नागरिक संवादमा धुर्मुस/सुन्तली

इच्छाशक्ति भए गर्न सकिने रहेछ

आइतबार, २२ फागुन २०७३, १० : २० सामीप्यराज तिमल्सेना

दुई सालअघि गएको भूकम्पपछि सर्वाधिक चर्चामा रहेको नाम हो– धुर्मुस/सुन्तली। भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा पनि सरकारले पीडितलाई राहतको दोस्रो किस्ता पनि बुझाउन नसकिरहेको अवस्थामा धुर्मुस/सुन्तलीले भने आफ्नै पहलमा दुई दुईवटा एकीकृत नमुना बस्ती सर्वसाधारणलाई हस्तान्तरण गरिसकेका छन्। तेस्रो एकीकृत बस्ती महोत्तरीको बर्दिवासस्थित मुसहर बस्तीमा निर्माण भइरहेको छ जुन नयाँ वर्षकै दिन हस्तान्तरण गर्ने दुवैको योजना छ। हाँस्य कलाकारको सानो परिचयबाट पुनर्निर्माण दूतका रूपमा फराकिलो परिचय बनाएका दुवैको यात्रा सोचेजस्तो सरल भने छैन। नागरिकसँगको कुराकानीमा दुवैले भूकम्पले ढलेका घर जोड्नभन्दा मान्छेको मन जोड्न गाह्रो हुने अनुभव सुनाए। भूकम्प, पुनर्निर्माण र यसका चुनौती सम्बन्धमा सीताराम कट्टेल उर्फ धुर्मुस र कुञ्जना घिमिरे उर्फ सुन्तलीसँग नागरिकका लागि सामीप्यराज तिमल्सेनाले गरेका कुराकानी : 

कलाकारिता गर्न सजिलौ रैछ कि समाजसेवा?

धुर्मुस :  कलाकारिता गर्न धेरै सजिलो। यसको आफ्नै सौन्दर्य छ। कलाकारितामा हामी आफ्नो रुचिको काम गर्थ्यौं। दर्शकले मन पराउनुहुन्थ्यो। तुरुन्तै प्रतिक्रिया आउँथ्यो। पछिल्लो समयमा त पैसा पनि आउन थालेको थियो। यही कारण कलाकारिता हाम्रा लागि एकदमै सजिलो थियो। तर यसरी समाजसेवामा प्रत्यक्षरूपमा संलग्न हुनुभन्दा अघि यस सम्बन्धमा पनि आफ्नैखालको कल्पना थियो तर यसैमा लागेपछि चाहिँ अलि फरक अनुभव रह्यो।

हामीलाई भन्दिनुस् न, कस्तो अनुभव रह्यो?

सुन्तली :  पहिला पहिला कसैलाई सहयोग गर्ने भनेको रुमानी अनुभव जस्तो थियो। सहयोग गर्न पाइयो भने पाउनेले आशीर्वाद दिन्छ। हामीलाई सन्तुष्टि मिल्छ। तर जब हामीले एकीकृत नमुना बस्ती निर्माणको काम सुरु गर्‍यौं त्यसपछि बल्ल थाहा भयो दिन्छु भनेरमात्र नहुँदा रैछ। दिन पनि धेरै कुरा मिलाउनुपर्ने रहेछ। यही क्रममा थाहा भयो, भूकम्पले भत्काएको घर जोड्नुअघि मानिसका मन जोड्नुपर्ने रैछ। हामीलाई सबैभन्दा पहिले त सामाजिक एकीकरणको खाँचो रैछ। 

पुनर्निर्माणमा तपाईंहरूको संलग्नताचाहिँ कसरी सुरु भयो?

धुर्मुस :  सोचको सुरुवातचाहिँ भूकम्पले नै दिएको हो। बस्ती विकास गरेर नै अगाडि बढ्ने हाम्रो सोच थिएन। जति बेला भूकम्प गयो त्यतिबेला हामी अढाई महिनाको कार्यक्रम लिएर अमेरिकाको यात्रामा थियौं। २७ वटा कार्यक्रममध्ये ९ वटामात्र सकेका थियौं। बीचैमा भूकम्प आएपछि आयोजकसँगको सल्लाहमा नेपाल आयौं र राहत बाँड्नमा सक्रिय भयौं। अझ यसमा सम्झनुपर्ने कुरा के छ भने हाम्रो अन्तिम कार्यक्रम भुट्निज नेपालीका लागि थियो। उहाँहरुले के भन्नुभयो भने त्यो देशको नून हामीले पनि खाएका छौं। तपाईंहरु हाम्रोसमेत सद्भाव लिएर जानूस्।

सुन्तली :  तपाईँंलाई नढाँटी भन्दा हामी अमेरिकामा बसिरहँदा हामीमात्र हैन त्यहाँका मानिसमा पनि नेपालकै चिन्ता थियो। कार्यक्रममा जाँदा पनि उहाँहरूको चिन्ता र चासो भूकम्पपीडितप्रति थियो। यही बेलामा मैंले सामाजिक सञ्जालमा देशलाई आपत परेका बेला कलाकार कहाँ लुके? भन्ने आसयको एउटा स्ट्याटस देखेँ। सबै कलाकारले पनि आ–आफ्नो ठाउँबाट सक्ने सहयोग त गरिरहनुभएकै थियो। तर त्यो स्ट्याटस देखेपछिचाहिँ कलाकारले गरिरहेको सहयोग अझै अपुग भइरहेको रहेछ भन्ने लाग्यो र बूढाबूढी सल्लाह गरेर नेपाल फर्कियौं।

नेपाली कलाकार अमेरिकातिर भासिने लहर नै छ। अझ तपाईंहरु त पहिलोपल्ट अमेरिका पुग्नुभएको। त्यसमाथि कार्यक्रम पनि बाँकी नै थियो। नढाँटी भन्नुस् न, के कारणले नेपाल फर्कनुभयो?

सुन्तली :  हेर्नुस् सबैभन्दा ठूलो कुरा त मनै हो। त्यतिबेला हामीलाई लाग्यो, अमेरिकामा मनोरञ्जन गराएर बस्नुभन्दा नेपालमा गएर थोरै भए पनि सहयोग गर्न पाए हुन्थ्यो। हामी अमेरिका पनि अर्को एउटा सामाजिक अभियान लिएर गएका थियौं। त्यतिबेला त्यो अभियानभन्दा ठूलो कुरा भूकम्पका लागि राहत हो जस्तो लाग्यो, त्यही भएर पनि नेपाल फर्कियौं।

अर्को अभियान भन्नाले?

धुर्मुस :  अमेरिका जानु केही दिनअघि सरकारले हामीलाई सरसफाइ दूत घोषणा गरेको थियो। यो क्रममा हामी केही जिल्ला घुमेका थियौं। कतिपय जिल्ला खुला दिसामुक्त घोषणा भएका थिए तर राजमार्गमा शौचालय थिएनन्। अमेरिकामा कार्यक्रम गरिरहँदा मैंले डालो बोक्दै शौचालय निर्माणका लागि भनेर पैसा माग्ने गरेको थिएँ। एक महिनाको अवधिमा लगभग साढे १६ लाख रुपियाँ उठेको थियो। आयोजकले ५ सय डलर थपेपछि लगभग १७ लाख लिएर हामी नेपाल फर्किएका थियौं।

सबै पैसा राहतमा खर्चनुभयो कि...

धुर्मुस :  हजुर। त्यतिबेला बजारमा त्रिपाल अभाव थियो। सितिमिति पाउने अवस्था थिएन। मैंले अमेरिकाबाटै फेसबुकमा भएका एक जना साथीलाई म अमेरिकाबाट आउँदैछु। तपाईंले त्रिपालको व्यवस्था गरिदिनुपर्‍यो भनेर अनुरोध गरेको थिएँ। उहाँले राखिदिनुभएको रहेछ। पछि आवश्यकताका अरु कुरा पनि खोजेर हामीले ११ जिल्लामा राहत बाँड्यौं। यसरी राहत बाँड्न हामीलाई सुगन डटकम, जीवन विज्ञान केन्द्र भद्रगोलका भाइहरू आदिले पनि साथ दिनुभएको थियो। हामीले डाक्टर चाहियो भने डाक्टर, औषधि चाहिए औषधि, खाने कुरा चाहिए खाने कुरा सबै लगेर प्रत्यक्षरूपमा पीडितलाई दिन्थ्यौं।

सुन्तली :  अब अहिले सम्झँदा त्यो सबै कसरी सम्भव भयो होला जस्तो पनि लाग्न सक्छ। तर, त्यतिबेला सबै मानिसमा मानवीय भावना उब्जेको समय थियो। हरकोही मानिस केही न केही सहयोग गर्न चाहन्थे। त्यही कारण पनि हामीलाई राहत बाँड्न सजिलो भएको थियो।

भनेपछि धुर्मसु/सुन्तलीलाई भूकम्पले समाजसेवी बनायो, हैन त?

सुन्तली :  बिल्कुलै हैन। हामी भूकम्प आउला र समाजसेवा गरौंला भनेर बसेका थिएनौं। फरक यत्ति हो कि भूकम्प यसको प्रस्थानविन्दु बन्यो। व्यक्तिगत कुरा गर्नुहुन्छ भने म पहिलादेखि नै अरुको दुःख देख्न नसक्ने र कसैले अन्याय गरेको छ भने लडिहाल्ने स्वभावकी थिएँ। पछि कलाकारितामा सफल भएपछि दुवै मिलेर देशका लागि केही गर्नुपर्छ है भन्ने हाम्रो बारम्बार सल्लाह भइरहन्थ्यो। तर सुरु गर्नका लागि योभन्दा राम्रो अवसर थिएन, शायद।

धुर्मुस :  म पनि सानैदेखि परोपकारी थिएँ भन्नुपर्‍यो। (निधार देखाउँदैं) यतातिर हेर्नु भो भने खत देखिन्छ। यो सबै साथीहरुलाई सहयोग गर्दाको उपलब्धि हो। म गाउँमा पनि आफ्नो मेलो जोतिसकेपछि अरुलाई सघाउन जान्थेंँ। बाहिर नआएको मात्रै नत्र त हामीले मिर्गाैलापीडित, क्यान्सरपीडित जस्ता थुप्रै रोगीका लागि बिनापैसा काम गरेका छौंँ। आज हामीलाई कहिलेकाहीँ यस्तै पीडितले आफ्नो उपचार खर्च कटाएर तपाईंहरुलाई पैसा पठाएका छौं भन्नुहुन्छ, सारा दुःख पीडा बिर्सन्छौं र यही दिन सम्झन्छौं। यही ठान्छौं, हामीले सहयोग गरेको पुण्यले नै होला, हामीलाई अहिले आफ्नै जिन्दगीका लागि लडिरहेकाले माध्यम बनाएर सहयोग गरिरहेका छन्।

तपाईँहरूले बनाइरहेको एकीकृत नमुना बस्ती पुनर्निर्माणका लागि उदाहरण बनेका छन्। केही नेता तथा मन्त्रीले त बस्ती भ्रमण गरेर नै तपाईँहरूको प्रशंसासमेत गरेका छन्। बस्ती निर्माणको सोच कसरी आयो?

धुर्मुस :  भूकम्पले धेरैका घरमा क्षति पुर्‍याएको थियो। आज पहिलो पल्ट तपाईंलाई भन्दैछौं, कुञ्जनाकै ममीका पनि ६ वटा करङ भाँच्चिएका थिए। अमेरिकामा हुँदासम्म हामीले चिन्ता गर्छौं भनेर भन्नुभएकै रहेनछ।  यसले झन् हाम्रा आँखा खुले। आफ्नो खर्च उठाउन सक्नेलाई त ठीकै छ। नसक्नेले के गर्ने? यसपछि हामी एक महिनादेखि छाडेकी छोरीलाई फेरि सासू आमाकै काखमा छाडेर राहत बाँड्न निस्कियौं। यही क्रममा हामी सिन्धुपाल्चोकको पीपलडाँडाको बाटो हुँदै थुप्रै ठाउँमा राहत बाँड्न पुगेका थियौं। पछि दोस्रो पल्ट त्यही पुग्दा उहाँहरुले के भन्नु भो भने 'हामीलाई ओत लाग्न र खान पुग्दो छ। तर हाम्रो छोराछोरी हुर्किसकेका छन्। चर्पी नभएर गाह्रो भयो। तत्काललाई चर्पी बनाइदिए हुन्थ्यो।'

उहाँहरुको कुराले हामीलाई हैटीको महामारीको सम्झना भयो। हैटीमा भूकम्पपछि संक्रमण फैलिएर थुप्रै मानिसको ज्यान गएको थियो। अझ हामी सरसफाइ दूत पनि भएकाले यसमा हाम्रो चासो थियो। त्यसैले हामीले खानेपानी विभागसँग मिलेर चर्पी निर्माणको अभियानलाई अघि बढाउने निधो गर्‍यौं। वैशाख २९ गतेको ठूलो परकम्प गएको भोलिपल्ट हामी त्यता लाग्यौं। पहिला पहिला ट्राफिक जाम नै हुनेगरी गाडी गुडिरहेका भेटिन्थे तर त्यो दिन यात्रा गर्ने हामीमात्र थियौं। बेलुकीतिर गाउँमा पुग्दा हामीलाई देखेर उहाँहरु यति भावुक हुनुभयो कि 'कलाकार आए अबचाहिँ भुइँचालो जाँदैन' भनेर ढुक्क हुनु भो। अरुलाई केही गर्न पाउँदाको असीम सन्तुष्टि जे हुन्थ्यो त्यो दिन हामीले अनुभव गर्‍र्यौं।  भोलिपल्टबाट हामीले चर्पी बनाउने काम सुरु गर्‍र्यौं। हामी यता काम गरिहेका हुन्थ्यौं, उता अर्कोतिर डाँडा खसिरहेको देखिन्थ्यो। हामीले ४० घरका लागि १० वटा चर्पी बनाएका थियौं। यो हस्तान्तरण गरिरहँदा उहाँहरुका आँखामा देखिएको कृतज्ञताले नै हामीलाई फेरि जुर्मुराउन प्रेरित गर्‍यो।

त्यसपछि गिरानचौरमा बस्ती निर्माणको काम थाल्नुभयो?

धुर्मुस :  हैन त्योभन्दा पहिले नै हामीले अर्को बस्ती बनाएका थियौं। त्यो पहरी बस्ती थियो। तर, योभन्दा अघि हामीले नुवाकोटमा एउटा विद्यालय र चर्पी बनाएका थियौं। यही बेला चर्पी पनि भएको, विद्यालय पनि भएको र अन्य सुविधा पनि भएको बस्ती निर्माण गर्न पाए हुन्थ्यो भन्ने सोच आएको थियो।

राहतका लागि हिँडिरहँदा नै हामीलाई के लागेको थियो भने विनास त भयो तर यहीँबाट विकासको पनि मूल फुटाउनुपर्छ। भौगोलिक विकटता भएको ठाउँमा यसका लागि एउटै उपाय हुन सक्थ्यो– एकीकृत बस्ती। यस्तो बस्ती निर्माण गर्दा एकैपटक मानिसलाई समानताको अनुभूति र सुरक्षा दिन सकिन्थ्यो भने यस्ता ठाउँ पर्यटकीय हिसावले पनि आकर्षक हुन्थे। यसपछि हामी दुवैले सल्लाह गरेर एकीकृत बस्ती बनाउने अभियान थाल्यौं।

सुन्तली :  भएको पैसा राहत र चर्पी निर्माणमा सकेपछि हामी चूप लागेर बस्थ्यौं होला तर विदेशमा रहेका दाजुभाइ/दिदीबहिनी तथा नेपालमै पनि पीडितले दिएको श्रद्धालेे हामीलाई चूप लागेर बस्न दिएन। अब के गर्ने भन्दाभन्दै एकीकृत बस्ती बनाऔं न त भन्ने कुरा आयो। यसपछि हामीले जेठको १७ गतेबाट काभ्रेको डाँडागाउँमा पहरी बस्ती निर्माण सुरु गर्‍यौं।

हाम्रोमा परिवार नै  मिलेर बस्न गाह्रो हुन्छ, अझ समाज नै एकै ठाउँ बस्न कसरी मान्दोरहेछ?

धुर्मुस :  पुनर्निर्माणमा हामीले भोगिरहेको मुख्य चुनौती नै यही हो। यहाँ जमिनभन्दा पनि मान्छे मिलाउन गाह्रो छ। अझ एकीकृत बस्ती बनाउनका लागि त धेरै कुरा मिलेको हुनुपर्छ। पहिलो नम्बरमा सरकारी जग्गा चाहियो। दोस्रोमा सबै मानिस सँगै बस्न राजी हुनुपर्‍यो। पहरी बस्तीमा त्यो सबै पूर्वाधार मेल खाएकाले हामीले पहिलो पल्ट २० घरका लागि एकीकृत बस्ती बनाएका थियौं। यसमा हामीले प्रत्येक घरमा धारा, चर्पी, बगैंचा र बायोग्याँस पनि जडान गरेका थियौैं। यो बस्तीमा हामीले लाइटिङ सिस्टम पनि विदेशको सहरको जस्तो बनाएका थियौं। एउटा भ्यु टावर छ, राति त्यसले लाइट फाल्छ। र, अम्बाका रुख छेडेर हामीले घरघरमा लाइट पुर्‍याएका छौं जुन राति बल्दा गाउँ नै झिलिमिली हुन्छ। अर्को कुरा यसमा हामीले धाराको पानी खेर जान नदिन टनेल बनाएर तरकारी खेतीसम्म पुग्ने व्यवस्था मिलाएका छौं भने फोहोरबाट बायोग्यास निकाल्ने व्यवस्था पनि छ।

यही बस्ती बनाइरहँदा हो तपाईंहरूले घर बेचेर बस्ती निर्माण सम्पन्न गरेको?

धुर्मुस :  यही बेला हो। एकीकृत बस्ती निर्माण गर्न भनेर ८ लाख रुपियाँ जम्मा भएको थियो। सेनाको गुल्म र स्थानीयको श्रमदानमा सहयोग त थियो तर घर बनाउने सामग्री त पैसा हालेरै किन्नुपर्थ्यो। सामान किनेर आधा काम नसक्दै पैसा सकियो। सबैतिर हल्ला भइसकेको थियो। मलाई रातभरि निन्द्रा लाग्न छाड्यो। बारीका पाटामा टेन्ट गाडेर बसिरहेका थियौं रातभर बाघको आतंक थियो। एक दिन बिहान तीनै बजे उठेर घोत्लेर बसिरहेको थिएँ। पानी परिरहेको थियो। कुञ्जनाले घर बेचौं भनिन्। आखिर यस्तै दर्शकको मायाका कारण हाम्रो घर बनेको हो। यहाँ घरै नभएर बिल्लीबाठ छ। हामीलाई चाहिँ अढाइतले घर किन चाहियो? एक तलाकै भए पनि भइहाल्छ नि भनेर कुञ्जनाले नै आँट दिएपछि हामीले घर बेच्यौं। बस्ती बनाउन ६७ लाख खर्च भएको थियो जसमध्ये ४७ लाखमात्र उठेको थियो। बाँकी १९ लाख पैसा हामीले हाल्यौं। तर योमध्ये पनि सहयोगबाट पछि १३ लाख पाइयो। त्यही पनि ६–७ लाख त हाम्रो लगानी रह्यो नै। अन्त्यमा हामीले साउनको २७ गते बस्ती हस्तान्तरण गर्‍यौं।

यसपछि गिरानचौरको बस्ती निर्माणको काम सुरु गर्नुभयो?

धुर्मुस :  हैन। अलि पछि नै यसको काम थालियो। पहरी बस्ती निर्माण गरेपछि हामीलाई के लागेको थियो भने अब देशैभर निर्माणको लहर चल्छ। किनकि धेरै जनाले केही न केही निर्माण गर्ने घोषणा गर्नुभएको थियो। हामीलाई पनि के लागेको थियो भने हाम्रो काम देखेर धेरै जना 'इन्स्पायर' हुनुहुनेछ। यही होस् भनेर हामीले त्यतिबेलै गठन भएको पुनर्निर्माण प्राधिकरणका सिइओ गोविन्द पोखरेल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, केपी ओलीसम्मलाई पनि बस्ती देखाउन लिएर गएका थियौं। यसको राम्रै हल्लाखल्ला पनि भएको थियो। तर, समय बित्दै जाँदा हामीले के पायौं भने मान्छेले भूकम्प नै बिर्सन थालिसके। झट्काले केही समयका लागि लोभलालच भगाएको थियो तर पछि जस्ताको तस्तै। यो भएपछि हामीलाई दिमागी सरसफाइको काम गर्नुपर्छ भन्ने लाग्यो। हामीले रामेछापबाट फेरि यो अभियान थालनी गर्‍र्यौं। भूकम्प आएको ६/७ महिना भइसकेको थियो। कतैबाट पनि बस्ती निर्माण खबर आएका थिएनन्। त्यसपछि हामी फेरि अर्को बस्ती बनाउन जुट्यौं। यतिबेलासम्म हामीले धुर्मुस सुन्तलीको नाममा व्यक्तिगतरूपमा काम गरिरहेका थियौं। धेरै जनाले फाउन्डेसनमार्फत काम गर्नुस् भनेर सुझाव दिएपछि हामीले धुर्मुस सुन्तली फाउन्डेसनमार्फत गिरानचौरको बस्ती निर्माणको घोषणा गर्‍र्यौं। यसैगरी बर्दिवासको मुसहर बस्तीको काम पनि सुरु भयो। यो बस्ती हस्तान्तरणका लागि ४ करोड पैसा चाहिएको छ। जसमध्ये २ करोड जम्मा भएको छ। बाँकी दुई करोड खोजिरहेका छौं।

नेपालमा सानोतिनो घर बन्न पनि महिनौं समय लाग्छ। तर तपाईंहरू भने धेरै घर केही महिनामै बनाएर हस्तान्तरण गरिरहनुभएको छ। कसरी सम्भव हुन्छ यस्तो?

धुर्मुस :  इच्छाशक्तिले। हामी चाह्यौं भने जे पनि गर्न सक्छौं।  गिरानचौरको अनुभव सुनाउँछु तपाईंलाई। हामीले त्यहाँ एकीकृत बस्ती बनाउने निर्णय गर्दा न त्यहाँ राम्रो बाटो थियो न बिजुली। हामीले त्यहाँ भूकम्प गएको दिन बस्ती निर्माण गर्ने र परकम्प गएको दिनदेखि काम थाल्ने घोषणा गरेका थियौं। र, हामीले घटस्थापनाको दिन ६५ वटा घर गाउँलेलाई हस्तान्तरण गर्ने योजना बनाएका थियौं। तर २५ दिन त हामीलाई निर्माण सामग्री लिएर गाउँसम्म पुग्ने गाडीको बाटो बनाउन नै लाग्यो। त्यही पनि लक्ष्य पूरा गर्नुपर्छ भनेर हामीले बिहान ३ बजे उठ्ने, दिसापिसाब गर्ने र राष्ट्रिय गान गाएर काम थाल्ने कार्यतालिका बनायौं। हरेक घरबाट एक एक जना गरेर ६५ जना, मिस्त्री र अन्य सहयोगी सब जना दशैंसम्म नभनी सबले काम गरे। यसरी सम्भव भयो।

तपाईँंहरूले बस्ती निर्माण होस् वा राहत वितरण, सबैका लागि थुप्रै दातासँग सम्पर्क गर्नुभयो। कस्तो अपेक्षा हुँदोरैछ उहाँहरूको चाहिँ?

सुन्तली :  मदनकृष्ण श्रेष्ठ दाइले एकपटक भन्नुहुन्थ्यो,  'तिमी जस्तो छौ, तिमीले त्यस्तै मान्छे भेट्छौ। उहाँले भनेजस्तै हामीले पनि अहिलेसम्म जति दाता भेटेका छौं, सबैको चिन्ता दिएको सहयोग सदुपयोग भन्ने होस् भन्ने नै थियो। उहाँहरुले कहिलै पनि आफ्नो नाम हाइलाइट होस्, चर्चा होस् भन्नुभएको छैन।

पुनर्निर्माण पछिल्लो समय राजनीतिको पनि मुख्य मुद्दा हुँदै आएको छ। चुनौती के रहेछन्?

धुर्मुस :  पहिलो कुरा त अर्थ संकलन नै हो। दोस्रो कुरा व्यक्तिप्रति अविश्वास पनि हो। हामीले पनि त्यस्ता धेरै आरोप खेप्यौं। धुर्मुस सुन्तलीले पनि समाजसेवाका नाममा पैसा उठाइरहेका छन् भन्ने पनि सुन्यौं। तेस्रो कुराचाहिँ माथि भनेजस्तै सामाजिक एकीकरण हो। चारथरी मान्छे चारतिर फर्केर बसेको हुन्छ। उसलाई मनाएर एक ठाउँमा लिएर आउन गाह्रो। समग्रमा के बुझ्नुपर्‍यो भने हाम्रो सोचमा नै धेरै समस्या छ।

समाजसेवा राजनीति गर्ने भर्‍याङ बनेका थुप्रै उदाहरण छन्। तपाईंहरु पनि पछि कतै राजनीतिमा...

सुन्तली :  त्यस्तो कुनै सोच छैन। हामीले राजनीति गर्ने लोभले कुनै पनि काम गरेका छैनौं। यो त आफू  पनि सच्चिने लोभले गरेका हौं। बल्ल मलाई कुनै पाप गरेकी थिएँ भने अबचाहिँ पखालेँ भन्ने अनुभूति भएको छ।

नेपालमा एक समय राम्रो काम गरेर वाहवाही लुट्ने तर केही समयपछि त्यही मान्छे बिग्रने दृष्टान्त छन्। धुर्मुस सुन्तलीले कसरी आफूलाई त्यो अवस्थाबाट अलग राख्लान्?

सुन्तली :  तपाईंले भनेको एकदम सही हो। अहिले नेपालमा कुलमान घिसिङ वा गगन थापा हिरो छन् भने देशले उनैको मात्र गुणगान गाएर बस्ने हैन। त्यस्ता धेरै कुलमान जन्माउन प्रेरित गर्ने हो। एउटा मान्छेले सधँैंभरि समानरूपले काम गर्न सक्छ भन्ने हैन। नगर्न पनि सक्छ। हामीले माथि भनेजस्तै कोही हाम्रो काम मन परेको छ भने अगाडि सरुन् भन्ने आशय हो। भोलि त हामीलाई कलाकारितामा फर्कनु नै छ।

साँच्चै तपाईँंहरु कलाकारिताबाट टाढिएको धेरै भयो। घर कसरी चलिरहेको छ?

धुर्मुस :  अस्ति भर्खरै अस्टे्रलिया गएर आयौं नि त। त्यहाँ हामीले सो गरेर राम्रै पैसा ल्याएका छौं। त्यसले केही महिना पुग्छ। सकिएपछि फेरि अर्को सो गर्नपटि्ट लाग्छौं। आजभोलि झन् हाम्रो डिमान्ड बढेको छ। हामी स्पष्ट पार्न चाहन्छौं– सहयोगको एक पैसा पनि हामीले व्यक्तिगतरूपमा खर्च गरेका छैनौं।









यसमा तपाईको मत

अन्य समाचार

बाबुरामले हेरे ‘घामपानी’

बाबुरामले हेरे ‘घामपानी’

स्थानीय चुनावको चटारो छलेर पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई  बिहीबार फिल्म हेर्न कुमारी हल पुगेका छन्...

‘तपाेवनले सच्चा मित्र गुमायो’

‘तपाेवनले सच्चा मित्र गुमायो’

बिहीबार मध्याह्न एकाएक इन्टरनेटमा अभिनेता विनोद खन्नाको निधन भएको खबर भाइरल बन्यो । खबर काठमाडौंको ओशो तपोवनसम्म पुग्न समय लागेन...

‘कहिलेसम्म भात खान मात्र फिल्म बनाउने ?’

‘कहिलेसम्म भात खान मात्र फिल्म बनाउने ?’

‘फिल्म कसका लागि बनाउने ? फिल्म बनाउनुको ठोस उद्देश्य के हो ?’ आइतबार राजधानीमा फिल्म ‘नुमाफुङ’ हेरिसकेपछि यसका निर्देशक नविन...

‘मुसाफिर’ लिएर आए नृपेश

‘मुसाफिर’ लिएर आए नृपेश

पन्ध्र वर्षदेखि बेलायत बस्दै आएका गीतकार तथा गजलकार नृपेश उप्रेतीले ‘मुसाफिर’ नामक गजलसंग्रह गजल पारखीमाझ ल्याएका छन् । केही दिनअघि...