६ वैशाख २०८१ बिहीबार
कला

महको 'नेवारबहादुर बाहुनबहादुर'

सौराहा (चितवन)- 'महयात्रा' लिएर देश दौडाहामा निस्केका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहितको कलाकार टोलीले शुक्रबार साँझ देशको पर्यटकीय क्षेत्र सौराहालाई बिसौनी बनायो। यहाँस्थित कल्चर हाउसमा सौराहावासी मन्त्रमुग्ध हुँदै 'मह यात्रा'का प्रस्तुतिमा तीन घन्टा रमाए। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको 'महवन्दना'बाट सुरु भएको कार्यक्रममा गीत, नृत्य र प्रहसन प्रस्तुत गरेर सकिँदा रातको नौ बज्दै थियो। कार्यक्रममा 'मह' जोडीको प्रहसनसाथै माण्डवी त्रिपाठीको गीत र रुबिना अधिकारीको नृत्यले रौनकता थपेको थियो।

कलाकार नरेन्द्र कंसाकार र हरिवंशका छोरा मोहितले पनि प्रहसनमा साथ दिए।

'मह'को प्रहसन 'नेवारबहादुर बाहुनबहादुर'ले सद्भावको सन्देश बोकेको थियो। 'जातको कुरा गर्ने नेताले देशको भलो सोच्दैन' भन्ने संवाद बोलेर 'मह' जोडीले जातीय विग्रह बढे देश नै खतरामा पर्ने संकेत गरे।

राजाराम पौडेल, किरण केसी र शिवहरि पौडेलको प्रहसन 'बोर्डर चेकपोस्ट' सीमा अतिक्रमणका विषयमा थियो। सिमानामा प्रहरी बनेर खटेका राजाराम पौडेल भन्छन्, 'पिल्लर सारेको सार्‍यै गर्छन्। यस्तो हो भने त नौबिसे नै पुग्छ क्या हो।'

सीमा अतिक्रमणको समस्यालाई नेताले सत्तामा पुग्ने विषय मात्रै बनाएको भन्दै कलाकार भन्छन्, 'घाँटीका नसा फुल्ने गरेर अतिक्रमणका कुरा गर्नेहरु सरकारमा पुगेपछि चुप चाप हुन्छन्।' जनता आफैं नजाग्ने हो भने सीमा अतिक्रमण रोक्न नसकिने प्रहसनको सन्देश थियो।

प्रहसनमा शिवहरि पौडेल भन्छन्, 'नेता भएर जनताको डर मान्नुपर्छ। तर सत्तामा पुगेपछि हाम्रा प्रधानमन्त्री भारत जान्छन् र चीन पनि जान्छन्। भोक र अभावले छटपटिने जनतालाई भेट्न कर्णाली पुग्दैनन्। जनताको माया हो भने चीन भारतभन्दा कर्णाली जानुपर्ने हो नि।'

नागरिक राष्ट्रिय दैनिकको प्रस्तुति रहेको 'मह यात्रा'को प्रायोजन रोयल ट्रेजरको रहेको छ। होटल संघ नेपाल आयोजक रहेको कार्यक्रमबाट संकलित रकम क्षेत्रीय होटल संघको कोषमा रहनेछ। क्षेत्रीय होटल संघ सौराहा चितवन अध्यक्ष सुमन घिमिरेले कार्यक्रमबाट तीन लाख रुपैयाँ हाराहारीमा सहयोग जुटेको जानकारी दिए।

'यो रकम संघले सञ्चालन गर्ने वन्यजन्तु संरक्षण अभियान, छात्रवृत्ति कार्यक्रमलगायतमा खर्च गर्नेछौं,' उनले भने। महयात्रा फागुन १३ गते पोखराबाट सुरु भएको हो।

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App