coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कुरा निःशुल्क मोबाइल अस्पतालको

स्वास्थ्य शिविर प्रचारात्मक हुन्छन्, त्यसबाट खासै बिरामीले लाभ पाउँदैनन् । यो त केवल प्रचारप्रसार तथा रमाइलोमात्र हो । चिकित्सक एवं चिकित्साकर्मीको उत्सव हो भन्ने पनि नसुनेको होइन । कहिलेकाहीँ धेरै प्रचारप्रसारले त धेरै स्यावासी पनि प्राप्त हुन्छन् । निःशुल्क शिविर एक पुण्य काम, सधैँ गर्नुपर्छ । मेरो क्षेत्रमा पनि गरिदिनुपर्छ डाक्टरसाब, आदि÷इत्यादि चर्चा पनि सुनिएकै हुन्।

जब म सर्लाहीको बरथरहवामा २०७३ साल वैशाख २७ गते निःशुल्क स्वास्थ्य शिविरको अगुवाई गर्दै पुगेँ, तबमात्र गाँठी निष्कर्षमा पुगेँ कि वास्तवमा निःशुल्क स्वास्थ्य शिविर त त्यहाँ आवश्यक रहेछ । अस्पताल एवं चिकित्सकका अनुहारसम्म नदेखेका मधेसका ती बासिन्दालाई हामीले भनेजति त सेवा दिन सकेनौं तर जति दियौं त्यसमा उनीहरु खुशी भएका हामीले देख्न सक्यौँ ।

राष्ट्रिय चिकित्सक संघको अगुवाइमा हामीले सर्लाहीको हजरिया नपास्थित कल्पवृक्ष विद्यालयमा गरेको शिविरमा बिरामीको संख्या १९०० हाराहारी थियो । उक्त शिविरमा प्रेणितकुमार पोखरेल, नवीन पोखरेल, रवीन खड्का, उमाकान्त भट्टराई, माधवप्रसाद ढुङ्गाना, गणेश सुवेदीलगायत डाक्टर सहभागी थियौं। वैशाखको त्यो धुपमा हजरियाबासीको उत्साहजनक उपस्थिति, क्याम्पको व्यवस्थापन मिलाउने स्थानीय निराजन खड्कालाई कहिल्यै बिर्सन सकिन्न । निःशुल्क औषधि सकिएका थिए। हामीसँग जाँच्ने यन्त्र, कलम र प्याडबाहेक केही थिएन । तर पनि हजरियाा

बासी चिकित्सकको परामर्शका लागिमात्र पनि साँझसम्म लाइनमा बसेर स्वास्थ्य लाभ लिन तयार भए। यो शिविर कतिसम्म प्रभावकारी रह्यो भन्ने उदाहरणका लागि प्रेणितले गरेका ३०० भन्दा बढी दाँतका बिरामीको उपचार नै काफी छ।

त्यस शिविरबाट फर्कने क्रममा मोटर बिग्रिएर अलपत्र पर्दा कति पनि विचलित भइएन । कारण– शिविरमार्फत गर्न पाएको सेवा र त्यहाँ आउनेले देखाएका ममता आफ्नो अप्ठेरोभन्दा निकै गहुँगा थिए । वीर, मनमोहन,  कान्तिपुर डेन्टल तथा शंकरापुर अस्पताललाई कार्यथलो बनाएका यी चिकित्सकको सेवाभाव हेर्दा लाग्थ्यो कि हाम्रा स्वास्थ्यकर्मी कुनै पनि हिसावमा कमजोर छैनन् न त समाजसेवाकै क्षेत्रमा पछौटे छन् । ‘नेपाली चिकित्सक नेपाली जनताका छोराछोरी हुन्’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै उनीहरूले गरेका काम साँच्चै अनुशरणीय थियो।

स्वास्थ्य शिविरलाई डाक्टरहरुले जारी राख्नुपर्छ भन्ने मान्यताका आधारमा पुनः गत पुस २७ गते सप्तरीको खोजपुर गाविसस्थित आदर्श मावि पुग्दा पनि निकै हौसला मिल्यो सेवा गर्न पाएकामा।

त्यतिमात्र हैन, राष्ट्रिय चिकित्सक संघले भूकम्पले क्षतविक्षत तुल्याएको दोलखाको सिंगटी बजारमा पनि कात्तिक २७ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। विशेषज्ञस्तरीय शिविरमा मेडिसिन, सर्जरी, छाला रोग, मानसिक रोग, दन्त रोग, नाक कान तथा घाँटी रोग, बाल रोग, हाडजार्नी तथा नशा रोग, भिडियो एक्सरे सेवा, इसिजी सेवा, सुगर परीक्षण एवं निःशुल्क औषधि वितरण जस्ता सेवा लिन आतुर सर्वसाधारणको सहभागिताले यस्ता कार्यक्रम गर्न निकै प्रेरणा मिलेको छ । करिव १००० को हाराहारीमा सेवा लिन आउनु यसको मुख्य कारण थियो ।

स्वास्थ्य शिविरलाई डाक्टरहरुले जारी राख्नुपर्छ भन्ने मान्यताका आधारमा पुनः गत पुस २७ गते सप्तरीको खोजपुर गाविसस्थित आदर्श मावि पुग्दा पनि निकै हौसला मिल्यो सेवा गर्न पाएकामा। गणेश राई, निरज बम, अनामिका दास, प्रमोद बराल, मोहन रेग्मी, शैलेशमणि पोखरेल जस्ता डाक्टर सम्मिलित टोलीले सेवा प्रदान गरिरहेका बेला पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्यावासीले पनि कम्ता हौसला प्राप्त भएन । उक्त शिविरमा छाती रोगले ग्रसित, उच्च रक्तचाप, मधुमेह, दम, खोकी, कान पाकेका, चर्म रोगसम्बन्धी, पाठेघरको आङ खस्ने समस्या भएका जस्ता बिरामीको उल्लेख सहभागिता देख्दा आफूहरू ठीकै ठाउँमा आएको महसुस भयो । करिब २७०० बिरामीले प्रत्यक्ष लाभ लिएको त्यो शिविर साँच्चिकै खुशीको दिनमा परिणत भएको थियो ।

यी यस्ता शिविर सावित भए जसले हामीलाई निरन्तर यस दिशातर्फ लाग्न अभिप्रेरित गरिरहे । यही कारण हो कि राष्ट्रिय चिकित्सक संघ पुनः विशेषज्ञ शिविर लिएर सरस्वती उच्च मावि हजरिया पुग्यो २०७३ फागुन १३ र १४ गते । उही टोली, दक्ष प्राविधिक, सिपसहित भिडियो एक्स रे, सुगर परीक्षण, निःशुल्क औषधि इसिजी आदिको सेवा पाएर हर्षित भएका दुःखी मन हाम्रा लागि फेरि पनि ऊर्जा सावित भए ।

शिविरमा आएकामध्ये शल्यक्रिया गर्नुपर्ने अवस्थाका तर गर्न नसकिएका बिरामीलाई फूलकुमारी मेमोरियल अस्पताल सिरहा, वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र शंकरापुर अस्पताल जोरपाटीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउन पाउँदा पनि कम्ता गौरव महसुस भएन । यस कार्यमा विभिन्न औषधि कम्पनीले देखाएका सहयोगी भावना पनि उत्तिकै प्रेरक थिए । यस्ता औषधि कम्पनी, अस्पतालहरू, राष्ट्रिय चिकित्सक संघको सचिवालय आदिले गरेका सहयोगले महसुस गराएको अर्को विषय थियो कि यस्ता कार्य सफल हुन सामूहिक प्रयास चाहिने रहेछ । यस्तै निष्कर्षकै कारण हो कि हामीले निर्णय गरेका छौँ– राष्ट्रिय चिकित्सक संघले अझै सशक्त निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिन निःशुल्क मोबाइल अस्पताल सञ्चालन गर्ने । अनि हामीलाई पूर्ण विश्वास पनि छ कि सबैको सहयोग भयो भने सर्वसाधारणलाई निःशुल्क र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रण अवश्य सफल हुनेछ ।

महासचिव, राष्ट्रिय चिकित्सक संघ

प्रकाशित: २३ फाल्गुन २०७३ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App