्रगति भयो। आर्थिक विकासमा ठूलो फड्को मार्न सक्ने यो कालक्रमलाई नेपालले पञ्चायत अड्याउने काममा बितायो। 'विश्वको जनसंख्याको ३० प्रतिशतलाई तयारी लुगा निकासी गर्ने मुलुकसँग ३६/३७ वर्ष अघिदेखि सहकार्य गरी सीप र दक्षता विकास गर्न पाएको भए के हुँदैनथ्यो। तयारी लुगासम्बद्ध कपडा, टाँक, फस्नर, धागो, सिलाइमेसिन, इलास्टिक आदि तथा त्यससँग जोडिएका उद्योग, वस्तु र सेवाको विकासको सम्भावना हुन्थ्यो। तर, नेपालले त्यस्ता अवसरलाई बकम्फुसे विकासका नारामात्र दिएरै सक्यो। राजा वीरेन्द्रले १० पटक चीनको भ्रमण गरेको चर्चा गर्दै लेखक त्यस्ता भ्रमणमा विकासका सम्भावना देखाउने गरेको उल्लेख गरेका छन्। अन्य छिमेकी शीर्षकमा अफगानिस्तान, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश, भूटान, मालदिभ्स, बर्मा, श्रीलंकाको चर्चा छ। ती देशका विशेषता, आर्थिक, सामाजिक अवस्था र नेपालसँगको सम्बन्धका पाटामा सानामसिना कुरासमेत उल्लेख छ। नेपालका अन्य मित्रराष्ट्र शीर्षकमा अस्ट्रेलिया, जर्मनी, जापान, फ्रान्स, बेलायत, युरोपेली युनियन, रुस, इटाली, अमेरिकाको चर्चा छ। कुन देशले कस्तोकस्तो सहयोग गरेका छन्, त्यसको थोरबहुत विवरण पुस्तकमा पाइन्छ। फ्रान्सको चर्चा गर्दा भूकम्प अध्ययनमा उक्त मुलुकले गरेको सहयोगलाई लेखकले बिर्सेका छन्। खानी तथा भूगर्भ विभागअन्तर्गत भूकम्प मापन केन्द्र फ्रान्सको सहयोगमा बनेको हो। के सम्म भनिन्छ भने, नेपालमा आउने भूकम्पका विवरणहरू  प्रकाशन गर्न फ्रान्सको सहमति आवश्यक हुन्छ। भारतबाट गुणस्तरहीन ९० प्रतिशत इलेक्ट्रिकल सामान चोरी निकासी भएर आउँछ, नेपालमाः उच्च गुणको जापानी इलेक्ट्रोनिक्स/इलेक्ट्रिकल सामानको भारतमा नभए पनि नेपाल र तिब्बतमा माग हुने थियो होला, सत्तासीन राजसंस्थाले किन प्रवर्द्धन नगरेको होला भन्ने प्रश्न उनले उठाएका छन्।

संयुक्त राष्ट्रसंघ, त्यसका निकायहरूबारे पनि चर्चा छ। तर, संयुक्त राष्ट्रसंघमा अहिले चर्चामा रहेको युएन ओमेनबारे लेखक मौन छन्। विश्वका प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूबारे जानकारी पनि समेटिएको छ। पुस्तकमा राखिएका विभिन्न संस्थाहरूको जानकारीमा एकरूपता छैन। विश्व र समसामयिक मामिलामा अहिले विश्वले भोगिरहेका आईएस आतंक, आप्रवास समस्या, इसाइ आन्दोलन, इजरायल र मध्यपूर्व, खाद्य संकट, ऊर्जा संकट, पानी संकट, जनधिकारवाद, थोरै कर—ट्याक्स छली, निशस्त्रीकरण र द्वन्द्व निवारण प्रयास, यन्त्रमानव(रोबोट) त्रास, शरणार्थी मामला, हाइब्रिड बीऊ र जलवायु चुनौती, प्रविधि र विकासक्रम, सूचना र प्रविधि, जैविक प्रविधि, कृत्रिम वौद्धिकता, नानो साइन्स, नानो टेक्नोलोजी, अन्तरीक्ष अनुसन्धानजस्ता विधामा जानकारी दिएका छन्। 

नेपाल र विश्वसम्बन्ध अध्यायमा लेखकले अहिलेको विश्व परिवेशबारे लेखेका छन्। दक्षिण एसिया र विश्व, नेपाल र विश्व सम्बन्ध जस्ता विषयमा लेखकले जानकारीमूलक तथ्य दिएका छन्। यही शीषर्कको एउटा उदाहरण– २०७३ भदौमा दक्षिण कोरियाका विपक्षी नेता मुन जे इन नेपालको हिमाली क्षेत्र अति मन पर्ने भएर घुम्न तथा भूकम्प प्रभावितको अवस्था के रहेछ भनी बु‰न(अबको राष्ट्रपति पदका सशक्त दाबेदार)नेपाल भ्रमणमा केही दिनका लागि गुपचुप आएका थिए। उनी यसअघि पनि दुई पटक नेपाल आइसकेका रहेछन्। अन्य मुलुकमा भए यस्ता कुरा थाहा पाउने सरकारी पद्धति नै हुन्छ र उपयुुक्त स्तरका व्यक्तिबाट भेटघाट गरी आवश्यक आतीथ्य पनि गरिन्छ। नेपालमा त मान्छे गइसकेपछि सम्बन्धित क्षेत्रकाले बल्ल थाहा पाउँछन्ः अवश्यै पनि यस्तो गैरहोसियारीबाट हामीले धेरै गुमाएका छौँ। यो बानीमा सुधार आवश्यक छ।'

पुस्तकको पुछारमा 'नेपालको परराष्ट्र नीति र सार्थकता' शीर्षकमा कूटनीतिमा हामी खस्किँदै गएको लेखकको अनुभवजन्य विश्लेषण छ। यसअघि नै 'साना कुरा' किताब प्रकाशन गरिसकेका लेखकको यो कृति आफैमा जानकारीहरूको भकारी हो। अहिलेको जमानामा यसलाई 'नेपालको गुगल' भन्दा सायद फरक पर्दैन। लेखकका कतिपय विश्लेषण सान्दर्भिक नभए पनि जिज्ञासु, विद्यार्थी, शोधकर्ता, नीतिनिर्माता, पत्रकार, राजनीतिकर्मीलगायत आर्थिक, सामाजिक, कूटनीतिक क्षेत्रमा रूचि राख्नेका निम्ति पुस्तक उपयोगी हुन सक्छ। विवरणात्मक जानकारी पुस्तकको मौलिकता हो। त्यसलाई हल्का टिप्पणी र विश्लेषणले नरंगाएको भए अझ राम्रो हुन्थ्यो। साथै, यसको लेखनशैलीमा एकरूपता छैन। भाषामा सरलता, मीठास र एकरूपताका लागि पुस्तक सम्पादन हुनु आवश्यक छ। 

पुस्तक :  नेपाल छिमेक र विश्व

लेखक :  कृष्णप्रसाद सिग्द्याल

प्रकाशक :  सांग्रिला बुक्स

मूल्य :  ४५५/(सादा कभर)  

प्रकाशित: २१ फाल्गुन २०७३ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App